देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेकपाभित्र राजावादी र जनवादी छन्, लोकतन्त्रवादी छैनन्

देशान्तर

पछिल्लो राजनीतिक घटनाक्रममा नेपाली कांग्रेसको धारणा के हो ?

नेकपा नेतृत्वको वर्तमान सरकार पूर्णरूपमा निरंकुशताको बाटोमा गइरहेको छ । अहिलेको सरकारले लोकतान्त्रिक मूल्यमान्यतालाई एकपछि अर्कोरूपमा समाप्त गर्दै गइरहेको छ । यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्णरूपमा आफ्नो मर्यादालाई पनि बिर्सिदैं गइरहनु भएको छ । जसले गर्दा देशमा धेरै ठूलो निराशा बढाएको छ ।

विशेषगरी पछिल्लो समय कोभिडप्रतिको बेवास्ता, त्यतातिर सरकारको ध्यान दृष्टि नभएको स्थिति, सरकारले संवैधानिक नियुक्तिमार्फत देशलाई कब्जा गर्न खोजेको संकेतहरू देखिएको छ । भर्खरै सरकारले ल्याएको अध्यादेशले त्यसलाई पूर्णरूपमा पुष्टि गरेको छ । त्यसैगरी संवैधानिक अंगहरू आफ्नो अनुकूल बनाएर त्यसको दबाबमा देशमा एकाधिकार गर्ने र त्यसैका माध्यमबाट आफ्ना विरोधीहरूलाई धम्क्याएर राख्ने खेल भएको छ ।

कांग्रेसले भनेको कम्युनिस्टले जिते भने एकतन्त्रीय शासन हुन्छ भनेको जस्तै अवस्था बन्दै गएको हो ?

अहिलेको अवस्थामा कम्युनिस्ट पार्टी अझ भनौं नेकपाले लोकतान्त्रिक मूल्य मान्यतामा विश्वास गर्दैन भन्ने कुराको पुष्टि एकपछि अर्को घटनाक्रमले हुँदै गएको छ । विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहारले त त्यो कुरालाई पूर्णरूपमा प्रमाणित गरिसकेको छ । चुनावका बेला कम्युनिस्टहरूले सत्ता सम्हाले भने देश पूर्णरूपमा लोकतान्त्रिक पद्धतिमा चल्छ भन्ने कुरामा हामीले आशंका गरेका थियौं ।

त्यो कुरा अहिलेको सरकारको कामले एकपछि अर्को गर्दै पुष्टि भइरहेको अवस्था छ । त्यतिबेला हाम्रो सभापति शेरबहादुर देउवाले कम्युनिस्टले जिते भने बोल्न पनि पाइँदैन, वाक स्वतन्त्रता हुँदैन, अन्याय भयो भनेर पनि भन्न पाइँदैन भन्नु भएकै थियो । आज सरकारले, सरकारका मन्त्रीले सरकारको विरोध गर्ने सबैलाई मोती बिन्दु लागेको छ भन्ने जस्ता अभिव्यक्ति दिँदै हिँडेका छन् । मन्त्रीहरूकै अभिव्यक्तिले जनताको बेइज्जत गर्ने काम भएको छ ।

सरकारकै कारण लोकतन्त्र खतरामा पर्न थाल्यो भनेर निष्कर्ष निकालियो भने के हुन्छ ?
यो गणतन्त्रमा धेरै कुराहरू हुन्छन् भन्ने थियो । सबल ढंगबाट देश अघि बढ्छ भन्ने थियो । धेरै कुराको अपेक्षा गर्ने स्थिति थियो । तर, त्यस्तो स्थिति भएन । अहिलेको अवस्थामा सरकारबाट सामान्य अपेक्षाको पनि पूर्ति हुन सकेन ।

सरकार बनेको तीन वर्ष भयो तर एउटा पनि ‘सिंग्नेचर प्रोजेक्ट’ ल्याउन सकेन । सरकार धेरै बोलिरहेको छ, केही पनि गरेको छैन । त्यसैले विगतका सरकारहरूसँग तुलना गर्दा पनि यो सरकार अझ बढी असफल देखिन्छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले त भ्रष्टाचार झनै बढेको र यसको संरक्षक नै प्रधानमन्त्री भनेर किटान गरेको छ । गणतन्त्रमा धेरै कामहरू हुन्छ भन्ने अपेक्षा थियो तर पहिलाभन्दा पनि धेरै विकृतिहरू बढ्दै गएकाले लोकतन्त्र र गणतन्त्र नै अलोकप्रिय भयो भन्ने टीकाटिप्पणी भइरहेको छ । सरकारकै कारण यो व्यवस्था विरोधीहरूले विरोध गर्ने ठाउँ पाएका छन् । म त भन्छु यो व्यवस्था गलत होइन । नेतृत्व गलत हो । नेतृत्वको कमी, कमजोरीका कारण व्यवस्थामाथि दाग लाग्ने अवस्था बनेको छ ।

पछिल्लो समय राष्ट्रपतिको भूमिकालाई कसरी बुझ्नुहुन्छ ?
पछिल्लो घटनाक्रममा मात्र होइन राष्ट्रपतिले आफ्नो पदीय मर्यादा नै राख्न सक्नु भएन । उहाँले प्रधानमन्त्रीले लगेका हरेक कुरामा सोच्दै नसोची अनुमोदन गर्ने काम गर्नुभएको छ । सरकारको नेतृत्व गर्ने केपी ओलीको पक्षमा अन्धभक्त भएर निर्णयहरू गरिरहनु भएको छ । सुविधाको पक्षमा कुरा गर्ने हो भने राष्ट्रपति एउटा सम्राट् जस्तै हुँदै जानु भएको छ । यो सबै कुराले राष्ट्रपतिको पदीय मर्यादा कायम भएको मान्न सकिँदैन । राष्ट्रपति संविधानको संरक्षक हो, गणतन्त्रको अभिभावक हो । त्यसकारणले यस्तो खालको राष्ट्रपतिको व्यवहारले पनि जनतामा अझ बढी निराशा बढाएको छ । राष्ट्रपतिले नेकपाको त्यो पनि अझ ओली गुटको कार्यकर्ताको रूपमा काम गरिरहनु भएको छ । यसले नेपालको संवैधानिक व्यवस्थालाई कुल्चने र प्रहार गर्ने काम गरिरहेको छ ।

जनताको नजरबाट वर्तमान सरकारस“ग के अपेक्षा गर्ने ?
कोभिडको महामारीमा जनता छन् । सरकार टुलुटुलु हेरिरहेको छ । सरकारले उपचार गर्न पनि सक्दैन भन्छ । भोकालाई खान पनि दिन सक्दैन भन्छ । कोही उदार मन भएकाहरूले हामी खुवाउँछौं भन्दा पनि सहरको सुन्दरता बिग्रिन्छ नखुवाऊ भन्छ । सरकारले कुनै पनि किसिमले जनतालाई केही दिन त सकेको छैन । तै पनि हामीले केपी ओलीको नेतृत्वमा सरकार छ भनेर मानिदिनुपर्ने अवस्था छ । महँगी, कालोबजारी साथै जनताका अनेक खालका समस्याहरू ज्यूँ का त्यूँ छन् । विकास प्रक्रियाहरू पनि अघि बढ्न सकेका छैनन् ।

नयाँ योजनाहरू केही आउन सकेको छैन । भविष्यलाई आशावादी बनाउने खालको केही काम हुन सकेको छैन । रोजगारी गरिरहेकाहरूको रोजगारी खोसिएको छ । विदेशबाट बेरोजगार भएर आएकाहरूले रोजगारी प्राप्त गर्न सकेका छैनन् । कृषिलगायत अन्य क्षेत्रमा युवाहरूलाई सरकारले आकर्षित गर्न सकेको छैन । विदेशमा रहेका नेपालीहरू नेपाल आउँदा नियमित रूपमा आउने बेलाको भन्दा तेब्बर बढी भाडा बुझाएर आउनु परेको छ । सरकार अहिले नाफा गर्ने व्यवसायी अर्थात् कर्पोरेट हाउस जस्तो भयो । यो सरकार नाफाखोरी र बिचौलियाहरूलाई मात्रै संरक्षण गर्नमा लागिपरेको छ । र त्यसबाट कमिसन खाने खेलमा व्यस्त छ । सरकार जनतासँग करमात्रै लिने र जनताप्रति कुनै दायित्व निर्वाह नगर्ने अवस्थामा छ । एक जना जनताको तहबाट हेर्ने हो भने सरकार जनताप्रति एकदमै उत्तरदायी छैन ।

अब कांग्रेसले के गर्छ ?
कांग्रेसले धेरै पहिलादेखि नै सडक आन्दोलन गर्नुपर्ने थियो । एउटा गुटको समस्याले गर्दा पनि हुन सकिरहेको थिएन । २९ गतेको विरोध सभापछि कांग्रेसको नेतृत्व त एकदमै उत्साहित हुनुपर्ने हो । त्यो विरोध सभामा कांग्रेसले अपेक्षा गरेको भन्दा धेरै जनसहभागिता पायौं । म गएको कञ्चनपुरमा पनि पाँच हजारभन्दा बढीको जनसहभागिता थियो । लामो समयको तयारी नै नभएको अवस्थामा पनि त्यत्रो जनसहभागिता जुट्नुले जनता कांग्रेस सडकमा आएर दबाबमूलक कार्यक्रम गरिदियोस् भनेर चाहन्छन् भन्ने कुरा हामीले बुझ्नुपर्ने हो । अब नेपाली कांग्रेसले निरन्तर रूपमा सडक आन्दोलनको कार्यक्रम अघि बढाउनु पर्छ ।

निरन्तर सडक संघर्षका लागि कांग्रेसको नेतृत्व तयार छ त ?
हामीले धेरै पख्र्याैं । सरकार सच्चिने, सुध्रिनेभन्दा पनि आफू विरोधीहरूलाई लक्षित गरेर प्रहार गर्ने काममा छ । सरकारको डन्डा हामीतिर सोझिने गरेको छ । त्यसैले २९ गतेको कार्यक्रम पछि अब त हाम्रो नेतृत्व पनि तयार हुन्छ होला । २९ गतेको कार्यक्रमले कांग्रेस उत्साहित भएको छ । सरकार एकपछि अर्को गल्ती गर्दै गएको छ । सडकमा जानुपर्छ भन्ने कांग्रेसलाई धेरै ठूलो दबाब छ । त्यसैले कांग्रेसले आफ्नो अधिवेशनको तयारी सँगसँगै सडकमा विपक्षीको भूमिका पनि प्रभावकारी बनाउने तरिकाले अघि बढ्नुपर्छ । साथै कांग्रेसले संसद् बैठक बोलाउन माग गर्ने, सडकमा जाने र महाधिवेशनको काम पनि सँगसँगै अघि बढाउन जरुरी छ ।

कांग्रेस सरकारकै सहयोगी दल हो भन्ने आरोप पनि छ नि ?

सडक संघर्षमा जानुपर्छ भन्ने विषयमा पहिलादेखि नै कांग्रेसमा छलफल भएको हो । कतिले तत्काल जाने भन्ने कुरा गरे भने कतिले कोभिङको समयमा जान गाह्रो हुने तर्क गर्दै आएका थिए । कोभिडको प्रभाव लामो समयसम्म भयो अब टुलुटुलु बसेर हेर्न सक्ने अवस्था छैन । सरकारले गल्ती गर्दै गयो, हुँदाहुँदा त गणतन्त्रकै बदनाम गर्ने अवस्थामा आइपुग्यो । लोकतन्त्र नै समाप्त हुने खतरा बढेर गएकाले हामी सडकमा आएका हौं ।

तनहुँको दमौलीमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको अपमानले पनि सडक संघर्षमा आउन मलजल गर्‍यो । पौडेल कांग्रेसको वरिष्ठ नेता हुनुहुन्छ, उहाँमाथि प्रहार हुँदा कांग्रेसले टुलुटुलु बसेर हेर्‍यो भन्ने प्रश्न आउन सक्थ्यो । रामचन्द्र पौडेल आफैंमा लोकतन्त्रको नायक हो । लोकतन्त्र प्राप्तिको लागि उहाँले लामो संघर्ष गर्नु पनि भएको छ । त्यस्तो व्यक्तिलाई प्रहरी प्रशासन लगाएर नेकपाको सरकारले घोर अपमान गर्‍यो । टाउकोमा लाठीले हान्यो । त्यसले गर्दा पनि कांग्रेसमा सरकारविरुद्ध आन्दोलन गर्नुपर्छ भन्ने भावना जागृत गर्‍यो ।

अर्को कुरा कांग्रेस सरकारको सहयोगी दल भन्ने आरोप लाग्छ । यो कुरा हामीले बुझाउन सकिरहेका छैनौं । नियुक्ति दुई किसिमको हुन्छ । एउटा राजनीतिक र अर्को संवैधानिक । राजनीतिक नियुक्ति सरकारले गर्ने हो । यसमा आफू अनुकूलको नियुक्ति गर्न सक्छ । राजनीतिक नियुक्तिमा हामीले भागबन्डा गर्नुपर्छ भनेको होइन । यसमा कांग्रेसलाई बलजफ्ती जोड्ने काम गरिएको छ ।

जहाँसम्म संवैधानिक नियुक्तिको कुरा छ । निर्वाचन आयोगमा नेकपाको सदस्य लान पाइन्छ ? अख्तियारमा ओली गुटको मान्छे लान पाइन्छ ? त्यसले निष्पक्ष काम गर्न सक्छ ? यस्ता कुरालाई चेक एन्ड ब्यालेन्स गर्नका लागि नियुक्तिमा कांग्रेसले अडान लिएकै हो । तर यी कुराहरू बुझाउन हामीले सकेका छैनौं ।

किन बुझाउन नसकेको त कांग्रेसले ?
हामी बीचमा रणनीति नै मिलेको छैन । हाम्रा सभापतिले प्रधानमन्त्रीलाई भेट्नु हुन्छ । उहाँले हामीलाई भनेअनुसार कोभिडको बेला सरकारको नेतृत्व प्रभावकारी भएन भनेर आएँ, हरेक परिवारका एक जनालाई परीक्षण गर्नुपर्छ भनेर आएँ, उद्योगीलाई राहत दिनुपर्छ, गरिब विपन्न सबैलाई राहत दिनुपर्छ भनेर आएँ भनेर हामीलाई बताउनुहुन्छ । तर त्यो कुरा सभापतिले मिडियामा पनि भन्न जरुरी छ ।

सभापतिले भेटेपछि मिडियामा वा पार्टीले सभापतिको प्रधानमन्त्रीसँगको भेटवार्तामा यो यो कुरा भयो भनेर स्टेटमेन्ट दिनुपर्ने थियो, त्यो कुरा पार्टीले गर्न सकिरहेको छैन । अर्को कुरा संवैधानिक नियुक्तिमा कांग्रेसलाई नियुक्त गर भनेर पनि भनेको होइन । त्यहाँ कांग्रेस, नेकपा भनेर लानु हुँदैन । त्यहाँ विज्ञहरूलाई लानु पर्छ ।

कांग्रेसको आन्दोलनको लक्ष्य के हो ?
अहिलेको सरकार झन्डै दुई तिहाइको छ । सातमध्ये ६ वटा प्रदेशमा सरकार उसैको छ । तर उसले काम गर्न सकिरहेको छैन । नियुक्तिहरूमा पनि उसकै बोलबाला छ । यही संयन्त्रले आउँदो चुनावमा फेरि जित्ने रणनीतिमा नेकपा रहेको छ । अहिलेको लडाइँ जनताका लागिभन्दा पनि नेकपाका नेताहरूका लागि मात्रै केन्द्रित छ । त्यसैले जनतामा निराशा छाएको बेला विगतको कांग्रेस सच्चिएर आएको छ । जनताको एजेन्डामा साथ दिएको छ भनेर जनतालाई बुझाउने र आउँदो चुनावमा कांग्रेस पहिलो शक्ति बनाउने अभियानको सुरुआत हो । त्यही लक्ष्यका साथ हामी अघि बढेका छौं ।

कांग्रेस र राजावादीको अहिलेको आन्दोलनको स्वार्थ उस्तैउस्तै हो भनेर सरकारकै मन्त्रीबाट पनि टिप्पणी आयो ?
बरु म ती मन्त्रीलाई के प्रतिउत्तर दिन चाहन्छु भने ‘यो सरकार नै राजावादीहरूको सरकार हो । यसको शैली र व्यवहार हिजोका ज्ञानेन्द्रको भन्दा कुनै फरक छैन । त्यसैले ती मन्त्री नयाँ सम्राट् केपी शर्मा ओलीको हो । तपाईंहरू गणतन्त्रलाई नै टिकाउन चाहनुहुन्न । त्यसकारण तपाईहरूले जनताको पक्षमा काम गरिरहनु भएको छैन ।’

त्यसैले तपाईंहरूले मनपरि गरेको कांग्रेस आँखामा मोती बिन्दु लागेको जसरी टुलुटुलु बसेर हेर्न सक्दैन । आफ्नो विरोध सहन नसक्ने ज्ञानेन्द्रवादी हुन्छ कि लोकतन्त्रवादी हुन्छ म प्रश्न गर्न चाहन्छु । सरकारले गल्ती गर्‍यो भनेर भन्दा हामीलाई राजासँग ल्याएर जोडिदिने ? म त अझ भन्न चाहन्छु अहिलेको नेतृत्व, सोँच र कार्यशैलीका हिसाबले तपाईंहरू नै राजावादी हो ।

यो सरकारको प्रधानमन्त्री नै राजावादी हो । यिनै केपी ओलीले २०६२–०६३ को आन्दोलनलाई गिज्याउँदै भनेको होइन, ‘बयल गाडामा चढेर अमेरिका पुगिँदैन’ भनेर । त्यसैले उहाँहरूले संघीयता पनि कार्यान्वयन गर्नु भएको छैन, न गणतन्त्रलाई लोकप्रिय बनाउन लाग्नुभएको छ, न संविधान कार्यान्वयनमा इमानदार भएर लाग्नुभएको छ ।

वर्तमान सरकारले संविधानमाथि प्रहार गरेको छ भने लोकतान्त्रिक मूल्य, मान्यतालाई निरन्तर प्रहार गर्दै गएको छ । एकदम निरंकुश शासकजस्तो व्यवहार गर्नुभएको छ । जनतालाई एकदमै अपमान गर्नु भएको छ । त्यसकारण यो सरकारका मानिसहरू राजावादी हुन् । नेकपाभित्र पनि कोही जनवादी छन्, कोही राजावादी छन् । अहिले सरकारको नेतृत्व गर्नेहरू राजावादी हुन् भने नेकपाकै बाहिर रहेकाहरू जनवादी हुन् । नेकपाभित्र अहिलेको लडाइँ भनेको राजावादी र जनवादीबीचमा हो । हामी नेपाली कांग्रेस यी दुवै कित्तामा छैनौं । हामी लोकतन्त्रवादी हौं ।

प्रस्तुती मुक्तिबाबु रेग्मी