देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आजदेखि मनकामना केबुलकार सञ्चालनमा

देशान्तर

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द रहेको नेपालको पहिलो केबुलकार मनकामना केबुलकार आज आइतबारदेखि पुनः सञ्चालनमा आएको छ । गत मंगलबार मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको स्थानीय तहसहितको सरोकारवालाको बैठकको निर्णयअनुसार मनकामना मन्दिर र बजार खोल्ने जानकारी भएपछि मनकामना केबुलकार पनि एकैसाथ सञ्चालनमा आउन लागेको हो ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै स्वास्थ्य सुरक्षाको कडा नियमहरू अपनाउँदै केबुलकार सेवा सञ्चालनमा आउन लागेको हो । जसअन्तर्गत केबुलकारको दुवै स्टेसनमा यात्रुहरूको ज्वरो मापन गरिनेछ, १०० डिग्रीभन्दा माथि ज्वरो भएका र रुघाखोकी लक्षण देखिएका यात्रुहरूलाई प्रवेश दिइने छैन ।

केबुलकार प्रवेश गर्दा अनिवार्यरूपमा मास्क लगाउनुपर्नेछ र हात सेनिटाइज गर्नुपर्नेछ । यात्रुले लाइनमा बस्दा अनिवार्य रूपमा भौतिक दूरी कायम गर्न लगाइएको चिह्न अंकित घेरामा लामबद्ध भइबस्नु पर्नेछ । केबुलकार हाताभित्र प्रवेश गर्दा स्वचालित हेन्ड सेनिटाइजर वा साबुनपानीले हात धुनु पर्नेछ । स्टेसन हाताभित्र भीडभाड नगर्ने तथा पिकनिक र वनभोजलाई अस्थायी रूपमा बन्द गरिएको छ ।

केबुलकार सेवा क्षमताको ५० प्रतिशत (प्रतिघण्टा ३३० जना) यात्रुलाई सेवा दिइने र तत्पश्चात् स्वतः प्रवेश बन्द गरिने हुँदा यात्रुहरूले सोहीअनुसार आफ्नो यात्रा तय गर्नु पर्नेछ ।

बली दिने प्रयोजनको लागि पशुपन्छी ढुवानी गर्ने सेवा अस्थायी रूपमा बन्द गरिएको छ । संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगदरहित कारोबारको लागि ई–सेवा, फोन–पे आदिजस्ता सेवा प्रदायक कम्पनीसँग सम्झौता गरिसकेको हुँदा यात्रुले केबुलकारको टिकट डिजिटल माध्यमबाटै खरिद गर्न सक्नेछन् । त्यसैगरी, आफ्नो जनशक्तिलाई फेस सिल्ड, मास्कलगायतको स्वास्थ्य सुरक्षाको समेत प्रबन्ध गरेको छ ।

केबुलकार सेवा सामान्यतया बिहान ९ बजेदेखि साँझ ५ बजेसम्ममात्र सञ्चालनमा आउनेछ । साथै, केबुलकार र परिसरलाई दैनिक रूपमा डिसइन्फेक्सन समेत गरिनेछ । त्यसैगरी, मनकामना केबुलकारले तल्लो स्टेसनमा सञ्चालन गरेको रेस्टुरेन्ट पनि आगामी पुस ३ गते शुक्रबारदेखि सञ्चालनमा आउने सञ्चालक राजेशबाबु श्रेष्ठले जानकारी दिएका छन् ।