देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली कुन मानसिकताले ग्रस्त छन् ?

देशान्तर

ज्ञानमित्र

आफू राजनीतिक प्राणी नभए पनि यस वृत्तका धेरैजना साथी छन् भन्नुमा न गौरव लाग्छ, न हीनताबोध नै हुन्छ । कारण राजनीतिक प्राणी र म दुवै एउटै समाजमा बस्छौ । एउटै धरातलमा विचरण गर्ने दुई ‘इन्टिटी’का बीच जम्काभेट हुनु किमार्थ पनि नौलो अथवा आश्चर्यजनक हुन सक्दैन र दुई चेतनायुक्त ‘इन्टिटी’का बीच भएको भेट परिचय र परिचय मित्रतामा परिणत हुनु पनि विस्मयकारी होइन ।

म व्यक्तिगत रूपमा कम्युनिज्मको धुर आलोचक एवं विरोधी हुँदा पनि यस वृत्तका अनेकौं पथिक मेरा शुभचिन्तक (मित्र–आत्मीयजन) प्रेमी (शुभेच्छु भएको यथार्थ पनि कुनै आशयले आशंका, सन्देह एवं छिद्रान्वेषणको परिधिमा आउँदैन । कारण ? कारण सर्वविदित नै छ एउटै परिवेश, एउटै भाषा, एउटै चेतना, एउटै समाज, एउटै धरातलका दुई प्राणीको संयोगले भेट भयो, परिचय भयो, राजनीतिक विचारधारा बाहेकका अन्य थुप्रै मानवीय भाव र अभिरुचि बस दुवैमा मैत्री सम्बन्ध स्थापित भयो ।

पवित्र बुद्ध भूमिमा बस्ने भरत भुसाल यसै वृत्तबाट आउने मेरा परम शुभेच्छुक हुनुहुन्छ । सम्माननीय प्रधानमन्त्री श्रीमान् केपी शर्मा ओलीज्यूको भारतीय मिडियामा आएको अन्तर्वार्तापछि उहाँसँग हुने संवादको प्रवाह तीव्र भएको छ । कारण, उहाँलाई अन्तर्वार्तामा अभिव्यक्त भएका सम्मानननीय प्रधानमन्त्रीज्यूका विचार, धारणा र अठोटभन्दा यसको पृष्ठभूमिबारे अवगत हुने तीव्र उत्कण्ठा छ ।

‘स्वामीज्यू नेपाली जनमानसको राष्ट्रियता, राष्ट्रप्रेम, स्वाभिमान र यस्तै आदि कुराबारे हामी कम्युनिस्टहरूलाई जति अरु कसलाई नै थाहा हुन सक्छ ! त्यस कारण हाम्रा प्रधानमन्त्रीले बोलेको कुरामा नजाऊ, कुराले लठ्याउने हामी कम्युनिस्टहरूमा विलक्षण प्रतिभा नै हुन्छ । ओलीज्यू वर्तमानमा त्यस विद्याको सबैभन्दा ठूलो सिकारी हो । मलाई यसको पृष्ठभूमि जान्ने इच्छा छ ।’

सर्पको खुट्टा … (भरत दाइ क्षमा) देख्छ । उहाँको शंका निराधार छैन । हाम्रा प्रधानमन्त्रीले धोतीलाई, धोतीलाई दिए भनी राष्ट्रियताको उग्र प्रचण्ड ज्वरोसम्म तातेको अपूर्व भावमा सुधीर चौधरीको (प्रधानमन्त्रीज्यूको अन्तर्वार्ता लिने जी न्युजका पत्रकार) अर्को एउटा अभिव्यक्तिले भने ‘हाई डोज’को पैरासिटामोल’कै काम गरिदियो ।

दुवै समाचारबारे नेपालका सोसल मिडियादेखि खल्तीका मिडिया हुँदै ‘मेन स्ट्रिम’का मिडियालाई बकैती गर्ने स्वर्ण अवसर पाइयो । यसले आम नेपालीदेखि प्रबुद्ध समुदायसम्मको मानसिकता छर्लंग बनाएको सहज विश्लेषणबाटै थाहा हुन्छ । प्रधानमन्त्रीद्वारा अभिव्यक्त भएका महान्वाणीले नेपाली राष्ट्रियता संवद्र्धित भएको निष्कर्षमा पुगी आफ्नो क्षमताभन्दा बढ़ी उफ्रिने वर्गसँग विनीत भाव सोध्न चाहन्छु के उहाँको पूरै अन्तर्वार्ताको ‘एटिट्युड’ नेपाली राष्ट्रियता र स्वाभिमानभन्दा भारतको आलोचना र विरोधमै लक्षित थिएन ! सामान्यजनले बुझने हैसियत नराखे पनि विद्वत वर्गलाई यो बुझ्न आफ्ना विद्यावारिधिका थेसिस पल्टाई राख्नु पर्दैन । यस्तो जटिल, विकट र डावाडोल स्थितिमा के प्रधानमन्त्रीले भारतलाई चिढ्याउने ‘कालीदासीय’ चरित्रको प्रदर्शन गर्ने धृष्टता गर्नुहुन्छ ? र यहाँनिर अर्को एउटा परम स्मरणीय कुरा के छ भने जी न्युज भारतको राष्ट्रवादी खेमाको प्रतिनिधित्व गर्छ । के सुधीर चौधरी प्रधानमन्त्रीले दिएका गफ कुनै आदर्श विद्यार्थीका माफिक सुन्दै बस्न सक्थे ?

भरत दाइ तपाईंले गरेको आशंका दुरुस्त छ त्यस इन्टरभ्युको स्क्रिप्ट नै प्रधानमन्त्रीलाई उपलब्ध गराइएको थियो र उहाँले अक्षरशः त्यसको पाठ गर्नु भएको थियो । यो बुझ्न अथवा यसको पुष्टि नालन्दा विषयक उहाँको उदगारले नै छर्लंग हुन्छ (एउटा विशेष प्रजातिको आक्रमणकारीले आफूलाई औषधि नै नदिई निको बनाइदिएको र यस्तो विलक्षण ज्ञान विद्यार्थीमा नरहोस् भन्ने हेतुले उसले नालन्दा विश्वविद्यालयलाई ध्वस्त बनाइदियो । भनी राख्नु परेन त्यों आक्रमणकारी कुन विशेष सम्प्रदाय अथवा धर्मसँग सम्बंधित थियो ।

राष्ट्रिय स्वयंसेवक संघ र भारतीय जनता पार्टीको प्रमुख अजेन्डा नै बोकी दिनु भयो हाम्रा प्रधानमन्त्रीले भरतको चलनचल्तीको विरोध गर्ने नाटकका क्रममा । भरत दाइ यो कुरा म जति नेपालमा बुझ्ने मान्छे शायदै अर्को होला । म भारतमा रहँदा राष्ट्रिय स्वयंसेवकको सक्रिय कार्यकर्ता थिए, भनी राख्नु परेन जनसंघदेखि जनता पार्टी हुँदै भारतीय जनता पार्टीको उत्साहित प्रचारक एवं कार्यकर्ता थिएँ । अटलजीको सट्टा (उनको उदारवाद) आडवाणी एवं उनकै जस्ता ‘हार्ड लाइनर’ नरेन्द्र भाइ मोदीको विचारसँग सामीप्यता राख्थे। मोदी अर्जुनभन्दा पनि कुशल धनुशास्त्री हुन् उनले एकै बाणले चौतर्फी आक्रमण गर्ने कुशलता राख्छन् । उनले बल्ल नेपालमा ‘गेम’ खेल्ने सुुरुआत गरेका हुन्, हेर्दै जानुस् उनको लक्ष्यभेदन के के र कहाँसम्म हुन्छ ।

अब हेर्नुस् म व्यक्तिगत रूपमा तपाईंको मित्र भए पनि समग्रमा तपाईंले बोकेको विचारधाराको समूल उच्छेदन हेर्न इच्छुक धर्मरत, धर्मचर सन्न्यासी हुँ । बल्ल एउटा भष्मासुर भेटिएको छ उसलाई खुसी पार्दै, नचाउँदै, उसको नाचमा लयबद्ध ताल एवं संगीतको पुट दिँदै उसलाई आफ्नै शिरोच्छेदन हेतु उत्साहित र प्रेरित गर्नु मोदीदेखि म जस्तासम्मको धर्म नै हो । हो, म मोदीभन्दा पनि सत्यानुगामी भएकाले (उनी आंशिक सन्न्यासी र म पूर्ण सन्न्यासी) सत्य र सत्यको योजना, कार्यविधि र यसले समाधान गर्ने लक्ष्यबारे गोपनीयता राखदिन । नारदझै पहिला नै उद्घाटित गरिदिन्छु, (कंसलाई मार्न कृष्णको जन्मसम्बन्धी जानकारी कंसलाई कृष्ण जन्मिनुभन्दा पहिला नै दिए जस्तो) गोपनीय संग्रामको मजा नै के ! विधर्मीलाई पहिला नै सूचित गर्नु सत्यकै आचरण हो ।

मलाई कुनै आश्चर्य भएन सम्माननीय प्रधानमन्त्रीज्यूद्वारा ‘बुस्ट’ गरिएको राष्ट्रवादको ग्राफ केही घण्टा नबित्दै ओरालो लाग्यो । सगरमाथा विषयक जी न्युजका सम्पादकको सामान्य अभिव्यक्तिले हाम्रो राष्ट्रियता, सार्वभौमिकता र यस्तै अन्य के के कुरा खण्डित हुन पुगे । सामान्यजनको के कुरा नेपालका ‘मेन स्ट्रिम’का दैनिक अखबार नै टेब्लायड शैलीमा प्रस्तुत भए । हो, यही हो हामी नेपालीको विशुद्ध मानसिकता र ‘अन्डरस्टैंडिन्ग’ ! ब्यानर न्युज नै बने यसलाई लिएर । हास उठ्यो भरत दाइ तपाईको महान् विचारधाराले कस्तो ‘स्कुलिङ’ गराएको रहेछ !

सुधीर चौधरीले सागरमाथाबारे यति मात्रै भनेका थिए (यस टाकुराको पहिलो अग्ल्याई नाप्ने काम एकजना बंगाली बाबुले गरेका थिए। तर भारतमा त्यसबेला ब्रिटिस शासन भएकोले उनलाई यसको श्रेय नदिई कुनै एभरेस्ट थरका ब्रिटिस प्रशासकलाई यसको श्रेय प्रदान गरी उनका नामबाट यसको नामकरण गरियो । उनले यति मात्र माग गरेका थिए कि कम्तीमा अब भारतीयले यसलाई सच्याउनु पर्‍यो र भारतीयहरूले यस प्राकृतिक सम्पदालाई ती बंगालीकै नाम दिनु प¥र्याे । उनले आफ्नो अभिव्यक्तिमा बारम्बार यो प्राकृतिक सम्पदा नेपाल र तिब्बतको सिमानामा भएको उल्लेख गरेका थिए । बस के थियो उनको अभिव्यक्ति प्रसारित हुनासाथ नेपालीको राष्ट्रियता, अखण्डता र स्वाभिमानमा वज्र प्रहार भयो । सोसल मिडियादेखि अनलाइनका स्क्रिन हुँदै अखवारका पानासमेत रंगिए ।

हामी नेपालीहरू यस नेपाली सम्पदालाई सगरमाथाका नामले बोलाउँदा गौरवान्वित हुन्छौं । तिब्बती, चिनियाँहरूले अर्कै नामले बोलाउँछन् । विश्वले एभरेस्टका नामले चिन्छ । हाम्रै पर्यटन मन्त्रालयले पश्चिम जगत्मा यसको प्रचार एभरेस्टका नामले गर्छ । सगरमाथाका नामले गरे कसले चिन्ने ! यस्तोमा यदि भारतीयहरूले यसलाई अर्कै कुनै नामकरण गरी बोलाउँछन् भने के आपत्ति ? आखिर पहिलो पटक यसको अग्ल्याई नाप्ने श्रेय के हामी ती बंगालीबाट खोस्न सक्छौं ?

नेपालीको यस हीन मानसिकतालाई कसरी विश्लेषण गर्ने भरत दाइ ! कतै यो तपाईंकै विचारधाराले गरेको बीजारोपण त होइन !! के भारत विरोध नै नेपाली राष्ट्रियताको एकमात्र सूचक हो ?

मैले पुस २९ गते सांँझमा अंग्रेजीमा एउटा लामो पोस्ट लेख्दै सुधीर चौधरीलाई धन्यवाद दिए र सगरमाथाको प्रचार जुनसुकै भाषामा भए पनि गरी रहन अनुरोध गरें । भारतीयहरूले सगरमाथालाई जे नामले बोलाए पनि भारतको एक प्रतिशत जनताले यहाँको भ्रमण गरी दिए म औधी खुसी हुन्छु । राति ९ बजे सुधीरले आफ्नो कार्यक्रममा नेपालले छापेको अखबारको कटिङ देखाउँदै प्रष्ट गरी दिए उनको आशय सगरमाथा माथि दाबी गर्ने नभएको, मात्र भारतीयहरूले यसको नामकरण बंगाली बाबुको नाममा गर्नु पर्ने जिकिर गर्दै नेपालमा अर्को ऋतिक रोशन काण्ड दोहोरिन नदिन उपकार गरिदिए ।