काठमाडौं – राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लब पराजित भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा पुलिस स्याङ्जाको वालिङ नगरपालिकासँग १-० गोल अन्तरले पराजित भएको हो । बलियो टिम पुलिसविरुद्ध वालिङलाई जित दिलाउन मेथो रुथले निर्णायक गोल गरिन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८ औं मिनेटमा क्यामरुनी खेलाडी रुथले निर्णायक गोल गरिन् । जितसंगै वालिङ लिगको तेस्रो स्थानमा उक्लिएको छ । वालिङले ७ खेलमा ११ अंक जोडेको छ । पुलिस ८ अंक जोडेर पाँचौं स्थानमा झरेको छ ।
पुलिसको यो लगातार दोस्रो र प्रतियोगिताको तेस्रो हार हो । यस अघिको खेलमा पुलिस विराटनगरसँग पराजित भएको थियो । यस्तै पुलिसले लिग अन्तर्गत नै पहिलो चरणको खेलमा वालिङसँग १-१ गोलको बराबरी खेलेको थियो । महिला लिग अन्तर्गत सोमबार एक खेल हुनेछ । सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार एपीएफ र चौदण्डीगढी नगरपालिका भिड्ने छन् ।
प्रतिक्रिया