देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अधिकांस सांसद्हरु ट्रम्पकाे विपक्षमा, वाशिङटन डिसीमा संकटकाल घाेषणा

देशान्तर

अमेरिकी संसदका अधिकांश सदस्यहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको पक्षमा मतदान गर्ने बताएका छन् । गत हप्ता संसद भवनमा भएको आक्रमणको जिम्मेवार ठहर्याउँदै राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग दर्ता भएपछि अधिकांश सांसदहरुले महाअभियोगको पक्षमा मतदान गर्ने जनाएका हुन् ।

राष्ट्रपति ट्रम्पले गत नोभेम्बरमा भएको राष्ट्रपतिको निर्वाचनको मत परिणामलाई अस्वीकार गर्दै आएका थिए । गत हप्ता जर्जिया राज्यको अन्तिम मत परिणाम घोषणा गर्ने क्रममा उनका समर्थकले संसद भवनमा प्रवेश गरेर हिंसात्मक गतिविधि गरेका थिए ।

घटनापछि ट्रम्पलाई राजीनामा दिन दवाव बढेपनि त्यसलाई बेवास्ता गरेपछि सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । यही जनवरी २० मा आफ्नो कार्यकाल सकिनु अघि नै राजीनामा दिन विपक्षी दल तथा सांसदहरुको आग्रह अस्वीकार गरेपछि ट्रम्पमाथि महाअभियोगको प्रक्रिया सुरु भएको हो ।

संसदमा आज उक्त प्रस्तावमाथि मतदान हुने बताइएको छ । घटनापछि शान्तिपूर्ण रुपमा सत्ता त्याग्न आफू तयार रहेको बताएपनि राष्ट्रपति ट्रम्पमाथि तत्कालै राजीनामा दिन दवाव बढेको छ ।

नयाँ राष्ट्रपति निर्वाचित भएपछि पनि ट्रम्पले विभिन्न विवादास्पद निर्णय गरेको भन्दै संसदमा उनको चर्को आलोचना भएको छ । राष्ट्रपति ट्रम्पले महाअभियोग प्रस्तावको प्रक्रिया बढ्नु दुखद भएको टिप्पणी गरेका छन् ।

संकटकालकाे घाेषणा

राष्ट्रपति डाेनाल्ड ट्रम्पले नव निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ समारोह हुने शहर वाशिङटन डिसीमा आपतकालको घोषणा गरेका छन् ।

यही जनवरी ११ देखि २४ जनवरी सम्म २ साताको लागि सो शहरमा आपतकाल घोषणा गरिएको हो । आफूलाई महाअभियोगको प्रस्ताव पेश गरेपछि रुष्ट बनेका ट्रम्पले शपथ ग्रहण समारोहलाई प्रभावित गर्ने उद्देश्यले आपतकाल घोषणा गरेको विश्लेषण गरिएको छ ।

साथै आपतकालको समयमा ट्रम्पका समर्थकहरुले हिंसा मच्चाउन सक्ने भन्दै स्थानीय प्रहरी र संघीय अनुसन्धान अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

यसअघी अमेरिकी संघीय अनुसन्धान ब्युरो एफबीआईले ट्रम्पका समर्थकहरुले अमेरिकाको ५० वटा राज्यहरुमा हतियार सहित प्रदर्शन हुन लागेको खुलासा गरेको थियो ।