पुस १० गते हाम्री ममतामयी माता स्व. टंककुमारीले ९० वर्षको उमेरमा हामीलाई सदाको लागि छोडेर जानुभएको सात दिन बितेको छ । हामीलाई परेको मातृशोकमा हजारौं इष्टमित्र, नातागोता र शुभचिन्तकले कोभिड–१९ को प्रकोपका बाबजुद घरमा वा आर्यघाटमा आएर, टेलिफोन वा सामाजिक सञ्जालमार्फत हामीप्रति व्यक्त गर्नुभएको गहिरो समवेदना र स्वर्गीय मुमाप्रति हार्दिक श्रद्धाञ्जली तथा दिवंगत आत्माको चिरशान्तिको लागि गर्नुभएको शुभकामनाको लागि मलगायत समस्त परिवारजन आभारी छौं र कृतज्ञतापूर्वक धन्यवाद व्यक्त गर्दछौं । उहाँहरूको समवेदना र श्रद्धाञ्जलीबाट मलगायत समस्त परिवारले असाधारण आत्मीयता, ऊर्जा र उत्साह पाएको अनुभूति गरेका छौं ।
निधनभन्दा अघि उहाँको उपचारको क्रममा आदरणीय प्रतिष्ठित डाक्टरहरूको उच्चस्तरीय चिकित्सक सेवा, नर्स बहिनीहरू र स्वास्थ्य सहायकहरूको व्यावसायिक निष्ठा र हार्दिकतापूर्ण सेवाको अथक प्रयासका बाबजुद मुमा संसारबाट बिदा हुनुभयो । उहाँहरूको आत्मीय र स्नेहशील सेवाप्रति मलगायत समस्त परिवारजन कृतज्ञताका साथ हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
जुनसुकै धर्मावलम्बी वा संस्कृतिको मानिसका निमित्त जीवनको अन्तिम संस्कार अन्त्येष्टि संस्कार मानिन्छ । मृत्युलाई जीवनको अन्तिम सत्यमात्र होइन, जीवनकै एक चरणको रूपमा धर्मगुरुहरू अर्थ लगाउँछन् । मृतकलाई सुख र कल्याण होस् र दिवंगत आत्माले चिरशान्ति पाओस् भन्ने भक्तिभावले मृत्यु संस्कार गरिने हो ।
तर प्रियजनको निधनमा गरिने काजक्रिया कति दिनको हुनुपर्छ भन्नेमा हिन्दू धर्मभित्रै एकरूपता छैन । धर्मगुरुहरू वा ब्राम्हण परम्परामा पनि एकरूपता छैन । सबैका आ–आफ्नै चेतना, विवेक, परम्पराअनुरूपका मान्यता र तर्कहरू छन् । कसैले १३ दिन काजक्रिया गर्छु र वर्षैभरि यससम्बन्धी अन्य नियम पालन गर्छु भन्ने नैसर्गिक हक र स्वतन्त्रता छ । गुरूहरूलाई पनि शास्त्रोक्त विधिमा निष्ठा राख्ने हक छ । कतिपय पण्डित वा गुरुहरूले आधुनिक युगका सम्पूर्ण भोजन आफैंले चलाएर कर्मकाण्ड गराउँदा पनि जजमानबाट गुनासो गरेको नसुनिएको हुनाले यसलाई सहज रूपमै लिइएको मान्न सकिएला । अर्कातिर यसलाई सरलीकृत, व्यावहारिक र युगसापेक्ष बनाउन चाहनेहरूको लागि पनि आफ्नो मान्यताको पालन गर्ने मौलिक हक तथा स्वतन्त्रताको कुरा हुनुपर्छ भन्ने मलाई लाग्छ ।
वैदिककालदेखि मात्र पार्थिव शरीरलाई जमिनमा गाड्ने वा जलाउने काम विश्वब्यापी प्रचलनका रूपमा विकसित भयो । पारिवारिक सन्तति र नातेदारहरूको मायाको कारणले मृतात्मा स्वर्गलोक नगएर घरको वरपर नै प्रेतको रूपमा बसिरहने र हानि पु¥याउन सक्ने हुनाले ‘राम्रोसँग जानु’ (सद्गति) भनेर पुरानो जमानामा अन्त्येष्टि संस्कार थालियो । अग्निमा दाहसंस्कारद्वारा पार्थिव शरीरलाई पञ्चतत्वमा बिलिन गराएर मृतात्मालाई पवित्र बनाउनुको साथै पितृलोकतिर बिदा गरेको मान्यता विकसित गरियो । परलोक प्रस्थान गर्दा कुनै अभाव नहोस् भन्नका लागि खाद्यान्न, कपडा र वैतरणी पार गर्न गाईदानको धार्मिक उपाय रचियो । यो अकाट्य सत्य नभएर मानिलिएको कर्मकाण्ड हो, जो आजकल आफ्नो आस्था र निष्ठा नभए पनि ‘जोरीपारीलाई देखाउन’ बाध्यतापूर्वक अपनाइयो ।
हिन्दू परम्परामा मध्ययुगदेखि आएर आयुर्वेदिक शिक्षाका आधारमा मृत्युसंस्कार गर्ने वा आशौच बार्ने चलन स्थापित भयो । परम्परागत हिन्दू मान्यताबाट हामीले पाएको चेतनाले मानिसको हातमा ‘हातेविष’ हुने बताउँछ । आजको महामारीमा ह्यान्ड सानिटाइजरको अनिवार्यताले उक्त मान्यतालाई पुष्टि गर्दैछ । गाईको गोबरले घर लिप्नु पुरानो युगको स्टरिलाइजेसन वा डिसइन्फेक्सन (कीटाणुशोधन) विधि हो । हिन्दू काजकिरिया पनि मुख्यतः क्वारेन्टाइन र कीटाणुशोधनको प्रक्रियामा आधारित छ । पुरानो जमानामा रोग नै पत्ता नलागी मृत्यु हुने आफ्नो प्रियजनको सम्भावित संक्रामक रोगसँग संसर्ग हुन पुगेका छोराछोरीले शारीरिक दूरी कायम गर्दै १२÷१३ दिन कसैलाई नछोई अलग रहनुपर्ने धार्मिक नियमको रूपमा काजक्रिया विकसित भयो, आजको चिकित्सकीय परिभाषामा यही नै १४ दिनको क्वारेन्टाइन वा आइसोलेसन भयो । आइसोलेसन र सेनिटाइजेसनको विधि नै काजक्रियामा अपनाइयो ।
पुरानो युगको वैज्ञानिक पद्धतिलाई आजको युगसापेक्ष वैज्ञानिकीकरण गर्नुको साटो हामीले पुरातन वैज्ञानिक दृष्टिकोणलाई पनि अन्धविश्वासी, कर्मकाण्डी र अव्यावहारिक बनाएका छौं । १३ दिनको काजक्रिया अवधि लामो भयो भन्ने महसुस सबैको हो, तर भन्न सक्ने आँटको अभाव र जोखिम ठानेर किरियापुत्री विवश र लाचार मानसिकतामा रहन बाध्य भयो । प्रियजनको वियोगको दुःख त छँदैछ, त्यसमाथि आफू कर्मकाण्डी लाचारी र विवशताको बन्दी किन हुने ? यो आज सबैको मनमा रहेको अनुत्तरित प्रश्न हो ।
हाम्रो व्यावहारिक जीवनमा पनि आधुनिक युग अनुरूप ठूलो फेरबदल आएको छ । बाबु वा आमाको आशौच बारेको मानिसले एक वर्षभरि सेतो बस्त्र लगाउनुपर्ने, आफैंले पकाएको मात्र खानुपर्ने, खाटमा सुत्न वा कुर्सीमा बस्नु नहुनेजस्ता परम्पराको पालन गर्न खोज्नु आजको जमानामा पुरातन युगका मान्यता लाद्नु अन्याय हुन्छ । त्यसैले काजक्रियाको विधि र अवधि यति नै वा यस्तै हुनुपर्छ भन्ने कुरा आजको जमानामा धार्मिक हठमात्र हुन सक्छ । नयाँ पुस्ताका ब्राह्मण जातिभित्र पनि धर्मशास्त्रको दिनचर्या र जीवनशैली त्यागेर खानपान र रहनसहनमा असाधारण परिवर्तन आएको छ । माछा–मासु, मदिराजस्ता खानपानहरू सबै जातिमा समान रूपले प्रचलित छ । यसलाई स्वाभाविक र सहज रूपमा लिनुपर्छ । अर्कातिर पछिल्ला युगमा यसका अनेक विधि–विधानहरू थपिँदै आए । मृत्यु–संस्कार महत्वपूर्ण भए पनि आज आएर विविधतापूर्ण जटिल पनि भएको छ ।
आजभन्दा करिब सवा सय वर्षअघि राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा १३ दिन आशौच बार्नुपर्ने नियमलाई अनिवार्य बनाइएको भेटिन्छ । त्यस बखतको नेपालमा बाबुआमाको काजक्रिया नगर्ने छोरालाई ठूलै अपराध मानेर दण्ड–सजाय दिने चलन थियो । तर आजको पुस्ताले चन्द्रशमशेरकालीन शासनले लादेका परम्परालाई मानेर हिँड्न सक्दैन । बाँचेका सन्ततिहरूले आफ्नो जीवन सुचारु गर्न पनि हिन्दू काजक्रियालाई युगसापेक्ष, सरलीकृत, लचिलो, ब्यावहारिक तथा संस्कृति र सभ्यताले सुसज्जित बनाउनुपर्छ । सबैभन्दा अविस्मरणीय र ठूलो कुरा आफ्नो प्रियजनसँग सदाको लागि वियोग हुने कुरा हो । बाँकी गरिने कर्मकाण्ड लौकिक पदार्थसँग खेल्ने कुरामात्र हो ।
यही मान्यता र चेतनाको आधारमा हाम्रो पारिवारिक सरसल्लाहअनुसार १३ दिन आशौच बार्ने परम्परागत विधिलाई छोट्याएर सात दिनमा सीमित गर्ने निर्णय लियौं । तर यसबीचमा ध्यान गर्ने, पवित्र वचनहरू सुन्ने, दिवंगत प्रियजनका असल कार्य, स्वभाव, शिक्षा, उहाँहरूले छोडेका असल प्रभाव, प्रेरणा र योगदानहरूलाई श्रद्धापूर्वक सम्झिने अवसरको रूपमा पनि हामीले यस अवधिलाई लियौं ।
स्वर्गवासी मुमाको नाममा हामीले उहाँ जीवित छँदा नै सामाजिक सेवाका अनेक कार्यक्रम गर्दै आयौं । सामाजिक सेवामा सक्रियता, दोलखाका हामी राजभण्डारी परिवारको परम्परागत गतिविधिको रूपमा पनि स्थापित छ । मुमाको स्वर्गे भएपछि पनि यस कार्यलाई हामीले निरन्तरता दिने अठोट लिएका छौं । यो नै सच्चा पुत्रधर्म, बुबा–मुमाप्रतिको सच्चा श्रद्धाञ्जली र समाजको लागि उदाहरणीय संस्कार हुन्छ भन्ने हाम्रो दृढ मान्यता हो ।
मृत्यु संस्कार र १३ दिनको कर्मकाण्ड आजको युग तथा पुस्ता सुहाउँदो भएको छैन । यसलाई सरलीकरण, छरितो, लचिलो बनाउनुपर्छ भन्नेमा मेरो दृढ धारणा छ । यसबाट हुने बचतलाई सामाजिक सेवामा लगाउन सकेमा मृतक प्रियजनको लागि सच्च श्रद्धाञ्जली हुने मेरो विश्वास छ ।
प्रतिक्रिया