काठमाडौं । भारतको उत्तराखण्डमा आइतबार गएको हिमपहिरोमा परेकामध्ये २६ जनाको शव भेटिएको छ ।
हिमपहिरोका कारण मंगलबारसम्म १८० भन्दा बढी अझै पनि हराइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । बेपत्ता भएका अधिकांश व्यक्तिहरु विद्युतगृहमा कार्यरत मजदुर रहेका छन् । सरकारी अधिकारीहरुले बेपत्ता भएका व्यक्तिहरुको खोजी तथा उद्धार जारी राखिएको पनि बताएका छन् ।
मृतक तथा बेपत्ता भएकाहरु भारतको उत्तराखण्ड, उत्तर प्रदेश, पश्चिम बंगाल, बिहार, झारखण्डका रहेको जनाइएको छ । केही व्यक्ति भने नेपाली पनि हुन सक्ने अधिकारीहरुको भनाइ छ ।
दुई ओटा जलविद्युत परियोजना बनाइरहेको ठाउँमा हिमपहिरो गएको हो । आइतबार आएको हिमपहिरोका कारण तिब्र बेगको पानी र हिउँले पुलहरू, सडकहरू र दुईवटा विद्युतगृहमा व्यापक क्षति पुगेको छ ।
स्थानीयवासी ओम अग्रवालले तिब्र गतिको नदीको भेल पहाड खसेजस्तै देखिएको बताउँदै नदी वरपरको जमिनमा भूकम्प गए झैं अनुभव गरिएको बताए । विद्युतगृहको सुरुङमा पसेको बाढी, माटो र ढुंगाका कारण केही मानिस सुरुङभित्रै थुनिएको उद्धारकर्मीको भनाइ छ ।
प्रतिक्रिया