देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चैतअघिकै स्वरुपमा वाग्मती सफाइ महाअभियान

देशान्तर

काठमाडौं । वाग्मती सफाइ महाअभियान चैतअघिकै अवस्थामा हुन थालेको छ । चैत ११ गतेपछि कोरोना भाइरसको महामारीका कारण बन्दाबन्दी भएसँगै भौतिक दूरी कायम गरी स्वास्थ्य र सुरक्षाका विधि अपनाएर सफाइ गरिन्थ्यो ।

महाअभियानको ४०१ औं हप्तामा मीनभवन तीनकुने क्षेत्रको नदी किनारमा सफाइ गरिएको छ । सफाइमा सशस्त्र प्रहरी परिवार महिला सङ्घका अध्यक्ष सरिता खनालको नेतृत्वमा ८० जना सफाइमा सहभागी भएका थिए । अभियानकर्मीसहित २०० जनाले वाग्मती सफाइमा भाग लिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिइन् ।

गत हप्ता महाअभियानको ४००औं हप्तापछि चैतअघिकै स्वरुपमा वाग्मती सफाइ हुन थालेको छ । आजको सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको जानकारी पनि उनले दिइन् ।

विष्णुमती सफाइ अभियानको ३३३ औं हप्तामा तारकेश्वर नगरपालिका क्षेत्रमा सफाइ गरियो । तारकेश्वर सरसफाइ अभियानको अगुवाइमा नेपालटार चोकबाट लोकतान्त्रिक चोकसम्म सफाइ गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिए । यसैगरी विष्णुमतीको माथिल्लो क्षेत्र सफाइ अभियान बूढानीलकण्ठ नगरपालिकाको पासिकोट क्षेत्रमा गरिएको छ । त्यस क्षेत्रमा अभियानकर्मी रामकुमार श्रेष्ठका अगुवाइमा सफाइ हुँदै आएको छ ।

मनोहरा सफाइ अभियानको २००औं हप्तामा काठमाडौँ महानगरपालिका– ३२ स्थित जडिबुटी पुल मनोहरा कृषि बजार क्षेत्रमा सफाइ गरिएको छ । १०० जना अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट दुई गाडी फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्र दङ्गालले जानकारी दिए ।

यसैगरी गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, चक्रपथको उत्तर र पश्चिमी भेग, ललितपुरको गोदावरी खोलालगायत स्थानमा पनि आज सफाइ गरिएको छ । विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान शुरु भएको हो । महाअभियान शुरु भएपछि यसका सहायक नदीमा पनि सफाइ शुरु भएको छ ।

वाग्मती सफाइ महाअभियानले देशव्यापी जागरणको स्वरुप ग्रहण गरेको छ । वाग्मतीको प्रेरणाले हाल देशका १०६ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ । मुख्य मुख्य शहर, नदी, पोखरी, कुण्ड ताल, तलाउ, सांस्कृतिक सम्पदा सफाइ अभियानमा स्थानीयवासी जुट्न थालेका छन् । महाअभियान शुरु भएपछि जाडो, गर्मी, भूकम्प, कोरोना महामारी, चाडपर्व कुनै पनि शनिबार सफाइ छुटेको छैन । अभियानकर्मी थोरै भए पनि सफाइले भने निरन्तरता पाउँदै आएको छ ।