देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खुलामञ्च खुलाउन महानगरको पहल, सभा-सम्मेलन गर्न पाइने

देशान्तर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने पहल थालेको छ । राष्ट्रिय महत्वको संरचना दरबार हाईस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको पनि निर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै काठमाडौँ महानगरपालिकाले ती संरचना निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई खुला गर्ने पहल सुरु गरेको हो ।

महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको निर्देशन अनुसार अहिले दरबार हाईस्कुल र वीर अस्पताल प्रशासनसँग निरन्तर छलफल भइरहेको काठमाडौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिए ।

‘राष्ट्रिय महत्वका सरकारी संरचना निर्माण हुने र निर्माण सामग्री राख्न ठाउँ अभाव भएपछि उहाँहरुले महानगरपालिकासँग गरेको आग्रहअनुसार नै ठाउँ उपलब्ध गराएको हो,’ अधिकृत ज्ञवालीले भने, ‘कोभिड–१९ को कहरलगायत कारण संरचना निर्माणमा केही ढिलाइ भएकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री हटाउन केही ढिलाइ भएको हो ।’

दरबार हाईस्कुल निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको र वीर अस्पताल पनि निर्माण सम्पन्नको चरणमा रहेकाले अब छिट्टै खुलामञ्च खुला गर्ने उनले बताए ।

पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विशाल विरोध प्रदर्शन, र्याली, आमसभालगायतले महानगर क्षेत्रभित्रका सडकर अस्तव्यस्त बन्ने गरेको र त्यसको मार महानगरवासीले खेप्नु परेकोप्रति थप ध्यानाकर्षण भई महानगरपालिकाले अझ छिटोभन्दा छिटो खुलामञ्च खुला गर्ने पहल थालेको ज्ञवालीको भनाइ छ ।

‘विभिन्न राजनीतिक दलले सडकमै मञ्च बनाएर ठूला–ठूला सभा गर्दा पछिल्लो समय महानगरपालिका क्षेत्रभित्रको ट्राफिक आवागमनसँगै व्यापार–व्यवसाय पनि अस्तव्यस्त बन्ने गरेको छ,’ ज्ञवालीले भने, ‘राष्ट्रिय महत्वका संरचना निर्माण हुने र ती संरचनाका लागि प्रयोग हुने निर्माण सामग्री जथाभावी सडकमा राख्दा सडकको स्वरुप नै बिग्रिने भएकाले महानगरपालिकाले असल नियतले ठाउँ उपलब्ध गराएको हो ।’