देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देउवासँग प्रचण्ड र नेपालको गोप्य भेट, संयुक्त संघर्ष र सत्ता सहकार्यको प्रस्ताव

देशान्तर

नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापित हुँदा र नहुँदा आइपर्ने जुनसुकै परिस्थितिका लागि पनि सहकार्य गर्न कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेका छन् ।

दाहाल–नेपालले प्रतिनिधिसभा पुनःस्थापनाका लागि संयुक्त संघर्ष गर्ने र पुनःस्थापित भएको अवस्थामा देउवा नै प्रधानमन्त्री बन्न सक्नेसम्मको ‘अफर’ गरेका छन् ।

बुधबार साँझ ६ देखि ८ बजेसम्म राजधानीमा देउवासँग भएको गोप्य भेटमा दाहाल र नेपालले संयुक्त संघर्षदेखि सत्ता–सहकार्यसम्मको प्रस्ताव गरेका हुन् । देउवाले दाहाल–नेपालको प्रस्ताव पार्टीको बैठकमा राख्ने र त्यहाँबाट आएको निचोडपछि फेरि छलफल गर्ने बताएका छन् । दाहालले ‘तपाईंले किन यति धेरै चुनावमा जोड दिइरहनुभएको छ ?’ भनेर सोधेका थिए । जवाफमा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक काम गरेको भए पनि चुनावमा जानु लोकतान्त्रिक विधि भएको बताए । त्यसपछि दाहालले प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक भनेर सडकमा जाँदा र सडकबाटै चुनावको वकालत गर्दा लोकतन्त्र नै धरापमा परेको भनाइ राखेका थिए ।

दाहाल र नेपालले ओलीको असंवैधानिक कदमको साझेदार बन्नुभन्दा बरु जस्तोसुकै परिस्थितिमा पनि आफूहरूसँग सहकार्य गर्न देउवालाई आग्रह गरेको सम्बद्ध स्रोतको भनाइ छ । उनीहरूले संयुक्त मोर्चा बनाएर सँगै आन्दोलनमा जान पनि देउवालाई प्रस्ताव गरेका थिए तर देउवाले सकारात्मक जवाफ नदिएपछि अब कस्तो परिस्थिति आउँदा कुन हिसाबले सहकार्य गर्ने भनेर कुराकानी भएको हो ।

‘पहिले त प्रतिनिधिसभा पुनःस्थापनाका लागि आन्दोलनको आँधीबेहरी नै ल्याउनुपर्छ भन्नेबारेमै हाम्रो नेतृत्व केन्द्रित भयो, त्यसमा देउवाजीको पनि समर्थन थियो,’ नेकपा उच्च स्रोतले कान्तिपुरसँग भन्यो, ‘त्यसपछि हाम्रा अध्यक्षद्वयले आन्दोलनमा तपाईंको समर्थन हो भने आन्दोलन कमजोर बनाउने गरी किन चुनावमा जाने कुरा गरिरहनुभएको छ भनेर सोध्नुभएको थियो ।’

उक्त प्रश्नमा कांग्रेस सभापति देउवाको जवाफ के थियो त ? ‘हाम्रो पहिलो प्राथमिकता त प्रतिनिधिसभा पुनःस्थापना नै हो, मैले केपी ओलीले असंवैधानिक काम गरे भनिसकेकै छु, संसद् पुनःस्थापित होला/नहोला, त्यही भएर चुनावको तयारीमा पनि लागौं भनेको हो, प्रतिनिधिसभा पुनःस्थापना हुन्न चुनावमा लागौं भनेको हैन, दुईवटै विकल्प खुल्ला राखौं भनेको हो,’ देउवाले दाहाल–नेपालसँग भनेका थिए । त्यसपछि नेकपाका अध्यक्षद्वयले अहिले प्रतिनिधिसभा पुनःस्थापित हुन्न भन्दा पनि पुनःस्थापनाका लागि एकजुट होऔं भनेर प्रस्ताव गरे । ‘अनि बल्ल उहाँहरूका बीचमा प्रतिनिधिसभा पुनःस्थापित भए के हुन्छ त भन्ने कुरा आएको थियो,’ नेतात्रयसम्बद्ध स्रोतको भनाइ छ, ‘प्रतिनिधिसभा पुनःस्थापित भए देउवा प्रधानमन्त्री बन्न ओलीकै साथ चाहिन्छ भन्ने छैन भनेर हाम्रातर्फबाट कुरा गयो, त्यसमा उहाँले प्रतिक्रिया दिनुभएको छैन ।’

यसअघि नेकपा एक्लैसँग सरकार बनाउन पुग्ने बहुमत भए पनि अब पार्टी विभाजन भएपछि सरकार बनाउन कांग्रेसको साथ नभई हुन्न । प्रतिनिधिसभा पुनःस्थापित भए पनि देउवा दुवै पक्षको तानातानमा पर्ने निश्चितप्रायः छ । त्यसैले विवाद नेकपाको भए पनि शक्ति सन्तुलनको केन्द्रमा देउवा छन् ।

छलफलका क्रममा देउवाले अहिलेसम्म नेकपा नफुटेकाले प्रतिनिधिसभा पुनःस्थापित भएसँगै एक हुने सम्भावना रहेको बताएका थिए । ‘तपाईंहरूको कुनै भर छैन,’ देउवाले दाहाल–नेपालसँग भनेका थिए, ‘अहिले एकथोक कुरा गर्नुहुन्छ, भोलि अर्कैथोक गर्नुहुन्छ । पहिले पनि धोका दिनुभएकै हो ।’ जवाफमा नेकपा नेतृत्वले भने प्रतिनिधिसभा पुनःस्थापित भएपछि ओलीसँग मिल्ने त होइन, तर ओलीसँग मिलेर प्रतिनिधिसभा पुनःस्थापित गर्नुपर्ने अवस्था आउन सक्ने बताएका थिए ।

‘प्रतिनिधिसभा पुनःस्थापित भइसकेपछि परिस्थिति नै बदलिन्छ, मिलिराख्न जरुरी भएन तर तपाईं अहिले ओलीको पछि लागेर चुनाव कि चुनाव गर्नुभयो भने चुनाव पनि नहुने र प्रतिनिधिसभा पुनःस्थापना पनि नहुने सम्भावना धेरै रहन्छ,’ नेकपा नेतृत्वको भनाइको सार उल्लेख गर्दै स्रोतले भन्यो, ‘त्यो अवस्थामा संविधान, लोकतन्त्र र प्राप्त उपलब्धिको रक्षाका लागि ओलीसँग मिलेर प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने स्थिति पनि आउन सक्छ । त्यतिबेला नेकपा एक पनि हुन्छ, केपी नै प्रधानमन्त्री हुन पनि सक्छन् । त्यसैले नेकपा एक भयो भने तपाईंको कारणमात्रै हुन्छ ।’ यसमा देउवाले थप प्रतिक्रिया दिएनन् ।

दाहाल–नेपालले निकै अघिदेखि देउवालाई भेट्न कोसिस गरिरहेका थिए तर भेटेपछि नयाँ बबन्डर मच्चिन्छ भन्दै देउवाले टारिरहेका थिए । लगत्तै पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई गएका दाहाल शनिबार फर्किए । मंगलबार पोखराको आमसभालाई सम्बोधन गरेर फर्किने क्रममा दाहाल र नेपालले देउवालाई भेट्न प्रस्ताव गर्दै फोन गरेका थिए । उक्त फोन संवादमा पनि अहिले नभेटौं, फोनमै कुरा गरौं भन्ने देउवाको प्रस्ताव थियो । दाहालले बरु बिनासुरक्षागार्ड सुटुक्क भेटौं भनेपछि देउवा भेटघाटका लागि राजी भएको र उनीहरूका बीचमा राजधानीको एक गोप्य ठाउँमा दुई घण्टा संवाद चलेको देउवानिकट स्रोतको भनाइ छ । कान्तिपुरमा खबर छ ।