January 27, 2021, Wednesday
२०७७ माघ १४
ताजा अपडेट

निबन्ध

जय नेपाल

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

हरिविक्रम के.सी.

हिमालयको काखमा पश्चिम लमतन्न सुतिरहेको सार्वभौम सम्पन्न राष्ट्र नेपाल अझै ब्युँझेको छैन । पृथ्वीनारायण शाहको सपना पूर्णतः साकार हुन पाएन । उनीपछिका आजसम्मका सबैमा त्यस्तो क्षमता प्राप्त हुन सकेन । दूरदर्शिता रहेन । वीरताले नेपालीको भन्दा पनि पराइको पक्षपोषण गर्दै आएको छ । यो मुलुकलाई दायाँबायाँका मात्र हैन परपरका मान्छे पनि लोभलालचमा फसाएर कठपुतली नचाएझैँ नचाउन चाहन्छन् । मानिसलाई चाहिने सबै सम्पत्ति, यहाँ प्रकृतिले थुपारी दिएको देखिन्छ । प्राणीको प्राण बचाउने पानीको कमी छैन । हिमालयदेखि तल झर्ने गण्डकी, कोसी र कर्णाली अथाह शक्तिको स्रोत बोकेर बगिरहेका छन् । ग्यास र अन्य शक्तिको अनेकौं स्रोत त्यसै खेर गइरहेका छन् । यहाँ जलचर, स्थलचर र उन्नयचर जे पनि पाइन्छ ।

हात्ती, गैंडा, भालु, पाण्डा र कस्तुरको देश हो । यसका जनता परिजाति भनेर सबैले मानेका छन् । सबै प्रकारको हावापानी पाइने ठाउँ नेपाल.हो । सर्वोच्च शिखर सगरमाथाले यही देशको शोभा बढाइरहेको छ । विशाल विश्वको शिरमा सानो सुन्दर आँखाजस्तो नेपाल राष्ट्र देखिन्छ । यसको सौन्दर्य र सम्पर्कमा आकर्षित नहुने केही छैन ।

Advertisement

नेपाल बिग्रियो भने संसार अन्धो हुन्छ । आफ्नैपनमा बाँचिरहेको प्राचीन देशलाई उत्तरतर्फबाट विशाल चीन र पूर्व, पश्चिम र दक्षिणतर्फबाट भारतले छेकेर राखेको छ । समुद्रसम्मको छोटो पहुँच पाएको छैन । यो देशलाई चारैतिरबाट हमला गर्नेहरूबाट नेपालले आफूलाई बचाएर राख्नुपर्छ ।

अदृश्य प्रहारहरू आउँछन् त्यसलाई छल्न सक्नु नेपाल बाँचिरहने उपाय हो । असंलग्न पराराष्ट्र नीतिको सन्तुलन मिलाइरहनु पर्ने हुँदा कूटनीतिमा पोख्त, सिपालु प्रशासकको निरन्तरता छुट्नु हुँदैन । अन्यत्र नपाइने नौला सम्पदा र संस्कृतिको जगेर्ना गर्न सक्यो भने, आफ्नो धर्ममा अडिग रह्यो भने र गोरखाली वीरतालाई उचित स्थानमा प्रयोग गर्न सक्यो भने नेपाल राष्ट्र अमर हुनेछ । संसारका सबै राष्ट्रहरू आफ्ना तर्फबाट नेपालाई युद्धमा सामेल गराउन चाहन्छन् । डर, धाक, धम्की र लोभ देखाएर आफूतिर तानी राखेका छन् । हुन पनि प्रथम र द्वितीय महायुद्धमा गोरखा फौज नभएको भए आजको संसार यस्तो हैन अर्कै हुने थियो ।

कौडीमा पनि मिल्किन्छ भिल्लका देशमा मणि भनेझै अझै पनि यहाँ सस्तोमा सिपाही किन्न पाइन्छ । यो हाम्रो निधारमा लागेको कालो धब्वा हो । नेपालीले आफ्नो मुखमा लागेको कालो टाटो धोएर पखाल्न, पुछ्न सकेन भने, तेस्रो विश्वयुद्ध भइहोल्यो भने, चीन र अमेरिका वा अरू कुनै एकले यसलाई प्रयोग गर्नेछ । जसले जे गरे पनि आफ्नो देशको भलाइ गर्न हामी चनाखो भएनौं भने, २–४ पैसामा बिक्ने हो भने देशको दशा सप्रिने छैन । नेपाली भएर जन्मिने सबैले दरिद्र जीवन बिताउनु पर्ने देखिन्छ । नेपालीको जीवनस्तर माथि उठ्ने छैन । दिनपर दिन तलतल झरिरहनेछ ।

यहाँका जनता सोझा अशिक्षित गरिब भएको हुनाले के गर्नुपर्छ भन्ने ज्ञान छैन । पेट पाल्नको लागि चोरी, डकैती र आफैंलाई बिक्री गर्नसम्म पछि परेको देखिँदैन । यस्तै दशा रहिरहने हो भने देश छिमेक र विश्व कहीँ पनि शान्ति स्थापना हुन सम्भव छैन । रेल नचल्दै यहाँ चोरी हुन्छ भने रेल छैन देश कसरी चल्छ । हो, आज पेटमा आगो बलिरहेको छ । भोलिको विचार गर्न समय नै छैन । त्यसैले वर्तमान काल सर्वाधिक महत्वपूर्ण छ । आज बाँचे मात्र भोलि देख्न पाइन्छ । आजै मरियो भने भोलि के काम ? केही काम लाग्दैन ।

ठूला तपस्वीहरूको तपोभूमि नेपालमा आज पनि विशिष्ट विद्वानहरूको कमी छैन । पथप्रदर्शन गर्ने मान्छेहरू पनि छन् । तर मायालाग्दो राजनीतिको अभाव खट्केको छ । सबै नीतिको अगुवा राजनीति भएकोले राजनीति अघि लागेर नहिँडेसम्म अरू नीतिले काम गर्न कठिन हुन जान्छ ।
आजको संसारमा जुनजुन देश प्रगति पथमा लम्केका छन् त्यस देशको राजनीतिले अगुवाइ गरेर अरूलाई पनि माथि उचालेका छन् । अब नेपालको राजनीति उचित दिशातिर लागोस् सम्यक मार्ग समातेर हिँडोस् । जनतालाई छानो, मानो र न्यानो खोज्न सिमाना काट्न नपरोस् । मातृभूमिलाई सम्झँदै विदेशको मरण नहोस् । यही कमलको कामना छ ।
जय देश, जय नेपाल ।


  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares