देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लोकतन्त्र, संघीयता र गणतन्त्रको नाममा ब्ल्याकमेल

देशान्तर

मनोजकुमार कर्ण

बहुरूपी कम्युनिस्ट
गत पुस १० गते शुक्रबार बेलुका अचानक एउटा नामुद वामपन्थी अनलाइन समाचार बैंकको ब्रेकिङ न्युजमा ‘भारतीय गृहमन्त्री अमित शाह अचानक भोलि एअर इन्डियाको उडानबाट दिउँसो काठमाडौं ओर्लने, प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाबादलसहित सरकारका महत्वपूर्ण मन्त्रीहरूसंँग भेटवार्ता गर्ने कार्यक्रम छ’ भनी छापे तर सोअनुसार भारतबाट कोही नआई चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउको नेतृत्वमा चार सदस्यीय टोली भने दुईदिने नेपाल भ्रमणमा आयो । उनीहरूले भ्रमणको बेला भएका वार्तालापलाई गोप्य राख्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नै नेपाल सरकारको गाडी, गार्ड केही पनि लिन मानेनन् र खुफिया निकायजस्तो आएकै दिन राष्ट्रपति तथा प्रधानमन्त्रीलाई भेटेर भोलिपल्ट नेकपाको अर्का नेताहरू प्रचण्ड तथा माधव नेपालहरूलाई भेटेर समग्रमा यी प्रश्नहरूबारे जानकारी लिए : नेकपा पुनः एकीकरणको सम्भावना छ कि छैन ? संसद् पुनस्र्थापना पनि नहुने र चुनाव पनि नहुने अवस्था आउँछ कि ? राजनीतिक अस्थिरताबीच नेपालको आत्मनिर्णयको अधिकारमा प्रभाव पर्छ कि ? नेपालमा खासगरी भारत र अमेरिकाको प्रभाव बढ्छ कि ? अस्थिरताको फाइदा नेपाली भूमिमा चीनविरोधी गतिविधिले ठाउँ पाउँछ कि ? तर स्रोतका अनुसार यो चिनियाँ टोलीले अझ गुह्य कुराहरू नेताहरूलाई सोधेका थिए, जस्तैः चिनियाँ राष्ट्रपतिको ‘सद्भाव’ म्यासेजअनुसार नेकपा पुनःएकीकरणका उपायहरू के के छन् ? कम्युनिस्ट बाहुल्य यो संसद् पुनस्र्थापनाको सम्भावना कति छ ? ओली र प्रचण्ड समूहमा केन्द्रदेखि जिल्लासम्म नेताहरू कतिजना छन् र कसको पल्ला भारी छ ? आदि । स्मरण रहोस्, येझाउ तिनै व्यक्ति हुन् जसको पहिचान कि नेपाली मिडियाले लुकाएको छ वा सोबारे अनभिज्ञ छ । वास्तवमा उनी राष्ट्रपति सी–जिनपिङका प्रमुख सल्लाहकारमध्ये एक हुन् र यसैबाट चीनले कुन स्त्तरको मान्छेलाई र चिनियाँ स्वार्थबारे कति चिन्तित भएर नेपाल भ्रमणमा पठाएको हो, त्यो बुझ्न सकिन्छ । येझाउ उनै व्यक्ति हुन् जो वि.सं. २०७४ को स्थानीय र संसदीय निर्वाचनपछि नेपाल भ्रमणमा आएका थिए र कांग्रेस सभापति शेरबहादुर देउवालाई निर्वाचनको परिणाम कम्युनिस्टको पोल्टामा जाने गरी सम्पन्न गराइदिएकोमा ‘धन्यवाद’ दिंदै चीन भ्रमणको निम्तो दिएका थिए तर आजको दिनसम्म उनलाई जान दिइएन र उल्टै सभापति देउवा कहाँ यसपालि २०७४ सालपछि दोस्रोपटक भेट्न पुगेका छन् जबकि यसबीच येझाउ न केवल तत्कालीन एमाले र माओवादीलाई एकता गराई नेकपा बनाए अपितु सयकडौं कम्युनिस्ट उच्च तथा एक दुई जना गरी कांग्रेस तथा जसपाका नेताहरूलाई ‘चीनलाई बुझ्न’ भ्रमण पनि गराइसकेका छन् । यसबाट नेपालका वामपन्थी मिडिया वा नेता जो कोही पनि भारततिर हौवा पिटाएर चीनको पक्षमा काम गर्दा रहेछन् भन्ने पुष्टि हुन्छ किनकि भ्रमणबारे भारतको ब्रेकिङ न्युज हाल्यो तर भयो चाहिं चीनको ! अनि २०७४ को निर्वाचनपछि प्रम केपी ओलीलाई कथित राष्ट्रवादीको पगरी गुत्थाएर भारतसित कालापानी–लिपुलेखको मुद्दामा प्रचण्ड–माधव–झलनाथ–वामदेव चिनियाँ नेकपा समूहले वार्ताको वातावरण बिगारेर भारतप्रतिको भावनामा नकारात्मक हौवा पिटाएर औपचारिकरूपमै नेपालको सम्पूर्ण स्वामित्व भएको सगरमाथालाई कथित संयुक्त मापन भनेर अंश दिलाइदिन नेपालमा एजेन्ट वा कारिन्दाको काम गरे र यो आरोप नभई वामपन्थी बाहुल्य संसद् दुरुपयोगको परिणामपछिको निष्कर्ष अब बन्न पुगेको छ ।

माधव नेपाल एमालेको महासचिव छँदा कुनै बेला अमेरिकी राजदूतले पार्टी कार्यालय भ्रमण गर्दा उनले कार्ल माक्र्सलगायत सबै अन्तर्राष्ट्रिय कम्युनिस्ट नेताको फोटा नै उतार्न लगाई ‘आफूहरू पनि नेपालमा कम्युनिस्ट नभई नेपाली कांग्रेस जस्तो अर्को लोकतान्त्रिक दल नै हो, त्यसैले उसको जति नै एमालेलाई पनि पत्याई दिनुप¥यो’ भनेका व्यक्तिले आजको दिनमा चीनको अति नै ‘भरपर्दो’ मान्छे रहेका छन् किनकि माधव नेपाल त्यो अर्को चिनियाँ कारिन्दा बनेका छन् जसले भारत र लोकतान्त्रिक देशहरूलाई नेपालबाट घेर्न चीनको ‘नाम बद्नाम नगराई’ स्वयं उत्तर कोरिया, क्युबा तथा भियतनामजस्ता कट्टर लोकतन्त्रविरोधी देशका स्वार्थहरूलाई नेपालमा सरकारीस्त्तरबाट सम्बोधन गराउन जिम्मा लिएका छन् जसको परिणाम नै हो कि पछिल्लो समयमा संसारले नै ब्ल्याकलिस्ट गरेका उत्तर कोरियाले समेत नेपाललाई ‘हतियारमा आत्मनिर्भर बन्न प्लान्ट लगाइदिने’ प्रस्ताव गरेका, सोको लागि कथित नेकपा पार्टीले सरकारलाई ‘निर्देशन’ दिएकोलाई सरकारले मान्नैपर्ने तथा केही वर्ष अघि सोल्टी होटलमा कोरियाली फादरलाई माधव नेपालले निम्त्याई प्रम ओलीलाई घण्टौं होलीवाइन पनि पिउन लगाएर कार्यक्रम ‘पूर्ण सफल’ पार्न लगाउने ! माधव नेपाल उनै कम्युनिस्ट नेता हुन् जो २०६४ को संविधानसभा निर्वाचनमा दुई ठाउँबाट हारेर महासचिवबाट राजीनामा दिई राजनैतिक सन्न्यास लिने भनेर बसिरहेका बेला कांग्रेसका गिरिजाबाबुले घरबाट बोलाएर समानुपातिकमा सभासद् बनाउन लगाई झन्डै २० महिनाको लागि प्रचण्डको विरुद्धमा प्रधानमन्त्री बनाइदिए तर माधव नेपालले छोड्ने बेलामा भने त्यही कांग्रेसका प्रम प्रत्याशी रामचन्द्र पौडेललाई १७ पटक हार्न दिएर अन्त्यमा आफूलाई सबैभन्दा बढी दुःखदिने भनेका एमाले अध्यक्ष झलनाथ खनाललाई दिए । त्यस्तै प्रचण्ड पनि त्यस्ता कांग्रेसीको ‘भरपर्दा मित्र’ हुन् जसले माओवादीलाई जंगलको बुलेटको राजनीतिबाट संसद्को ब्यालेटको राजनीतिमा ल्याइदिएका गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाइदिने वाचा गरेर स्वयं भित्ते राष्ट्रपति बने, २०७४ सालको स्थानीय निर्वाचनामा सभापति देउवालाई मिलेर निर्वाचन गराई छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयर बनाई लगत्तै संसदीय निर्वाचनमा कांग्रेसलाई सामन्तवादी, दक्षिणपन्थी पार्टीभन्दै चिनियाँ दबावमा एमालेसँग कथित एकता गर्ने भनेर चुनावी तालमेल गरे अपितु छोरी रेणुले कांग्रेसीजनलाई भौतिक आक्रमणहरूसमेत गर्न लगाएकी थिइन् ! यसरी कम्युनिस्टहरूले जहिले पनि लोकतान्त्रिक शक्तिलाई बोल्ने एउटा कुरा तर गर्ने अर्को कुरा गरिरहेका छन् ।

ब्ल्याकमेल र ठगीनीति
गत पुस १३ गते एउटा निजी टीभीको ‘फायरसाइड’ कार्यक्रममा नेकपाको सडक समूह तथा चिनियाँ प्रवक्ता जस्तो नेता प्रचण्डले ‘यत्रो लोकतन्त्रको विपक्षमा प्रम ओलीले संसद् विघटन गरेकामा संसारको लोकतन्त्रवादी देशहरू अमेरिका, युरोप तथा भारतले किन अहिलेसम्म नबोलेको ?’ भनी नेपालमा लोकतन्त्र, संघीयता तथा गणतन्त्र नै खत्तरामा परेको बताएर एकैसाथ नेपालका अधिकांश मधेसी, आदिवासी, जनजाति संघीयता पक्षधर र लोकतान्त्रिक जगत्लाई ब्ल्याकमेलको ठगी नीति गरिरहेका छन् । जहाँ प्रचण्डहरूले गरिब उखु किसानको भुक्तानीको आन्दोलनमा नारायण यादवले प्राण नै त्याग्दासम्म, विगतमा ओली सरकारले गुठी विधेयक ल्याउँदा, चीनले नेपालको सगरमाथामा अंशियार बलजफ्ती बन्दा र हुम्ला जिल्लामा झन्डै ९ देखि ११ वटा चिनियाँ सैन्य भवनहरू नेपाली भूमिमा बनाउंँदा कांग्रेस र त्यसका नेता जीवन शाहीले बोल्दा सार्वभौम नेपाल देशका नेता र सिंगो पार्टीलाई चिनियाँ दूतावास र उसको विदेश मन्त्रालयले धम्की दिइरहँदा, मधेसी तथा भारतलाई लक्षित गर्दै अब नवविवाहितले अंगीकृत नागरिकता सात वर्षपछि मात्रै पाउने व्यवस्था संसद्को उपसमितिबाट पारित गर्दासम्म, लोकतन्त्रमा शक्ति पृथकीकरणको सिद्धान्तको विपरीत प्रम ओलीले विभिन्न स्वतन्त्र कार्यालयलाई प्रम कार्यालयअन्तर्गत ल्याइरहँदा जस्ता आदि इतयादि कुकृत्य गरिरहँदा कहिल्यै जनताको पक्षमा बोलेनन् र सडकमा आएनन्, जहाँ प्रचण्डहरूले संघीयतालाई व्यवहारमा उतार्न कहिल्यै संविधान संशोधनको लागि मधेसी झन्डै ५१ प्रतिशत जनताको पक्षमा सडकमा ओर्लेनन् र जहाँ मधेसीको समान अधिकार प्राप्तिको लागि कहिले ‘अखण्ड चितवन’को नारा उरालेर मधेसीको समग्र मधेसको माँगमा कैंची लगाए, त्यहाँ आज उनै प्रचण्ड, माधव, झलनाथहरूले चिनियाँ स्वार्थका बाँकी एजेन्डाहरू फटाफट पूरा गराउन र प्रचण्ड स्वयं नै प्रधानमन्त्री बन्न संसद् पुुनस्र्थापनाको लागि गत पुसको दोस्रो साता ‘हामी यहाँ छौं’को प्लेकार्ड झुन्ड्याएर माइतीघरको चिसो सडकमा बसे जुन ठगी नीतिमात्र हो !

कांग्रेसले के निष्कर्ष निकाल्ने
कम्युनिस्टहरूको पुरानो थेगो ‘संसद् भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ हो’लाई व्यवहारतः नेपालमा नेकपाका ओली र प्रचण्ड दुवै खेमाले मैक्सिमम् प्रयोग गरेर कांग्रेसलाई केबल केही पदहरू दिएर ‘युज’गर्न पल्केका छन् तर अन्ततोगत्वा उनीहरूले अन्य लोकतान्त्रिक दललाई लतार्दै संसद्लाई पूर्ण क्रस गराउनेसम्म नै लाने हो, जसको वकालत जसपाका पूर्ववामपन्थी उपेन्द्र यादव, डा. बाबुराम भट्टराई तथा अशोक राईहरू पनि गर्दै आइरहेका छन् जुन कांग्रेसको लागि वेस्ट–मिनिस्टर अर्थात् संसदीय सर्वोच्चताको खिलाप छ । कम्युनिस्टहरू जहिले पनि माथि उल्लेख गरिएअनुसार उनीहरूको मक्का–मदिना चीन भएकाले र चिनियाँ सिजिपिङसँग नेकपाले भ्रातृत्व सम्बन्ध नै गाँसेर गोप्यरूपमा विभिन्न स्रोतहरू अनुसार नेपाललाई लोकतान्त्रिक वैश्विक कित्ताबाट पूर्णरूपमा बेदखल गराउन झन्डै १२० भन्दा बढी चिनियाँ स्वार्थका प्रोजेक्टहरू टौप प्रायोरिटीमा राखेर फटाफट नेपाली बाहुल्य संसद्बाट पारित गराउनु रहेकाले चिनियाँहरूलाई नेपालमा संसद् पुनस्र्थापना, नेकपाको एकता जुनसुकै मूल्यमा हुनैपर्र्ने, सोपछि प्रचण्ड वा माधवलाई प्रम बनाउनैपर्ने वा सो सम्भव नभए चीनको जस्तो नेकपाले पार्टीको रूपमा दिएको सुझाब अनुरूप ओली सरकारले काम गर्नैपर्ने जस्ता कार्यहरू अत्यावश्यक देख्छन् ! आम बुद्धिजीवीको भनाइअनुसार कांग्रेसले के भुल्नु हुंदैन भने नेकपामा ओली वा प्रचण्ड खेमा कोही पनि पार्टी विभाजन आफूले गराएको खतरा लिएर निर्वाचनमा जान चाहंदैनन् त्यसैले ओलीले पनि संसद् विघटन गर्न जाँदा बालुवाटारमा ‘नेकपा फुटेको होइन, अब निर्वाचन आफ्नै हिसाबले जितेर आऔं र फेरि सरकार बनाऔं’ भनेका छन् भने प्रचण्डले पनि चिनियाँ गुओ येझाउलाई ‘ओलीले आत्मालोचनासहित संसद् विघटन फिर्ता लिए नेकपा एक हुने सम्भावना छ’ भनेका छन् अतः यी नेपाली चिनियाँ कारिन्दा वामपन्थीहरूको कमजोरी नसा भनेको अन्त्यमा अकुत मालपानी हो बुझेर पुनः चीनले आफ्नो स्वार्र्थका लागि भए पनि पैसाले नै तौलिदिएर फेरि गत पुस ५ गते अघिकै अवस्थामा नेकपा र संसद्लाई ल्याउने सम्भवाना पनि छ वा चुनावमा प्रधानमन्त्री र अध्यक्षका प्रत्यासीलाई व्यक्तिगतरूपमा हराउने क्षणिक तिकडमबाहेक उनीहरूले २०७४ सालकै जस्तै अघोषित चुनावी तालमेल आपसमा गरेरै जान पनि सक्छन् ! यस्तोमा प्रम ओलीको अलोकतान्त्रिक तथा असंवैधानिक कार्यको विरुद्ध कांग्रेसले कुनै पनि समूह वा जसपासंगै पनि तत्काल सडक वा सदनमा कार्यगत एकता नगरी जान सक्नु पर्छ, कम्युनिस्टहरूको देशविरोधी गतिविधिलाई जनतामा भण्डाफोर गर्दै यस संविधानको रक्षार्थ परिवर्तनको पक्षमा दरौं उभ्नैपर्छ ।

२०७७ पुस १९ गतेको देशान्तर साप्ताहिकमा प्रकाशित