देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

म्यानमारमा आङ सान सुकी र राष्ट्रपति सेनाको नियन्त्रणमा, सैन्य कू को आशंका

देशान्तर

म्यानमारमा नेतृ आङ सान सूकी र राष्ट्रपति विन मिन्टलाई सेनाले नियन्त्रणमा लिएको छ । सूकी त्यहाँको सत्तारुढ पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ हुन् ।

प्रदेशका मुख्यमन्त्रीहरूलाई समेत सेनाले नियन्त्रणमा लिएको छ। त्यहाँ सैन्य कू को आशंका गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सोमबार बिहानै उनीहरूलाई सेनाले निवासबाट नियन्त्रणमा लिएको हो।

सेना र सरकारबिच तनाव चलिरहेका बेला सूकी पक्राउ परेकी हुन् । गएको नोभेम्बरमा भएको चुनावमा सुकीको एनएलडीले सरकार बनाउनका लागि आवश्यक सिट जित हाँसिल गरेको थियो । तर सेनाले चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको थियो ।

सन् २०११ सम्म म्यानमारमा सैनिक शासन थियो । बर्माका रुपमा चिनिने म्यानमारकी नेतृ सूकीलाई सेनाले वर्षौँसम्म घरमै नजरबन्दमा राखेको थियो । गएको नोभेम्बरमा भएको चुनावमा विजयी भएका सांसदसहित तल्लो सदनको पहिलो बैठक आज बोलाइएका बेला सूकी पक्राउ परेकी हुन् ।

सूकी पक्राउ परेसँगै राजधानीसहित म्यानमारको प्रमुख शहरमा इन्टरनेट सेवा अवरुद्ध भएको छ । यस्तै अन्य प्रजातन्त्रवादी नेताहरुलाई पनि सेनाले पक्राउ गरेको छ । राजधानीसहितका प्रमुख शहरहरुमा ठूलो संख्यामा सैनिक तैनाथ गरिएका छन् ।

टेलिफोन सेवा पनि अवरुद्ध भएको छ । गत नोभेम्बरको चुनावमा एनएलडीले संसदको ४७६ मध्ये ३९६ सिटमा जित हात पारेपछि सैनिक समर्थित युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी ३३ सिटमा खुम्चिएको थियो।