देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

म्यानमारबारे छलफल गर्न राष्ट्रसंघ सुरक्षा परिषदकाे बैठक बस्दै

देशान्तर

म्यानमारमा सेनाले कू गरेर सत्ता हत्याएपछि त्यसको चौतर्फी विरोध भइरहेका बेला त्यसबारे छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक बस्ने भएको छ । आज बस्ने बैठकमा सैन्य कू पछिको म्यानमारको अवस्थाबारे छलफल हुने बताइएको छ ।

म्यानमारको सेनाले सोमबार बिहानै सत्तारुढ नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीकी नेतृ आङ साङ सूकीसहित शीर्ष नेतालाई गिरफ्तार गरी सत्ता नियन्त्रणमा लिएको हो । सेनाले एक वर्षका लागि संकटकालको घोषणा गरेको छ ।

गएको नोभेम्बर ८ मा भएको चुनावमा सूकीको पार्टी अत्याधिक बहुमत ल्याएर विजयी भएको थियो । तर सो चुनावमा धाँधली भएको आरोप लगाएको सेनाले निर्वाचित सांसदको पहिलो बैठक बोलाइएकै दिन सत्ता हत्याएको हो ।

म्यानमारमा भएको पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गरेर सो विषय छलफलको पहिलो प्राथमिकतामा ल्याउन सुरक्षा परिषदका सदस्यहरु सहमत भएका छन् । म्यानमारमा भएको कू को पश्चिमा देशहरुले विरोध गरेका छन् । यस्तै विश्वका अरु क्षेत्रका विभिन्न देशले पनि सो घटनाको निन्दा गरेका छन् ।

यसैबिच अमेरिकी राष्ट्रपति जो बाइडेनले सैन्य कू म्यानमारको प्रजातान्त्रिक प्रक्रिया र कानूनी शासनमाथिको सीधा आक्रमण रहेको भन्दै निन्दा गरेका छन् । अमेरिकाले गएको दशकमा प्रजातन्त्रको मार्गमा भएको प्रगतिलाई हेरेर बर्मामाथिको प्रतिबन्ध फुकुवा गरेको थियो । तर अहिलेको अवस्थालाई हेरेर प्रतिबन्ध सम्बन्धी कानूनहरु तत्काल हेरिनु पर्ने उनले बताए । म्यानमारमाथि प्रतिबन्ध लगाउन सकिने बाइडेनले चेतावनी दिए ।