भक्तपुर । देशान्तर मिडिया ग्रुपका अध्यक्ष एवं प्रधानसम्पादक कविर राणालाई भगवानदास महर्जन स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको २२औं साधारणसभाको अवसरमा वरिष्ठ पत्रकार राणालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
शनिबार सम्पन्न साधारणसभाका अवसरमा अर्का पत्रकार रत्नकृष्ण श्रेष्ठलाई मैयाँदेवी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरियो । पत्रकारद्वयलाई कार्यक्रममा उपस्थित वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरहीले सम्मान गरेका हुन । कार्यक्रममा बोल्दै पूर्वअध्यक्ष विरहीले सरकारको पछिल्लो कदमले लोकतन्त्र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता धरापमा परेको बताए ।
यसलाई जोगाउन पत्रकारहरू चनाखो भएर लाग्नुपर्ने उनले बताए । कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष दिलीप थापामगरले संविधानको प्रस्तावनामै ग्यारेन्टी गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने सरकारको कदम मान्य नहुने बताए ।
त्यस्तै, पुरस्कृत वरिष्ठ पत्रकार राणाले पुरस्कारबाट थप हौसला मिलेको बताउँदै आगामी दिनमा थप जिम्मेवार र सशक्त भएर पत्रकारिताको क्षेत्रमा सक्रिय हुने बताए । उनले वर्तमान सरकारको प्रतिगमनले प्रेस स्वतन्त्रतासमेत धरापमा पर्ने संकेत देखा परेको बताउँदै त्यसका विरुद्ध देशभरिका पत्रकारहरू फेरि एकपल्ट आन्दोलनमा होमिनुपर्ने अवस्था आउन सक्ने उल्लेख गरे ।
त्यस्तै महासंघका महासचिव रमेश विष्ट महासंघको संस्थागत हित तथा पत्रकारको हकहितको लागि सक्रिय भूमिका निर्वाह गरिरहेको बताए । कार्यक्रममा साधारणसभाको बन्दसत्रमा शाखाका सचिव कृष्णप्रसाद नेपालले प्रस्तुत गरेका प्रगति प्रतिवेदन र कोषाध्यक्ष मोहन बल्लले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
कार्यक्रममा महासंघका उपत्यका प्रदेश सचिव अमर भुजु, संस्थापक अध्यक्ष रमेश खड्का र विकल श्रेष्ठ, रफत सञ्चार क्लबका अध्यक्ष सुशीलबन्धु थापा, जिल्लास्थित सक्रिय विभिन्न पत्रकार संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरू, महासंघका केन्द्रीय तथा प्रदेश पार्षदलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको बन्दसत्रले महासंघको संस्थागत विकास र पत्रकारको हकहित र मर्यादित पत्रकारिताका लागि भावी कार्यदिशा तय गरेको छ ।
प्रतिक्रिया