देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कहाँ छन् स्रष्टा/कलाकार ?

देशान्तर

घनेन्द्र ओझा

स्रष्टा वा कलाकार सधैं प्रतिपक्ष हो । शासक र शासनका गलत कार्य, निर्णय र व्यवहारका विरुद्धमा हुन्छन् स्रष्टा/कलाकार । अन्य व्यक्ति र स्वार्थ समूह भिन्न राजनीतिक स्वार्थका कारण अभियान, विद्रोह र आन्दोलनमा सरिक हुन्छन् तर स्रष्टा/कलाकार सामूहिक, सार्वजनिक हित र स्वार्थका कारण विद्रोह गर्छन्, असहमतिहरू राख्छन् ।

उसो त अन्यभन्दा स्रष्टा/कलाकारको विद्रोहको शैली र स्वभाव पनि भिन्न हुन्छ । स्रष्टा/कलाकार शान्त हुन्छन, उनीहरू अराजक र ध्वंसात्मक नभएर सिर्जनशील विद्रोह गर्छन । यस्तै विद्रोह विश्व राजनीतिक इतिहासमा स्रष्टा/कलाकारले पटकपटक गर्दै आएका छन् ।

तत्कालीन बेलायतमा लोकतन्त्रका लागि गरिएको विद्रोहमा होस् वा अमेरिकालाई बेलायती उपनिवेशबाट मुक्त गर्न गरिएको विद्रोहमा नै किन नहोस् अथवा भारतलाई अंग्रेजको कब्जाबाट छुटाउन गरिएको विद्रोहमा समेत स्रष्टा र कलाकारको उल्लेख्य भूमिका थियो ।

नेपालकै सन्दर्भमा पनि जहानियाँ राणाशासनमा होस वा त्यसयताका हरेक निरङ्कुशताविरोधी आन्दोलनरविद्रोहमा नेपाली स्रष्टा/कलाकारको महत्वपूर्ण र उत्प्रेरक भूमिका रहँदै आएको छ । यस्तै निरंकुश, अराजक र तानाशाही सत्ताको विरोध गर्दा कतिपय स्रष्टा/कलाकार मारिएका छन् भने कतिले जेलनेल भोगेका छन ।

जब सत्ता उन्मक्त हुन्छ, शासक अराजक, दुष्ट र अमानवीय अनि भ्रष्ट बन्छ, तब राज्यका हरेक तह र तप्का, नागरिक समाज, स्रष्टा, कलाकार, पेसाकर्मी आदि सत्ताको र शासकको विरुद्धमा उत्रनुपर्ने बाध्यता हुन्छ । सत्ता र शासकको उद्दण्डता बढ्दै जानुले नागरिक अधिकार संकटमा पर्छन्, मुलुकको विकास प्रक्रियामा ठेस पुग्छ, गलत कामकारबाहीमा सत्ता र शासक उद्यत् हुन्छ ।

यसको नियन्त्रण स्वतन्त्र नागरिक समाज र सचेत अनि सजग स्रष्टा/कलाकारबाट मात्र सम्भव हुन्छ । यसर्थ सत्ता र शासक मतिहीन बन्दै जाँदा स्रष्टा÷कलाकार सजग र सक्रिय बन्नुपर्ने हुन्छ ।

आज नेपालको अवस्था पुनः त्यही मेसोमा फर्किएको छ, जुन राणाकाल वा पञ्चायतकालमा अथवा ज्ञानेन्द्र शाहको महत्वाकांक्षी शासनकालमा थियो । करिब दुई तिहाइ मत दिएर पाँच वर्षका लागि स्थिर शासन गर्दै मुलुकलाई समृद्धि र विकासको मार्गमा हिँडाउने अपेक्षा गरेका आमजन अहिले निराश छन् । समृद्धि र विकासका सवाललाई एकातिर पन्छाएर वर्तमान सत्ता र शासक भ्रष्टाचार, अनियमितता, आपसी कलह, अनियमितताको चंगुलमा फसेका छन् ।

जनअपेक्षामाथि प्रहार गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले छँदाखाँदाको प्रस्ट बहुमतको संसद् भंग गरेर अनियमितता, अविकास र कोरोना कहरले थिलथिलिएको मुलुकलाई मध्यावधि निर्वाचनमा होम्ने काम गरेका छन् । प्रधानमन्त्री ओलीको हठी, स्वार्थी, उद्दण्ड र अराजक स्वभावको मारमा आज देश र जनता परेका छन् ।

यस्तो बेलामा विगतमा जसरी नेपाली स्रष्टा/कलाकार वर्तमान सत्ता र शासकका विरुद्ध जागेका नदेखिनु अचम्मको कुरा भएको छ । प्रश्न उठेको छ– के राजाले चलाएको अराजकता, निरंकुशता, तानाशाही मात्र विरोधयोग्य हुन् ? के ओली वा कुनै अमुक व्यक्तिले वा दल र समूहले गरेका उही र उस्तै हर्कत चाहिँ स्वीकार्य हुन स्रष्टा/कलाकारका लागि ?

अवश्य होइनन् । जो जसले गरे पनि देशहित र जनहित विरोधी हरेक काम विरोधयोग्य, भत्र्सनायोग्य, आपत्तिजनक हुन् र तिनका विरुद्ध स्रष्टा/कलाकार/नागरिक समाज उत्रनुपर्छ ।

अहिले केपी ओली र उनका भजनमण्डलीका कुकृत्य र तानाशाही अनि निरंकुशताका विरुद्ध स्रष्टा/कलाकारले विगतमा राजा ज्ञानेन्द्रका विरुद्ध लोकतान्त्रिक स्रष्टाहरूको मोर्चा बनाए जसरी एकत्रित भएर खबरदारी गर्ने बेला भएन र ?