देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फ्रान्समा कोरोना सङ्क्रमण बढ्दै, निशेधाज्ञा थप

देशान्तर

एजेन्सी – फ्रान्समा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि निषेधाज्ञा थपिएको छ । संक्रमण नियन्त्रणका लागि देशका विभिन्न १५ क्षेत्रमा रात्रिकालिन निशेधाज्ञा थप गरिएको फ्रान्स सरकारले जनाएको छ ।

सरकारले साविकको ८ बजेपछिको निशेधाज्ञालाई ६ बजेबाट सुरू गर्ने बताएको छ । कोरोनाका कारण बढी प्रभावित मुलुकको भूमध्यसागरीय क्षेत्रस्थित प्रमुख सहर निसलगायतका स्थानमा यो नियम लागु हुनेछ । राजधानी पेरिस तथा पेरिसपूर्वका क्षेत्रमा भने सङ्क्रमण नियन्त्रणका लागि अपनाइएको थप नियम बाध्यकारी हुनेछैन ।

‘फ्रान्समा कोरोनाभाइरसको फैलावटमा निरन्तरता देखिएको तर क्षेत्रगतरूपमा यसको प्रभाव कम र बढी रहेकोले बढी प्रभावित क्षेत्रमा साँझ ६ बजेदेखि नै अतिआवश्यक बाहेकका गतिविधिमा रोक लगाइएको छ,’ सरकारका प्रवक्ता गाब्रियल अतलले नयाँ कदमबारे जानकारी गराउँदै भने ।

उनलाई उद्धृत गरी फ्रान्सको टीएफ–वनद्वारा प्रसारित समाचारमा भनिएको छ, ‘यदि निश्चित क्षेत्रमा अवस्था थप विग्रँदो भएमा हामीले आवश्यक निर्णय लिनेछौँ ।’ फ्रान्समा २६ लाख ३९ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यसमध्ये ६४ हजार ७६५ जनाको मृत्यु भएको छ ।

संक्रमण बढे पनि फ्रान्समा खोपको आकर्षण पनि छैन । टीएफ–वनका अनुसार फ्रान्सले गत हप्ताको अन्त्यमा कोभिड–१९ विरुद्धको खोप सर्वसाधारणको प्रयोगका लागि अनुमति दिए पनि अहिलेसम्म फ्रान्समा ३३२ जनाले मात्र खोप सेवा लिइसकेका छन् ।