साझा प्रकाशन नेपालको जेठो प्रकाशन संस्था हो । राणाकालमै गोरखा भाषा प्रकाशिनी समितिका नाममा स्थापना भएको र पछि साझा प्रकाशनमा परिणत भएको राज्य र नागरिकको साझा संस्था हो साझा प्रकाशन ।
साझा प्रकाशनले यो अवधिमा अनेकौँ आरोह र अवरोह खेपेको छ । अनेक राजनीतिक व्यवस्थासँगै साझाका सञ्चालक÷व्यवस्थापक पनि अनेक आए । ती अनेक सञ्चालक÷व्यवस्थापकको नियत र स्वार्थअनुसार साझाले घिटीघिटी गति लियो, लिइरहेको छ ।
करोडौँ रुपैयाँ नोक्सानी बेहोर्दै, ऋण र अनुदान माग्दै झिनो अस्तित्व कायम राखेको छ साझाले । तथापि, यसले विशेषगरी २०४६ सालको राजनीतिक परिवर्तनपछिको अवस्थामा साँच्चै राजनीतिक भर्तीकेन्द्रभन्दा माथि उठेर काम गर्न सकेको देखिँदैन । निकै गहन, खोजमूलक, भाषिक, साहित्यिक, सामाजिक, सांस्कृतिक विषयका पुस्तक प्रकाशन गर्न सकेको छैन ।
राज्यसमेतको लगानी रहेको संस्थाबाट नागरिकको अपेक्षा धेरै हुनु अस्वाभाविक होइन । नेपाल प्रज्ञाप्रतिष्ठान र साझा प्रकाशन यस्ता संस्था/निकाय हुन्, जसबाट समस्त लेखक/स्रष्टाले प्रकाशनका लागि समान अवसर पाउने अपेक्षा गरेका हुन्छन । तर, आजका मितिसम्म यी दुई संस्था र निकायबाट यस्ता व्यक्तिले मात्र प्रकाशनका लागि अध्ययन र अनुसन्धानका लागि अवसर पाएका छन्, जो कि सत्ताको निकट छन् वा तस्कर, व्यापारी, कालोबजारी, करोडपति छन् ।
कति स्रष्टा र लेखक आफ्ना उत्कृष्ट कृतिको प्रकाशन गर्न नसकेर छटपटाइरहेका छन्, तिनको खोजी गर्ने, चासो राख्ने र ल्याएर प्रकाशन गर्नेतिर यिनको ध्यान छैन । बरु कुनै अमुक तस्कर, नेता, दलाल, भ्रष्ट सरकारी कर्मचारी, व्यापारी आदिका ताइ न तुइका सामग्री छापेर राज्यको र सर्वसाधारण लेखक÷स्रष्टाको लगानीको दुरुपयोग गरिरहेका छन् ।
नेपाली भाषा/साहित्यको क्षेत्रमा एउटा गर्विलो इतिहास बनाएको ‘गरिमा’ जस्तो पत्रिकामार्फत हजारौँ लेखक/स्रष्टा हुर्काएको साझाले त्यो विरासतसमेत गुमाएको छ ।
यी सन्दर्भ भर्खरै सम्पन्न साझाको सञ्चालक समितिको निर्वाचनलाई लिएर कोट्याइएको हो ।
नवनिर्वाचित अध्यक्ष विघटित प्रतिनिधिसभाका निवर्तमान सांसद तथा नेपाल कम्युनिस्ट पार्टीका नेता डा. विजय सुब्बाले अब साझालाई बचाउने आफ्ना भनाइ र अन्तर्वार्तामा उल्लेख गर्दै आउनुभएको छ । उहाँ आफैँमा नेपाली साहित्य र संगीतमा समेत लामो योगदान गर्नुभएका व्यक्तित्व हुनुहुन्छ । तीन पटक सांसद बन्नु भएका राजनीतिकर्मी पनि हुनुहुन्छ उहाँ । उहाँले भर्खरै एउटा अनलाइनसँगको अन्तर्वार्तामा साझामा अब राजनीति हुन नदिने बताउनु भएको रहेछ । कस्तो राम्रो सोच !
तर, दुर्भाग्यको साक्षी यो पंक्तिकार स्वयं हो । अघिल्लो पटकको सञ्चालक समितिको निर्वाचनमा डा. सुब्बालाई सञ्चालक सदस्य जिताउन निकै मिहिनेत गर्नेमध्येको पंक्तिकारसमेत थियो । सुब्बाप्रतिको विश्वास र भरोसा अत्यन्त धेरै थियो कि अनियमितता त भ्रष्टाचारको दलदलबाट बचाउन र उकास्न सुब्बाको महत्वपूर्ण योगदान हुनेछ ।
डा. सुब्बाले साझामा अनियमितताका सवालमा अवश्य प्रश्न उठाउनुभयो त्यसबेला । तर, आफैँ अनियमितताको दलदलमा समेत फस्नुभयो । उहाँले बाहिर विरोध गर्नुभयो तर भित्र आफैँले विरोध गरेका हरेकजसो विषय र निर्णयमा सही धस्काएर बैठक भत्ता लिएर हिँड्नुभयो । साझा सञ्चालक समितिका त्यसबेलाका हरेक निर्णय खोजेर हेरेमा उहाँको यो दोहोरो चरित्र प्रस्ट हुन्छ ।
यसले उहाँको भनाइ र गराइमा तादात्म्य देखिएन । बाहिर एउटा कुरा बोलेर भित्र अर्को काम गर्ने प्रवृत्तिको सिकार फेरि पनि साझा नहोला भन्न कम्तीमा यो पंक्तिकार सक्दैन ।
अझ रमाइलो कुरा त– जोजो कर्मचारीलाई ‘स्वेच्छिक अवकाश’का नाममा साझाबाट निकालियो, ती कर्मचारीको जागिर चट गराउने प्रमुख कारक स्वयं डा. सुब्बा हुनुभएको साझाका निर्णयपुस्तिका पल्टाएर हेरे प्रष्ट हुनेछ ।
कतिसम्म भने– डा. सुब्बाकै संयोजकत्वमा गठित समितिले दिएको कर्मचारीको अवकाशसम्बन्धी सुझाव जस्ताको तस्तै पारित गरेर कर्मचारी अवकाशको निर्णय भएको देखिन्छ साझाका डकुमेन्टमा । अनि बाहिर आएर कर्मचारी उकास्ने, भड्काउने र अघोषित राजनीति गर्ने डा. सुब्बाको नियतमाथि प्रश्न उठ्दैन र !
अनि सँगसँगै डा. सुब्बाले नै त्यहाँका सोझा सीधा कर्मचारीलाई उचालेर वितण्डा मच्चाउने काम पनि भएको देखेको हो पंक्तिकारले ।
यी सबै कुराको आसय– त्यसबेलाका अन्य सञ्चालक र नेतृत्व दूधले नुहाएका थिए भन्ने होइन । अहिले साझाको नेतृत्व पाउनुभएका डा. सुब्बाको विगतलाई मात्र यहाँ कोट्याइएको हो । अरूका विषयमा सन्दर्भमा लेखिनेछ ।
आफैँ राजनीतिक व्यक्ति, राजनीतिक चरित्र पटकपटक देखाउँदै साझामा समेत राजनीतिक पूर्वाग्रह साँधेर सिर्जनशील बनाउनुपर्ने कार्यकाल बेकारमा बिताएका डा. सुब्बाबाट साझालाई उठाउने, शुद्ध बनाउने, यसको सान र गरिमा बचाउने अपेक्षा कम्तीमा यो पंक्तिकारसँग छैन ।
अर्को कुरा– चुनाव राजनीति हो, यो माहोल र स्वार्थमा भरपर्छ । यस पटकको साझाको चुनावमा यही माहोल र स्वार्थले असर गरेको हो । गतिलो विकल्प सोच्न नसक्नु, पूर्वपरीक्षा भइसकेकाहरूलाई नै अन्ध सहयोग गर्नु, वर्तमानका नेतृत्वबारे मतदाता कम जानकार हुनु, प्रजातन्त्र पक्षधर भनिएका लेखक/स्रष्टा सानो स्वार्थमा लिप्त हुनु आदि कारणले साझामा पुनः गलत नेतृत्व आएको छ भन्ने लाग्छ ।
र, यी माथिका यो पंक्तिकारका वर्तमान अध्यक्ष डा. विजय सुब्बाप्रतिका धारणा र विचार केही महिनाभित्र नै सार्वजनिक पुष्टि हुनेछन् । यदि यी धारणा (आरोप ?) पुष्टि नभएमा र डा. सुब्बाले पंक्तिकारलाई गलत प्रमाणित गर्ने गरी काम गरेमा पंक्तिकार हजार पटक आफ्नो गल्ती स्वीकार गरेर डा. सुब्बासँग माफी माग्नेछ ।
पंक्तिकार पनि चाहन्छ– साझा सबैको साझा होस्, साझा बचोस् र हाम्रो साहित्यिक धरोहर जोगियोस् !
(पुनश्चः माथिका विषयबारे प्रष्ट हुन त्यसबेलाका साझाका माइन्युट (निर्णय पुस्तिका) मागेर हेर्न सबैमा अनुरोध गर्दछु ।)
प्रतिक्रिया