देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटीको सहज जित

देशान्तर

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले बर्नलीमाथि २–० को जित निकालेको छ ।

यो नतिजासँगै शीर्ष स्थानको सीटीले दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग ३ अंकको अग्रता निकालेको छ । साथै प्रिमियर लिगमा लगातार तेह्रौ जित पनि सिटीले दर्ता गर्न सफल भयो ।

घरेलु मैदानमा बर्नलीले आफ्ना गोलरक्षक निक पोपको कमजोरीका कारण तेस्रो मिनेटमै गोल खान पुगेको थियो ।
गाव्रियल जेससले सुरुआती गोल गरेका हुन् । उनले सिटीका लागि ७५ औं गोल पनि गरे ।

सिटीले नियन्त्रणमा राखेको खेलको ३८ औं मिनेटमा रहिम स्टर्लिङले टिमका लागि दोस्रो गोल गरे । रियाद मेहेरेजले गरेको गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले मान्यता नदिएपछि सिटी २–० ले विजयी भयो ।
जितपछि २१ खेलबाट सिटीको ४७ अंक भएको छ । ४४ अंक रहेको युनाइटेडले १ खेल बढी खेलेको छ । रेलिगेसन क्षेत्रबाट ७ अंक टाढा रहेको बर्नलीले २१ खेलबाट २२ अंक जोडेको छ ।

लिभरपुल पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । लिभरपुल ब्राइटनसँग १–० गोल अन्तरले पराजित हुँदा तेस्रो स्थानबाट चौथो स्थानमा झरेको छ । रेलिगेसनको खतरा टार्नका लागि निकै नै महत्वपूर्ण र अविश्वसनीय अंक हासिल गरेको ब्राइटन तीन स्थान सुधार गरी १५ औं स्थानमा पुगेको छ ।

लिभरपुलले आफ्नै मैदान एनफिल्डमा ५६ औं मिनेटमा गोल खाएको हो ।

ब्राइटनका लागि अल्जाटेले निर्णायक गोल गरे । लिभरपुल अंकतालिकामा शीर्ष स्थानको सिटीभन्दा ७ अंकले पछाडि छ ।

घरेलु मैदानमा डिसेम्बर १६ यता लगातार तेस्रो खेलमा गोल गर्न असमर्थ देखिएको छ । यस्तो भएको अक्टोबर १९८४ यता नै पहिलोपल्ट हो ।

प्रिमियर लिग अन्तर्गत घरेलु मैदानमा ६८ खेलसम्म नहारेको लिभरपुल लगातार दोस्रोपल्ट हार्न पुगेको छ ।

लेस्टर सिटी तेस्रो स्थानमा
प्रिमियर लिग फुटबलमा लेस्टर सिटी तेस्रो स्थानमा उक्लिएको छ । विहीबार विहान सकिएको खेलमा लेस्टरले फुलह्याममाथि २–० गोल अन्तरले पराजित गर्दै लिभरपुललाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको हो । तेस्रो स्थानमा रहेको लेस्टरको २२ खेलबाट ४२ अंक भएको छ । शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको २१ खेलबाट ४७ अंक रहेको छ ।

फुलह्यामको मैदानमा लेस्टरलाई जिताउन केलिचीले १७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । जेम्स जस्टिनले ४४ औं मिनेटमा लेस्टरको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा दुवै पक्षबाट कुनै पनि गोल नभएपछि लेस्टर २–० गोल अन्तरले बिजयी भयो । यसैगरी अर्को खेलमा वेस्टह्यामले एस्टोन भिल्लामाथि २–१ गोल अन्तरको जित दर्ता गरेको छ ।