देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चीनले पनि दिने भयो तीन लाख डोज कोरोना खोप

देशान्तर

काठमाडौं – उत्तरी छिमेकी चीनले पनि नेपाललाई कोरोनाविरुद्धको तीन लाख डोज भ्याक्सिन उपलब्ध गराउने भएको छ । काठमाडौंस्थित चिनियाँ दूतावासले अनुदानस्वरुप ३ लाख डोज खोप उपलब्ध गराइने जनाएको छ ।

उक्त खोप एक लाख ५० हजार नेपालीलाई लगाउन पुग्ने जानकारी पनि दूतावासले दिएको छ । दूतावासले देशभित्र र विश्वभर खोपको चर्को माग भइरहेका बेला नजिकको छिमेकीलाई उक्त डोज बराबरको खोप अनुदानमा उपलब्ध गराइएको जनाएको छ । नेपाल असल छिमेकी मित्र रहेको जनाउँदै दूतावासले भूकम्प र कोरोना महामारी जस्ता चुनौतीको दुवै देश मिलेर सामना गर्दै आएको पनि बताएको छ ।

चीनले अनुदानमा दिएको उक्त खोप सिनोफर्मले विकास गरेको हो । उक्त खोपले चीनमा स्वीकृति पाइसकेको छ । चीनले आफ्ना नागरिक र सेनाहरूलाई उक्त खोप लगाइरहेको छ। दुई खुराक इनोकुलेसन प्रक्रियापछि खोपले कोरोनाविरुद्ध ७९.३४ प्रतिशत प्रभावकारी काम गर्ने बताइएको छ । एन्टिबडी विकसित गर्ने सेरोक्रोनस दर ९९.५२ प्रतिशत पुगेको छ ।

हालसम्म उक्त खोपले पाकिस्तान, युएई, इजिप्ट, हंगेरी जस्ता देशहरूमा आपतकालिन प्रयोगको लागि अनुमति पाइसकेको छ । चिनियाँ दूतावासले आपतकालीन प्रयोग र खोप प्राप्तिका लागि दर्ता गर्नेबारे नेपाली अधिकारीसँग समन्वय भइरहेको जनाएको छ । ‘यो खोप नेपालमा कोरोनाविरुद्ध लड्न चाँडोभन्दा चाँडो पुर्‍याउन चाहन्छौं । यसले महामारीविरुद्धको लडाइँ जित्न सहयोग पुग्नेछ’, दूतावासले भनेको छ,’ चिनियाँ पक्ष सबैका लागि स्वास्थ्य समुदाय निर्माण गर्न दुवै पक्षको विकास र समृद्धिको लागि चिरस्थायी मित्रता रहेको रणनीतिक साझेदारीलाई थप सुदृढ र बढावा दिन मिलेर काम गर्न तयार छ ।

यसअघि भारतले नेपाललाई १० लाख डोज कोभिशिल्ड खोप दिएको थियो । उक्त खोप फ्रन्टलाइनमा स्वास्थ्यकर्मीसहित करिब ४ लाख जनालाई लगाउन पुग्ने छ ।