देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आधा वर्षमा विकास खर्च १४.४ प्रतिशत मात्रै

देशान्तर

काठमाडौं – सरकारले चालु आर्थिक वर्षको ६ महिनामा पूर्वाधार लक्षित बजेटको १४.४ प्रतिशत मात्रै खर्च गरेको छ। सरकारले विगतमा जस्तै यो वर्ष पनि पुँजीगत बजेट खर्च गर्न नसकेको हो। विगतमा सामान्य अवस्थामा पनि पुँजीगत बजेट खर्च गर्न नसकेका अधिकारीहरूलाई यस वर्ष कोभिड–१९ गतिलो बाहना बनेको छ।

सरकारले कोभिड १९ महामारीबीच पनि राष्ट्रिय गौरवका र ठूला परियोजना अघि बढाउने निर्णय गरेको थियो। महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदन अनुसार चालु आवको पुस मसान्तसम्म ५० अर्ब ८१ करोड ७० लाख रूपैयाँ मात्रै विकास खर्च भएको छ। यो कुल विनियोजित पुँजीगत बजेटको १४.४० प्रतिशत हो।

सरकारले यो आवको लागि तीन खर्ब ५२ अर्ब ९१ करोड रूपैयाँ पुँजीगत बजेट विनियोजन गरेको थियो। पुँजीगत बजेट बजेट खर्च नहुनु भनेको पूर्वाधार निर्माणको गतिमा कम हुनु हो। सरकारले बहुवर्षे आयोजनामा पर्याप्त मात्रामा बजेट खर्च गर्न सकेको छैन। राष्ट्रिय गौरवमा सूचीकृत आयोजनाको अवस्था पनि उस्तै छ।

पूर्वअर्थसचिव शान्तराज सुवेदी अघिल्ला वर्षमा जस्तै यो वर्ष पनि सरकारले पर्याप्त मात्रामा पुँजीगत बजेट खर्च गर्न नसके पनि कोभिड १९ गतिलो बहाना बनेको बताउँछन्। ‘विगतमा पनि आर्थिक वर्षको ६ महिने अवधिमा अपेक्षाकृत मात्रामा विकास बजेट खर्च हुन सक्दैनथ्यो,’ उनले भने, ‘यो वर्ष फास्ट ट्र्याक, मध्यपहाडी राजमार्ग र माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणमा कुनै असर पारेको देखिन्न। तर पनि ती आयोजना निर्माणको गति अपेक्षित छैन। तिनमा पनि सरकारी निकायले पर्याप्त मात्रामा प्रगति गर्न सकेनन्।’  नागरिक दैनिकमा समाचार प्रकाशित छ ।