राष्ट्रिय खेलकुद परिषद् राखेपको आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि शुरुहुँदै छ ।
क्यानको अहिलेको नयाँ कार्यसमिति आएपछि पहिलो पटक प्रधानमन्त्री कप आयोजना गर्न लागिएको हो । यसअघि यो प्रतियोगिता राखेपको आर्थिक सहयोगमा निजी क्षेत्रले सञ्चालन गर्दै आएको थियो । प्रतियोगितामा सात वटा प्रदेश र तीन विभागीय गरि दश टिमको सहभागिता रहने छ ।
प्रतियोगिताका खेलहरु टियू क्रिकेट मैदान कीर्तिपुर र मूलपानीमा गरि २ ठाउँमा आयोजना हुने छन् । प्रतियोगिता खेल्ने दश टिम मध्ये समूह ‘ए’मा त्रिभुवन आर्मी, एपीएफ, गण्डकी प्रदेश, कर्णाली प्रदेश र प्रदेश एक रहेका छन् । त्यस्तै समूह ‘बी’मा नेपाल पुलिस, बागमती प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश दुई रहेका छन् ।
आज र शनिबारका खेलहरु त्रिवि क्रिकेट मैदानमा आयोजना हुने छन् भने आइतबारदेखि मूलपानी मैदानमा पनि हुने छन् । सेमिफाइनल र फाइनलका खेलहरु भने कीर्तिपुरमा हुने छन् । प्रतियोगिताको उद्घाटन खेलमा विभागीय क्लब त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुने छ । विनोद भण्डारीको कप्तानीमा त्रिभुवन आर्मीले यो प्रतियोगिता खेल्दै छ भने गण्डकीको कप्तानी विपिन खत्रीले गर्ने छन् ।
प्रतिक्रिया