देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा सहभागितामूलक लोकतन्त्रको आवश्यकता छ

देशान्तर

मिलन पाण्डे, संयोजक, विवेकशील साझा पार्टी

तपाईंहरूको पार्टी एकता किन र केका लागि ?

लामो समयदेखि सरकार र प्रमुख राजनीतिक दलहरूको गतिविधि देखिरहनु भएको छ । यसबाट तपाईँ प्रत्येक दिन निराश हुने जुन एउटा अवस्था बनेको छ । त्यसलाई चिर्दै एउटा आशाको किरण छरौं भनेर नै हो । एकीकरणसँगै अब यो देशको राजनीतिक प्रमुख मुद्दाहरू के के हुन् भनेर बहस चलाउन चाहन्छौं । यो व्यवस्था जुन राजनीतिक कुसंस्कार छ यसको दलदलमा हामी धेरै नै फसिसक्यौं । अब त्यसलाई उकासेर नेपालको राजनीतिलाई शिक्षा, स्वास्थ्य, सुशासन, सुरक्षा हाम्रो संस्कृति सम्पदाहरूतिर लानुपर्छ र एउटा समृद्ध नेपाल बनाउनका लागि राष्ट्रिय बहसमा ल्याउनुपर्छ भनेर नै एक भएका हौं ।

तपाईहरू पहिला पनि हुनुहुन्थ्यो त ? केही गर्नलाई संख्या नै चाहिने रहेछ ?

हामीले दुईवटा दल रहेर फरकफरक ठाउँबाट प्रयास गर्नुभन्दा एकै ठाउँमा आएर दुई वटा पार्टी तथा शक्तिलाई एकीकृत गर्दा त्यसले दिने म्यासेज लिएर आउने परिवर्तन अलि फरक हुन्छ । जस्तै तपाईं हामी सानो छँदा देखेका थियौं नि ‘आई ग्लासबाट सूर्यको किरणलाई एकीकृत गरेर कागज जलाउने प्रयोग गथ्र्यौ ।’ हो त्यस्तै हो । दुईवटा पार्टी मिलेर काम गर्दा बढी ऊर्जा आउँछ भनेर नै हो । दुई वटा संगठनको राम्रो राम्रो गुण र अनुभवलाई एकै ठाउँमा राखेर काम गर्दा समाजलाई पनि फाइदा गर्छ । त्यसैले नै हामी एकै ठाउँमा आयौं ।

तर, सबैलाई समेट्न त सक्नु भएन ?

अधिकांश साथीहरू समेटिनु भएको छ । केही साथीहरूले यो प्रोसेसमा सहभागी नभई बाहिर बसेर सहयोग गर्छौं पनि भन्नु भएको छ । सबैभन्दा राम्रो कुरा के हो भने विवेकशील नेपाली दलको कुरा गर्नुहुन्छ भने हामीले विधानमा लेखेको विधि पद्धति मानेर सदस्य तहसम्म पुगेर भोटिङमार्फत सबै सदस्यहरूले कुनै पनि विरोध नगरेर प्रक्रियागतरूपमा हामी एकतामा गयौं । आफूले गरेको भोटिङको नतिजा मान्दिन भन्छ भने त त्यो उहाँको व्यक्तिगत स्वतन्त्रता र उहाँकै प्रश्न भयो । त्यो बाहेक संगठनका अधिकांश साथीहरूले मान्नु भएको छ । नेपाली राजनीतिमा दुई चार जना नेता गएर हस्ताक्षर गरी पार्टी एकीकरण गर्ने प्रचलन छ त्यसलाई तोड्दै सदस्यहरूको मतबाट एकीकरणका लागि हामीले स्वीकृति लिएका छौं । यो राम्रो पक्ष हो भन्ने हामीलाई लागेको छ । केही छुट्नु भएका साथीहरू पनि चाँडै हामीसँग जोडिनुहुन्छ ।

कहिलेसम्म समेट्नुहुन्छ उहाँहरुलाई ?

उहाँहरू छिट्टै समेटिनुहुन्छ जस्तो लाग्छ । आगामी निर्वाचन अघि त हामी सबै एकै ठाउँमा हुनुपर्छ र हुन्छौं पनि । हाम्रो अहिले विवेकशील साझा पार्टीको ६ महिनाभित्र महाधिवेशन गर्ने भनिएको छ । त्यो महाधिवेशन अगाडि नै हामीले समेट्ने प्रयास गर्छौं ।

तपाईहरूको पार्टीले अंगीकार गर्ने दर्शन के हो ?

हामीले कल्याणकारी लोकतन्त्र भनेका छौं । सहभागितामूलक लोकतन्त्रको जगमा कल्याणकारी लोकतन्त्रको अभ्यास गर्ने भनेका छौं । लोकतन्त्र आफैंमा दर्शन हो । राजनीतिक दलहरूले लोकतन्त्रलाई राम्रोसँग अभ्यास गर्न नसकेको भएर अहिले समस्या आइरहेको हो । अहिलेसम्म हामीले अभ्यास गरेको लोकतन्त्र भनेको प्रतिनिधिमूलक लोकतन्त्र हो । त्यो भनेको नेता तथा पार्टीहरू उठ्छन् एउटा एजेन्डामा भोट माग्छन् त्यसबाट सत्तामा पुगेर डेलिभर गर्नुपर्ने जुन एजेन्डा हो त्यो बिर्सिरहेका छन् । अझ भनौं गरिरहेका छैनन् ।

हामीले के भनेका हौं भने प्रतिनिधिमूलक लोकतन्त्रले मात्रै यो देशमा पुग्दैन । हामीले अब सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्नुपर्छ । हामीले नीति निर्णयहरू गर्दा आम नागरिकहरूलाई सहभागी गराउनु पर्छ । जस्तै संसद्मा अहिले विभिन्न बिलहरू पास हुन्छन् । मिडियाको बिल पास गर्दा मिडियाका साथीहरूसँग छलफल गर्नु पर्दैन । उहाँहरूको सहभागिता चाहिँदैन । यसैगरी कृषिसम्बन्धी बिल पास गर्दा किसानसँग कृषि क्षेत्रका जानकारहरूसँग छलफल गर्नुपर्छ ।

हामीले सरोकार पक्ष सबैलाई सहभागी गराएर निरन्तरको छलफल बहसबाट निष्कर्ष निकाल्ने प्रणालीलाई हामी अभ्यास गर्छौं अंंगीकार गर्छौं भनेर भनेका छौं ।

नेपाली राजनीतिमा सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्छौं भन्दा पत्याउँलान त ?

यो एक्कासि पत्याउने कुरा पनि होइन । आजको भोलि हुने कुरा पनि होइन । किनभने यो संस्कारमा परिवर्तन आउनु पर्‍यो । अहिले विवेकशील नेपाली दलले आठ वर्षदेखि सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्दै आइरहेको छ । संगठन सानो भएर कम ठाउँमा अभ्यास गर्न सफल भएको होला । हामी त सफल नै भएका छौं । राम्रोसँग हामीले काम पनि गरिरहेका छौं । कल्याणकारी लोकतन्त्रको कुरा गरेका छौं । शिक्षा स्वास्थ्यमा राज्यको दायित्व हुनुपर्छ भनेर भनेका छौं । भोलिको दिनमा हामी संसद्मा पुग्यौं भने त्यो बिलहरू लिएर आउँछौं । सरकारमा पुग्दा हामीले त्यो डेलिभर गर्छौं । अहिले भएको छैन, हामी यसको वकालत गर्छौं । देशभरि बहस चलाउँछौं । यही बहसको मार्फत हामी भोलिको दिनमा डेलिभर गर्ने ठाउँमा पुग्छौं ।

अब तपाईँहरुको लक्ष्य के हो, वैकल्पिक शक्ति ?

हामीले दुई तीन वटा काम गर्नु पर्नेछ । पहिलो काम भनेको आन्तरिक व्यवस्थापन महत्वपूर्ण छ । हाम्रो नीति विधानहरू बनाउने काम छ । एउटा टिमले त्यो काम गर्छ । कोभिडको कारणले अलिकति गाह्रो पनि भइरहेको छ । तर पनि निरन्तर पब्लिक कहाँ जाने र काठमाडौं छोड्ने अभियानमा हामी लाग्छौं । त्यसका लागि एउटा टिम परिचालन गर्छौं । त्यो टिमले देशव्यापीरूपमा आम नागरिकसँग छलफल संवाद गर्दै अघि बढ्छ । त्यो भनेको संगठन निर्माण पनि हो ।
अर्को एउटा टिमले आगामी निर्वाचनको तयारी गर्छ । अघिल्लो निर्वाचनमा हाम्रा १ सय ५६ जना उम्मेदवारहरू हुनुहुन्थ्यो । उहाँहरू कहाँ के गरिरहनु भएको छ, कसरी काम गरिरहनु भएको छ, आफ्नो निर्वाचन क्षेत्रमा के गरिरहनु भएको छ, उहाँहरूलाई निरन्तर प्रशिक्षण दिने र आगामी निर्वाचनको लागि उम्मेदवारहरू तयार गर्ने खडा गर्ने उहाँलाई प्रशिक्षण दिने र घोषणापत्र बनाउने काममा सहयोग गर्ने काम गर्छौं । समग्रमा भन्नुपर्दा हाम्रो तीन वटा टिमले आआफ्नो तरिकाले पार्टीका लागि काम गर्छ । हाम्रो टिम पनि ठूलो छ सबै काम सँगसँगै अघि बढ्छ ।

विगतमा पनि एकीकरण भएकै हो, पछि फुट्नुभयो, अहिले जोडिनु भएको छ ? फेरि त्यो अवस्था आउँछ कि आउँदैन ?

विगतकै कारणले त फुट्ने अवस्था आउँदै आउँदैन यो मेरो ग्यारेन्टी नै हो । यो बीचको दुई वर्ष अलगअलग रहेर अभ्यास गर्दा पार गरेका विभिन्न चरणहरूलाई समेट्दै व्यवहारतः परिवर्तन गर्छौं भनेर हामी एकीकृत भएका छौं ।

विगतमा कार्यशैलीकै कारण पार्टी फुटेको हो नि ?

अहिले हामी कार्यशैली परिवर्तन गरेर एक ठाउँमा आएका छौं । त्यतिबेला रापताप सबै थियो । केही साथीहरूले नयाँ दल साझा खोल्नु भएको थियो । विवेकशीललाई पनि हामी यतिका वर्षदेखि राजनीति गरिरहेका छौं हामीलाई सिकाउने भन्ने थियो । त्यही रापतापको विषयमा हामी अलगअलग भएपछि देख्यौं सिक्यौं र फेरि अब कार्यशैली सुधार गर्दै एक भएका छौं । हामीले बल्ड्याङ खाएपछि चेत्यौं । साइकल, मोटरसाइकल सिक्दा एक दुई पटक लडेपछि सिकिने रहेछ । त्यसैगरी राजनीतिमा पनि यो लागू हुन्छ । हामीले यो बीचमा चेत्यौं र सिक्यौं पनि । अब निरन्तररूपमा निकै सजग रहेर एकअर्काको सेन्टिमेन्टलाई बुझेर साथीहरूलाई इन्गेज राख्ने गरी अघि बढ्छौं ।

तपाईंहरूले विवेकशील साझा भनेर किन पुरानै नाम रोज्नु भयो, कतै फेरि अंशबन्डा गर्न सजिलो होस् भनेर हो ?

(हाँस्दै) रोचक प्रश्न राख्नुभयो । यो त मैले सोचेको पनि थिइनँ । पहिला पनि यही नाम थियो । यही नाम अहिले राख्दा साथीहरूको सेन्टिमेन्ट क्याच गर्न सकिन्छ भन्ने नै हो । नयाँ पार्टी भएकाले नामलाई स्ट्यावलिस गर्न समय लाग्ने भएकाले यो नामलाई नै निरन्तरता दिएका हौं । साथै दुवै पार्टीको एकीकृत भावना जगाउने भएर पनि हो । त्योबाहेक अरू कुनै पनि उद्देश्य होइन ।

नेपाली राजनीतिका मुख्य तीन शक्ति, नेकपा, कँंग्रेस र मधेसवादी दलप्रति तपाईंहरूको दृष्टिकोण के हो ?

कुनै पनि संगठनको एउटा उद्देश्य हुन्छ । त्यो उद्देश्य पूरा भएपछि कि त्यो संगठनको अस्तित्व सकिन्छ कि त त्यो संगठनले नयाँ उद्देश्य लिनुपर्छ । कांग्रेस कम्युनिस्टको एउटा उद्देश्य थियो लोकतन्त्र, गणतन्त्र र संघीयता लिएर आउने । ती उद्देश्य प्राप्त भइसकेपछि विगत ८–१० वर्षदेखि कहाँ हराए, डेलिभर गर्न सकेनन् भन्ने प्रश्नको उत्तर दिन सक्नु भएको छैन । उहाँहरूले लिएको उद्देश्य पूरा भइसकेपछि नयाँ उद्देश्य तर्जुमा गर्न सक्नु भएन । उहाँहरूले कि नयाँ उद्देश्य तर्जुमा गर्नुप¥यो होइन भने कांग्रेस नेकपाको राजनीतिक अस्तित्व सकियो । मधेसवादी दलहरूमा जसपा भन्ने दल यहाँसम्म आइपुगेको छ । आम मधेसको भावनलाई सम्बोधन गर्न सक्नु भएन । मधेसवादी दलले मधेसको एजेन्डा बोक्न सकेन । उहाँहरूले आफ्नो आफ्नो नेतृत्वको एजेन्डा बोक्नुभयो होला । तर मधेसको एजेन्डा बोक्न असफल हुन भएको छ । अहिले फेरि विभिन्न दलहरू मिलेर बनेकाले जसपालाई अनटेस्टटेड दल पनि भन्न सकिन्छ । तर त्यसको नेतृत्व हेर्नु भयो भने प्रधानमन्त्रीदेखि राज्यको विभिन्न संयन्त्रमा रहेर काम गरिसक्नु भएको छ । मधेसवादीको पनि नेतृत्व र विचार पनि पुरानै भएकाले नयाँ केही आउँछ जस्तो लाग्दैन ।

तर, राजनीतिक पकड त कांग्रेस नेकपाकै छ त, त्यसबाट तपाईंहरूसम्म ल्याउन त ठूलै चुनौती छ जस्तो लाग्दैन ?

हो, हामी कांग्रेस नेकपाको हातबाट हामीसम्म शक्ति ल्याउन समय लाग्छ । हामी त्यसका लागि तयार भएर नै पार्टी निर्माण गरेका हौं । राजनीति भनेको संस्कार पनि परिवर्तन हो । म सधैं मेरो हजुरआमाको उदाहरण दिने गर्छु । २०४३–०४४ सालतिर हलोको एक जना नेताले हजुरआमाको एक जना आफन्तलाई जागिर लगाइदिनु भएको थियो । त्यसैले अहिलेसम्म मेरो हजुरआमाले हलोको ऋण तिर्दै हुनुहुन्छ भनेको चुनावमा हलो चिन्हमा भोट हाल्दै हुनुहुन्छ । त्यसैगरी कसैले रूखलाई हान्नुपर्ने होला, कसैले सूर्यलाई हान्नुपर्ने होला । त्यसैले यसमा परिवर्तन ल्याउनका लागि केही समय पक्कै लाग्छ । एक्कासि शतप्रतिशत जनतालाई परिवर्तन गर्ने कुरा पनि सम्भव छैन । राजनीतिमा अहिले नयाँ पुस्ता जन्मँदै छ । आज त्यो नयाँ पुस्ता मतदातामा परिणत हुँदै गएपछि हामीलाई बुझ्ने जमात पनि बढ्दै जान्छ ।

तपाईंहरू सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ, सामाजिक सञ्जाल चलाएजस्तो सहज त छैन होला पार्टी चलाउन ?

पार्टी चलाउन सजिलो त हुँदैन । सामाजिक सञ्जालको विषयमा हामी टीकाटिप्पणी पनि गर्छौं । तर यसलाई मैले ‘स्मार्ट वे’ जस्तो लाग्छ । किनभने हामीले पार्टीका एकता घोषणा पनि फेसबुक लाइभमार्फत गरेका थियौं । त्यो अहिलेसम्म ७२ हजारभन्दा बढीले फेसबुक पेजमा हेर्नु भएको छ । हामीले पाँच सय जनालाई बटुलेर आमसभा गर्नु र यसरी लाइभ गरेर ७० हजारभन्दा बढीलाई भन्नु भनेको त स्मार्ट वे हो नि त । अहिले त झन् कोभिडको कुरा पनि छ ।

हो, फेसबुक ट्विटरमा तपाईंहरूलाई शुभेच्छा प्राप्त हुन्छ, तर मत हाल्दा त्यो संख्या त हुँदैन, त्यसैले तपाईंहरूलाई फेसबुके पार्टी पनि त भनिन्छ नि ?

फेसबुके भनेर आरोपभन्दा पनि प्रशंसा गरेको जस्तो लाग्छ । फेसबुक ट्विटरलाई राम्रोसँग म्यानेज गर्न सक्ने आजको दिनमा विवेकशील साझा पार्टी नै हो जस्तो लाग्छ । तपाईंको कुरामा म के सहमत छु भने फेसबुक मात्र चलाएर राजनीति हुँदैन । त्यसको लागि आम मतदाताकहाँ नै पु्ग्नुपर्छ । त्यो भनेको सामाजिक सञ्जालको प्रयोग घटाउने होइन कि, हाम्रो रिच चाई बढाउनुपर्छ । त्यसका लागि हाम्रा संरचनाहरू तयार हुँदैछन् ।

सरकारको कामका विषयमा तपाईंहरूको धारणा के हो ?

धेरै विरोध नगरौं भन्ने पनि लाग्छ । सरकारले के काम गरेको छ र समीक्षा गरौं भन्ने पानि लाग्छ । म त सरकारले कामै गरेको देख्दिनँ । सरकारको यत्रो स्रोतसाधन उपयोग गरेर बसेको दल नेकपाको सरकारले केही सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओली प्रचण्डलाई कति पेजको जवाफी दस्तावेज लेख्ने काममा व्यस्त हुनुहुन्छ । आम नागरिकको कोभिडको संख्या हटाउनका लागि कति पृष्ठको दस्तावेज लेख्नुभयो । कुन सचिवालय, स्थायी समिति कहाँ छलफल गर्नुभयो मेरो प्रश्न यहाँ हो । म त भन्छु सरकारले नागरिकका लागि कुनै काम नै गरेको छैन । मन्त्रीज्यूहरूलाई कुन बेला पद खुस्किने चिन्ता छ । प्रधानमन्त्रीलाई देशको बारेमा सोच्ने फुर्सद नै छैन । उहाँ अहिले पार्टीमा पद जोगाउने खेलमा व्यस्त हुनुहुन्छ । यो संस्कारको दोष हो । जहाँ एक जना प्रधानमन्त्रीले जनताको विषयमा सोच्नै भ्याउँदैन । प्रधानमन्त्री र मन्त्रीबाट काम भएको छैन । जति काम भएका छन् ती प्राकृतिक रूपमा भएका कामहरू हुन् ।

तपाईंले पटकपटक सिस्टम परिवर्तनको कुरा गर्नुभयो, अहिले सडकको प्रदर्शनको कुरा गरेको ?

होइन, होइन । सिस्टम परिवर्तन, संस्कारको परिवर्तन भनिरहेको छु मैले । जस्तो सरकारमा भएका व्यक्तिको काममा पार्टीले हस्तक्षेप नगर्ने कुरा संस्कारको रूपमा विकास भएको भए अहिले प्रधानमन्त्रीलाई अप्ठेरो पर्ने थिएन । हाम्रो निर्वाचन प्रणालीमा समस्या छ । हाम्रो शासन सत्ता जसरी चलाएका छौं त्यसमा समस्या छ । त्यसमा सुुधारको आवश्यकता छ । सडकको कुरा निकाली हाल्नुभयो । सडकमा युवाहरू बाइकमा कुदेको देख्छु । झन्डा बोकेको देख्छु र सोच्छु, हाम्रो देशमा शिक्षा, स्वास्थ्य र रोजगारी राम्रो भइदिएको भए के युवाहरू यसैगरी सडकमा झन्डा बोेकेर आउने थिए त ? सडकमा आउने युवाहरूको विषय अर्कै छ । जुन विषयलाई सम्बोधन गर्न नसकिएकाले यो अवस्था आएको हो ।

प्रस्तुतिः मुक्तिबाबु रेग्मी