देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्रम्प समर्थकले अमेरिकामा मच्चाए हिंसा, वासिंगटनमा कर्फ्यु

देशान्तर

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले हिंसा भड्काएका छन् । सडकमा निस्किएर हिंसात्मक प्रदर्शन सुरु गरेपछि अमेरिकी राजधानी वासिङ्टन डीसीमा कर्फ्यु लगाइएको छ । स्थानीय समयअनुसार बुधबार साँझदेखि बिहीबार बिहानसम्म कर्फ्यु लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

ट्रम्प समर्थकले बुधबार क्यापिट हिल्स भवनमा पसेर हिंसात्मक प्रदर्शन गरेका थिए । अमेरिकी कंग्रेसमा इलेक्टोरल कलेजको गणनालाई लिएर बहस भइरहेका बेला ट्रम्प समर्थकले हिंसा मच्चाएका हुन् । अमेरिकी सुरक्षा अधिकारीहरुका अनुसार अहिले क्यापिटल हिल्समा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बुधबार अमेरिकी कंग्रेसले डेमोक्रेटक उम्मेदवार जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणित गर्ने कार्यक्रम थियो । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सकी सभामुख नान्सी पेलोसीका अनुसार बुधबार राथि इलेक्टोरल भोटको गणना हुनेछ । उनले भनिन्, ‘डेमोक्रेट नेताहरुका साथै पेन्टागन, न्याय विभाग र उपराष्ट्रपतिसँगको कुराकानीपछि हामीले आज राति प्रक्रिया पूरा गर्नेछौं ।’ यसैबीच अमेरकी क‌ंग्रेसमा बहस सुरु भएको छ ।

राष्ट्रपति ट्रम्पका समर्थकहरुले चुनाव रद्द हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । यस क्रममा प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप पनि भएको छ । स्थिति बिग्रँदै गएपछि नेसनल गार्डलाई पनि क्यापिटल हिल्स पठाइएको छ ।

क्यापिटल हिल्समा हिंसा मच्चाएको आरोपमा प्रहरीले अहिलेसम्म १३ जनालाई पक्राउ गरेको छ । वासिङ्टन डीसी महानगरीय प्रहरीका अनुसार ५ थान बन्दुक पनि बरामद गरिएको छ । प्रहरी प्रमुख रोबर्ट कोन्टीका अनुसार पक्राउ पर्ने व्यक्तिहरु डीसी क्षेत्रका भने होइनन् । उनले झडपमा घाइते भएकाहरुको उपचार भइरहेको पनि बताएका छन् ।

बुधबार साँझ वासिङ्टन डीसीमा भएको झडपमा परी एक महिलाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार झडपमा प्रहरीको गोली लागी एक जना महिला घाइते भएकी थिइन् । स्थानीय अस्पतालमा उपचाररत उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।