काठमाण्डौ – सफाइ जागरणको प्रेरणाको स्रोत बन्न सफल वाग्मती सफाइ महाअभियान शनिबारदेखि ४०० औं हप्तामा प्रवेश गरेको छ । विसं २०७० जेठ ५ गते तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको अग्रसरतामा यस अभियान सुरुआत भएको थियो ।
सुरु भएदेखि आजसम्म प्रत्येक हप्ताको शनिबार बिहान ०७ बजेदेखि ९ बजेसम्म ‘दुई घण्टा राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ अभियानकर्मीले नदीमा सफा गर्दै आएका छन् । यसबीचमा चिसो, गर्मी, भूकम्पको त्रास, कोरोना महामारी, चाडपर्वजस्ता दिन पनि महाअभियान रोकिएको छैन ।
सफाइबाट अहिलेसम्म २० हजार मेट्रिकटन फोहाेर नदीबाट निकाली व्यवस्थापन गरिएको छ । काठमाण्डौ महानगरपालिकालगायत पालिकाले फोहाेर व्यवस्थापन गर्ने गरेका छन् । फोहाेर व्यवस्थापन गर्ने क्रममा गाडीमा राख्दा नाप गरिएका आधारमा २० हजार मेट्रिकटन फोहाेर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ ।
सफाइ महाअभियानमा १० लाख स्वयंसेवीले काम गरेका छन् । वाग्मती सफाइ महाअभियानको उत्प्रेरणाले उपत्यकामा रुद्रमती, विष्णुमती, इक्षुमती, मनोहरा, हनुमन्ते, कोड्कु, गोदावरी, बल्खुखोला, गुह्येश्वरीमाथिको वाग्मती, तिलगङ्गा, आलोकनगर, सुन्दरीघाट, चक्रपथको पश्चिम, उत्तर र दक्षिण भागलगायत ठाउँमा सफाइ अभियान चलेको छ ।
यसैगरी उपत्यका बाहिर पनौती, जनकपुर, सिराहा, लाहान, झापा, पोखरा, बुटवल, तिनाउ, दाङलगायत गरी देशभर १०६ भन्दा बढी स्थानमा सफाइ अभियान भइरहेको छ । महाअभियान सुरु भएपछि यी सबै ठाउँमा सफाइ अभियान सुरु गर्ने प्रेरणा मिलेको हो । अभियानले फोहोरको स्रोतमै वर्गीकरण गर्न, कुहिने फोहोरबाट बायो कम्पोष्ट मल र बायोग्याँस उत्पादन गर्न सहजीकरण गरेको छ । कुहिने फोहोरलाई मल बनाएर कौशी खेती गर्न पनि अधिकार सम्पन्न वाग्मतीले उपत्यकावासीलाई प्रोत्साहन गरिरहेको छ ।
अहिलेसम्म सामुदायिक संस्थाको सहयोगमा करिब पाँच हजार कम्पोष्ट विन कौशी खेतीलाई प्रोत्साहन गर्न वितरण गरिएको अधिकार सम्पन्न वाग्मती समितिका सूचना अधिकारी कमल अर्यालले बताए। उपत्यका बाहिर पनि फोहोरको स्रोतमै वर्गीकरणलगायत विधि अपनाउन सुरु भएको छ । शनिबार वाग्मतीको मुहान क्षेत्र सुन्दरीजल र मध्यभाग मीनभवनमा विशेष कार्यक्रम आयोजना गरिँदै छ ।
सात ठाउँमा जनचेतनामूलक अभियान
यस अवसरमा ‘स्वच्छता हाम्रो पहिचान, सफाइमा मेरो योगदान’ नारा तय गरी विशेष कार्यक्रम आयोजना गर्न लागिएको हो । विशेष कार्यक्रमअघि काठमाण्डाै साँगा भञ्ज्याङ, नागढुंगा, नयाँ बसपार्क, त्रिभुवन विश्वविद्यालय प्रवेशढोका, बालाजु बाइपास, नारायणगोपाल चोक, मीनभवन गरी सात ठाउँमा जनचेतनामूलक अभियानसहित सफाइसम्बन्धी पर्चा वितरण र पम्प्लेट टाँसिने छ ।
यसका लागि सातै ठाउँमा सफाइ अभियानकर्मीको नेतृत्वमा समूह परिचालन गरिएको छ । अभियानकर्मी क्रमश : नरेश रञ्जित, ताराबहादुर कुँवर, लोकबहादुर टण्डन, रामकुमार श्रेष्ठ, चित्रबहादुर सुनुवार र शोभाकान्त पाण्डेलाई संयोजन गर्ने जिम्मेवारी दिएको छ । ती ठाउँमा चल्ने सार्वजनिक र निजी यातायातमा समेत चेतनामूलक पम्प्लेट टाँस गरिने जनाइएको छ ।
वाग्मती सफाइ महाअभियान विश्वकै लामो अभियान भएको दावीसमेत गरिएको छ । यसैकारण महाअभियानले अन्तरराष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेको छ । वाग्मती सफाइ महाअभियान सुरु भएपछि सोचेजस्तो सफाइ नभएको टिप्पणीसमेत हुने गरेको छ । सोचेजति सफाइ नभए पनि सफाइ जागरणमा महाअभियानले महत्त्वपूर्ण योगदान गरेको छ । नदी, सम्पदा र सार्वजनिकस्थल सफाइमा जनसहभागिता जुटाउन पनि महाअभियानले प्रेरणा दिएको छ ।
महाअभियानले मृतप्राय वाग्मती र यसका सहायक नदीलाई पुनःजीवन दिएको अभियानकर्मी पौडेल बताउछन् । महाअभियानको मूल उद्देश्य विशुद्ध स्वयंसेवी भावना र स्वाभिमानको विकास गराउने रहेको छ ।
हामी हाम्रो काम आफैँ गर्न सक्छौँ भन्ने भावनाका साथ राष्ट्र निर्माणमा निःस्वार्थ समर्पण हुने युवा जनशक्तिको विकास गर्न पनि महाअभियानले सहयोग गरेको छ । यसलाई सभ्य समाज निर्माण र राष्ट्रिय स्वाभिमानको महाअभियानका रुपमा लिइएको छ ।
प्रतिक्रिया