देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भागरथी भट्टको हत्या घटना अनुसन्धान तीव्र बनाउन कांग्रेसको माग

देशान्तर

काठमाडौँ – कांग्रेसले बैतडीको दोगडाकेदारकी किशोरी भागरथी भट्टको बलात्कार र हत्या घटना अनुसन्धान तीव्र बनाउन माग गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै अनुसन्धान तीव्र बनाउन र दोषी अविलम्ब पक्राउ गर्न प्रधानमन्त्री केपी ओलीसमक्ष माग गरेका हुन् ।

भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको दोस्रो साता प्रवेश गर्दासम्म पक्राउ नपर्नु, उनको शव अस्पतालमा रहिरहनु र परिवारजनले पीडामाथि पीडा भोग्नुको स्थितिलाई नेपाली कांग्रेसले दुःखद् र गम्भीर रूपमा लिएको छ, विज्ञप्तिमा भनिएको छ, अतः अनुसन्धान तीव्र बनाउन, दोषी अविलम्ब पक्राउ गर्न, बैतडी घटनासँगै देशभरका सबै यस्ता घटना विरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन नेपाली कांग्रेस प्रधानमन्त्री समक्ष माग गर्दछ ।

शान्ति स्थापना र संविधान निर्माणपश्चात् देशमा अमनचयन स्थापना हुने, नागरिकका जीवन सुरक्षित बन्ने विश्वास बितेका वर्षहरुमा कारुणिक ढंगले खण्डित हुँदै आएको उल्लेख गर्दै कांग्रेसले अनेक प्रकृतिका हिंसासंगै बलात्कार र बलात्कारपछि हत्याको जघन्य अपराध केही वर्षयता डरलाग्दो ढंगले बढ्नु गम्भीर चिन्ताको विषय बनेको जनाएको छ । ‘विकसित मुलुकमा पनि यस्तै हुन्छ’ भन्ने जिम्मेवार तहको गैरजिम्मेवार जवाफले वर्तमान सरकारको उदासिनता प्रकट गरेको भन्दै प्रवक्ता शर्माले अपराधको मानसिकता निरुत्साहित गर्न कानुनी चेतावनीको भाषालाई समेत कमजोर बनाएको टिप्पणी गरेका छन् ।

महिलाउपर हिंसा र बलात्कार अनि हत्याका घटना बढेर जाँदा राज्यले विशेष नीति अख्तियार गर्न र प्रशासन संयन्त्रलाई थप तदारुक बनाउन सरकारसमक्ष कांग्रेसले माग गरेको छ । कांग्रेसले बैतडी घटनाको स्थलगत अध्ययन गरी लिखित प्रतिवेदन पेस गर्न, स्थानीयवासी र परिवारजनसँग भेट गर्न पार्टी केन्द्रीय समितिको प्रतिनिधिका रूपमा रमेश लेखकलाई पठाएको जनाएको छ ।