चितवन – चितवनमा ५६ कुष्ठरोगी थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनकाअनुसार चालु आर्थिक वर्षको छ महिनामा त्यस सङ्ख्यामा रोगी थपिएका हुन ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीकाअनुसार भेटिएका रोगीहरुमध्ये सबैभन्दा बढी भरतपुर महानगरका छन् । इच्छाकामना गाउँपालिकामा भने रोगी नभेटिएको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिकाको नारायणी नदी किनारमा बढी कुष्ठरोगी भेटिएको कार्यालयले जनाएको छ ।
अहिले चितवनमा नयाँसहित कुष्ठरोगीको संख्या १ सय १६ पुगेको छ । उनीहरुले नियमित औषधि सेवन गर्दै आएको उनको भनाइ छ । चितवन कुष्ठरोग निवारणतर्फ लागेको उनले बताए। द लेप्रोसी मिसन नेपालको आयोजनामा भएको अन्तर्क्रिया कार्यक्रममा गएको आर्थिक वर्षमा ६० जना नयाँ रोगी भेटिएको जानकारी दिइएको थियो ।
कुष्ठरोगीहरुको जीविकोपार्जनका लागि जिल्लामा ६ वटा सहकारी संस्थाबाट काम भइरहेको जानकारी दिइयो । यो रोग माइट्रो ब्याक्टेरीया लेप्रो नामक सुक्ष्म किटाणुबाट सर्ने गर्दछ । अहिले जिल्लामा १० हजार जनामा एक जनालाई रोग देखिने गरेको तिवारीले बताए। यो संख्या घट्दो क्रममा रहेको छ ।
कुष्ठरोग लागेका बिरामीहरुले नियमित एक वर्षसम्म औषधि खुवाउनु पर्ने हुन्छ । शरीरको कुनै भागमा छुँदा थाहा नपाउनु, रातो फुस्रो दागहरु देखिनु, हात खुट्टा झमझमाउनु, अनुहार र कानको लोति बाक्लो हुनु र गिर्खाहरु देखिनु यसका लक्षणहरु हुन ।
प्रतिक्रिया