देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मतदाता नामावली अद्यावधिक शुरु

देशान्तर

म्याग्दी – जिल्ला निर्वाचन कार्यालयले आगामी वैशाखमा घोषणा गरिएको मध्यावधि निर्वाचनका लागि मतदाता नामावली अद्यावधिलाई तीव्र बनाएको छ । स्थानीय तहबाट सहायक नाम दर्ता अधिकारीले सङ्कलन गरेर ल्याएको विवरणअनुसार मतदाता नामावली अद्यावधिक शुरु गरिएको हो ।

वडा सचिवमार्फत सहायक नाम दर्ता अधिकारीले सङ्कलन गरेको विवरण निर्वाचन कार्यालयमा बुझाइसकेका छन् । प्राप्त विवरणअनुसार बसाइँसराइ गरेका, मृत्यु भएका, नागरिकता त्यागेकाको नामावली हटाउन थालिएको छ । दोहोरो नामावली परेकाको एक ठाउँमा मात्र कायम गर्ने काम भइरहेको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताए ।

गत पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिले आगामी वैशाख १७ र २७ गते मध्यावधी निर्वाचन घोषणा गरेका थिए । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोविन्द थापाका अनुसार पुस ५ गतेसम्म ८२ हजार ९८७ जनाले तस्बिरसहितको मतदाता नामावली दर्ता गरेका थिए । सो नामावलीबाट १८ वर्ष नपुगेकालाई हटाउन ८१ हजार २६५ नाम कायम भएको छ ।

अठार वर्ष नपुगेका, मृत्यु, बसाइँसराइ गरेका र नागरिकता त्यागेकाको नाम हटाएपछि मतदाताको सङ्ख्या एकिन हुने जनाइएको छ । आगामी निर्वाचनमा म्याग्दीमा एक मतदान केन्द्र परिवर्तन र दुई नयाँ मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा सिफारिस गरिएको छ । मङ्गला गाउँपालिका- १ भरजुलाको बालोदय आधारभूत र अन्नपूर्ण गाउँपालिका-८ को हिमाञ्चल माविमा मतदाता थप गर्न सिफारिस गरिएको हो ।

बेनी नगरपालिका-५ को चेतना आधारभूत विद्यालयको मतदान केन्द्रलाई जनकल्याण माविको केन्द्रमा गाभ्ने र जनकल्याणको एक मतदान केन्द्रलाई सोही वडाको डिम्म आधारभूत विद्यालयमा सार्न सिफारिस गरिएको हो । एक मतदान केन्द्रमा एक हजार भन्दा बढी मतदाता हुनुपर्ने नीतिगत व्यवस्था छ । यसअघि म्याग्दीमा ७२ मतदानस्थल र १०६ मतदान केन्द्र थिए ।