देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दश लाख डोज कोरोना खोप काठमाडौं आइपुग्दै

देशान्तर

भारतबाट कोरोनाविरुद्धको खोपको १० लाख डोज आज काठमाडौं आइपुग्दै छ ।
अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप नेपाल आउन लागेको हो ।

स्वास्थ्य मन्त्रालयकाअनुसार भारतले दिने खोप आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक रूपमा नेपाललाई हस्तान्तरण हुनेछ ।

एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ । विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले खोप हस्तान्तरण गर्नु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यी खोपलाई टेकुमा रहेको स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । त्यसपछि हरेका प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ । खोप पठाउन स्वास्थ्य मन्त्रालयले तीनवटा भ्यान तयारी अवस्थामा राखेको जनाएको छ ।

एउटा भ्यानले बुटवल, नेपालगन्ज र धनगढीमा खोप पुर्याउने छ भने अर्काेले हेटौँडा, पथलैया र विराटनगर लग्नेछ । त्यस्तै, तेस्रो भ्यानले पोखरामा खोप पुर्याउने छ ।

सरकारले पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने तयारी छ ।

स्वास्थ्य मन्त्रालयद्वारा गठित खोप सल्लाहकार समितिका संयोजकसमेत रहेका खोपविज्ञ डाक्टर श्यामराज उप्रेतीकाअनुसार भारतबाट अनुदानमा ल्याइने खोप हरेक व्यक्तिलाई दुई मात्रा दिइन्छ । खोप लगाएका व्यक्तिलाई आधा घण्टा निगरानीमा राखिनेछ ।