काठमाडौं । युवतीको प्रयोग गरी लुटपाट गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । दोलखाका ४९ वर्षीय लालबहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले बुधबार पक्राउ गरेको हो ।
श्रेष्ठको समूहले गत ८ साउनमा सिन्धुली कमलामाई नगरपालिका-२ बस्ने भोलाबहादुर जर्घामगरलाई युवती प्रयोग गरी लुटेको थियो । भोला रत्नपार्कबाट कलंकी जान मोटरसाइकलमा बसिरहेको समयमा एक युवतीले लिफ्ट मागेकी थिइन् । आफू पनि कलंकी जाने भन्दै लिफ्ट मागेपछि मोटरसाइकलमा राखेको र आफूलाई चोभारसम्म पुऱ्याउन उनले आग्रह गरेकी थिइन् । सोहीअनुसार उनले चोभार लगिदिए ।
चोभारको एकान्तमा पुगेपछि युवकलाई फलामको रड देखाएर तीन युवकले नियन्त्रणमा लिएर लुटपाट गरेका हुन् । ६ तोलाको सुनको सिक्री, मोबाइल, चस्मा र नगद सात हजार गरी ६ लाख ३५ हजार रुपैयाँको धनमाल लुटपाट भएको उनले बताएका छन् ।
घटनाको पाँच महिनापछि त्यसमा संलग्न एक व्यक्ति पक्राउ परेका हुन् । युवतीसहित चारजनाको खोजी भइरहेको अपराध महाशाखाका एसपी ईश्वर कार्कीले बताए । युवकले सुनको मोटो सिक्री लगाएको देखेपछि युवतीले उनलाई लुट्ने योजना बनाई लिफ्ट मागेकोसमेत खुलेको छ। पीडित भोला पूर्वसैनिक हुन् ।
प्रतिक्रिया