काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको अनुपस्थितिमा हुने ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई निगरानी गरि कारबाही र सचेतना गर्नको लागि ‘ट्राफिक सर्भिलेन्स भेइकल’ आजदेखि परिचालन गरेको छ ।
उपत्यकाको व्यस्त सडकहरुमा हुने सवारी चापलाई व्यवस्थापन गर्न र फराकिला सडकहरुमा हुने तिब्रगतिलाई नियन्त्रण गर्न उपयोगी हुनेगरी महाशाखाले परिचालन गर्ने भएको छ । महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले माईक्रोबस आकारको सर्भिलेन्स भ्यानको छतमा जडित सिसिटीभी क्यामेराले करिब २०० मिटर सम्मको दृश्यलाइ कैद गर्न सक्ने जानकारी दिए ।
पिक आवरमा सवारी चाप (जाम) हुने क्षेत्र र धेरै मात्रामा ट्राफिक नियम उल्लङघन हुने क्षेत्रमा भ्यानले बढी निगरानी गर्ने पनि उनले बताए । भ्यानमा खटिने ५ जना ट्राफिक प्रहरीले दैनिक सवारी आवागमनको नियमन गर्ने र सडकका गतिबिधिहरुलाई भिडियो तथा फोटोमा कैद गर्न मिल्ने प्रबिधि जडान गरेको छ । यसले ट्राफिक व्यवस्थापनमा महत्वपुर्ण सहयोग गर्ने र आम चालकहरुलाई प्रमाण सहित कारबाही गर्न र थप सचेत जगाउन सहयोगी हुने अपेक्षा रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया