January 21, 2021, Thursday
२०७७ माघ ८
ताजा अपडेट

आफ्नो जीवन आफ्नै लय अर्थात् जगतमर्दन थापा

  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

जगतमर्दन थापा

उनले बाल्यकालमै सैनिक तालिम लिए, बन्दुक चलाउन सिके, तर साहित्य–संगीतको सागरमा पौडी खेल्न कुदे । जागिर खान उनलाई पटक्कै मन थिएन, तर जीवनको महत्वपूर्ण समय (३७ वर्ष) सरकारी सेवामा बिताए । अन्ततः उनी एउटा इमानदार राष्ट्रसेवक र समर्पित गायकको रूपमा स्थापित भए । उनी, अर्थात् जगतमर्दन थापा ।

उमेर झन्नै ८४ वर्ष हुँदा पनि जगतमर्दनका हातका औंला हार्मोनियमको किबोर्डमा फूर्तिसाथ नाचिरहेका छन् । उनको गायन एकनासले आफ्नै लयमा चलिरहेको छ । रहरैरहरले यस क्षेत्रमा लागेका उनी संगीतको ज्ञानका लागि प्रतिष्ठित संगीत प्रवीण नरराज ढकालकहाँ पुगे भने आफ्नो ज्ञान अझै अधुरो रहेको महसुस गरी अस्तिसम्म नरराजका सुपुत्र बहुचर्चित संगीतज्ञ प्रभुराज ढकालकहाँ धाए । बीचमा मुम्बईमा रंगनाथ कादम्बरीसँग प्रशिक्षण लिए । गीतका चार वटा एल्बम जारी गरिसके । म्युजिक भिडियोमा नाचिसके । अब फेरि अर्को एल्बम । त्यसपछि सायद फेरि अर्को… । यस्तो लाग्छ, उनको तृष्णा कहिल्यै मेटिने छैन, उनी कहिल्यै थाक्ने छैनन् ।

Advertisement

राणाशासनकालमा काठमाडौंको नक्सालमा १० रोपनी जग्गाभित्र घर बनाएर सौखले बसेका गजमर्दन थापाको घरजग्गा वीरशमशेरलाई मन परेकाले तत्कालीन सरकारले कब्जा ग¥यो । राज्यको यो जोरजबर्जस्तीबाट विरक्तिएर उनी वनारसतिर लागे । चन्द्रशमशेर प्रधानमन्त्री भएपछि उनको परिवारले केही राहत पायो । गजमर्दनका छोरा नरमर्दन इन्जिनियर बने । इन्जिनियर बनेर फर्किनासाथ ‘दाम’ राख्न जाँदा चन्द्रशमशेरले भने, “ल, आजदेखि तिमी लप्टन भयौं ।” आवश्यक तालिम लिएर लेप्टिनेन्टको जिम्मेवारी सम्हाल्नासाथ उनलाई प्रथम विश्वयुद्धमा ब्रिटिस सेनाकोतर्फबाट लड्न अफगानिस्तानको मोर्चामा खटाइयो भने दोस्रो विश्वयुद्धमा देहरादुन रेन्जमा पठाइए । सरकारले देश विकासको कामलाई अघि बढाउने भन्दै महत्वाकांक्षी आयोजना ‘चन्द्रनहर’ निर्माण गर्ने निर्णय गरेपश्चात् नरमर्दन इन्जिनियरको हैसियतले सप्तरी पुगे । उनको कार्यकुशलता र इमानदारी देखेर पद्मशमशेरले सिरहा–सप्तरीको बडाहाकिम बनाइदिए । राणा शासनको अन्त्य पछि प्रजातान्त्रिक सरकारले जागिर खोस्ने हो कि भनेर चिन्तामा परेका उनलाई बीपी कोइरालाले ‘तपाईंजस्ता क्षमतावान् र अनुभवी मानिसको प्रजातन्त्रमा झन् बढी आवश्यकता हुन्छ’ भन्दै पदोन्नति गरेर महासेनानी बनाइदिए । तिनै नरमर्दनका छोरा हुन् जगतमर्दन ।

काठमाडौंको रैथाने परिवार भए पनि जगतमर्दनको जन्म सप्तरीको बरमझियामा भएको हो, पिताको कार्यक्षेत्र त्यता भएका कारणले । उनको बाल्यकाल (पछि केही समय जागिरे जीवन पनि) त्यही भेगमा बित्यो । आफ्नो विगत सम्झिँदै उनी भन्छन्, “त्यहाँ हामी खाली खुट्टा नै स्कुल जान्थ्यौं । खुट्टामा काँडा बिझ्नु, ढुंगाले घोच्नु, सिसाले काट्नु सामान्य थियो । पछि १४ वर्षको उमेरमा काठमाडौं आएपछि मात्र मैले जुत्ता देखेको हो ।” उनी गीतसंगीतर्फ बाल्यकालदेखि नै आकर्षित भए । कतै सांस्कृतिक–साहित्यिक कार्यक्रम भयो कि दौडिहाल्थे र कार्यक्रममा सहभागी हुन खोज्थे । पुस्तकालयमा बसेर कथा–कविताका पुस्तक र म्यागजिन पढ्थे । पुस्तकालय सञ्चालक समितिमा बसेमा बढी समयसम्म पुस्तक पढ्न पाइने भएकाले उनले त्यो जिम्मेदारी पनि लिए । विस्तारै उनी रेडियो नेपालतिर धाउन थाले । रेडियोमा आफ्नै स्वरका बोल्ने रहरले उनी बाल र महिला कार्यक्रममा भाग लिन थाले । एउटा रचनाको १० रूपैयाँको दरले पारिश्रमिक पनि आउन थाल्यो । अनि त्यहीँ संगीतको प्रशिक्षण लिने संकल्प गरी नरराज ढकालसँग रागहरू अलाप्न सुरु गरे ।

उनलाई आफ्नो स्वरमा गीत रेकर्ड गर्ने इच्छा जाग्यो । त्यसबेला नेपालमा गीत रेकर्ड गर्ने सुविधा थिएन । यसकालागि कलकत्ता वा मुम्बई जानु पथ्र्यो । २०१८ सालमा उनी एकजना छिमेकी भारतीयका छोराछोरीलाई ट्युसन पढाएर जम्मा गरेको र आमाले दिएको सीमित पैसा बोकेर कलकत्तातिर लागे । त्यहाँ उनले प्रसिद्ध रेकर्डिङ कम्पनी ‘हिज मास्टर भ्वाइस’मा दुईवटा गीत घन्काए– “मायाँ लुकाई लुक्दैन, घुसघुसे बानीमा…” र “कोइलीले सम्झिदियो…।” यो गीतको रचना पनि थापा स्वयंले गरेका हुन् । यसरी प्रारम्भ भएको सांगीतिक यात्रा अझै जारी छ ।

थापाले आफ्नो कलालाई व्यावसायिक रूपमा अघि बढाउन भन्दा सौखमा सीमित गर्न चाहे । यस्तो सौख र पारिवारिक परिवेशबीच सन्तुलन मिल्न सकेन भने धर्मसंकट वा अवरोध उत्पन्न हुनु स्वाभाविक हो । जगतमर्दनको प्रसंगमा पनि यस्तै भयो । ठूलो परिवार । पिताजीको अवकाशपछि उनले जागिर खानैपर्ने अवस्था आयो । उनले यूएसएडअन्तर्गतको आकर्षक तलब भएको एउटा प्रोजेक्टमा काम पाउने पक्का थियो । तर त्यसमा काम गर्दा राजधानी बाहिर जानुपर्ने र आफ्नो संगीत–साधना अवरुद्ध हुने भएकाले त्यो छाडी दिए । अन्ततः पारिवारिक शुभेच्छु परीक्षितनरसिंह राणाले आफू अध्यक्ष रहेको सञ्चय कोषमा प्रतिमहिना १२० रु. तलब आउने खरिदार पदमा नियुक्त गरिदिए । त्यहाँ वर्षको दुईदिन बिदा हुन्थ्यो– दसंैको टीका र भाइटीकाको दिन मात्र । ती दिन सम्झिँदै जगतमर्दन भन्छन्– “म बिहान साढे ८ बजे नै त्यहाँ पुगेर राति ८ बजेसम्म काम गर्थें । ओभर टाइम बापत दिनको ७५ पैसा आउथ्यो । त्यो पैसाले खाजा खान्थ्यौं । त्यसबेला मैले पैसाको महत्व थाहा पाएँ ।” उनलाई त्यसबेला मद्यपानमा रुचि थिएन । मदिराप्रेमी साथीहरू उनलाई आफ्नो ग्याङमा ल्याउन कोकाकोलामा सुटुक्क ह्विस्की मिसाइदिएर पिलाउथे, यो विशेष प्रकारको स्वाद भएको अमेरिकाको सक्कली कोक हो भन्दै ।



२०२७ सालमा उनी फड्को मारेर खरिदारबाट शाखा अधिकृत बने । लोकसेवा आयोगले ७५ पदको लागि लिएको जाँचमा साढे सात हजार प्रतिस्पर्धी थिए । जगतमर्दन त्यसमा सजिलै उत्तीर्ण भए र उद्योग–वाणिज्य मन्त्रालय पुगे । दुई वर्ष जति प्रशासकीय क्षमता देखाएपछि कृषि चुन उद्योगको परियोजना प्रमुख भएर आठ वर्ष विताए । अनि अर्थ मन्त्रालय । त्यहाँ भ्रष्टाचारले भरिएका फाइलहरूको दुर्गन्धले उनी निस्सासिए र सरुवा मागेर चिरपरिचित ठाउँ राजविराज गए । तीन वर्ष त्यहाँ हाकिमी चलाए र बढुवा खाँदै निर्माण–यातायात मन्त्रालय पुगे । पञ्चायत ढलेर भर्खर बहुदलीय प्रणाली आएको समय थियो त्यो । निर्दलीय व्यवस्थामा एकाग्र ढंगले काम गरिरहेका, राजनीतिक प्रभावबाट मुक्त गौ प्राणी, अचानक नयाँ भुँमरीमा पर्दा कहालिने समय थियो त्यो । तर जगतमर्दनले हिम्मत हारेनन् । त्यो ऊहापोह र अस्थिर वातावरणमा उनले लगातार तीन जना ‘क्रान्तिकारी’ मन्त्रीहरूको प्रत्यक्ष सामना गर्नुप¥यो, पीएको रूपमा । मार्सलजुलुम शाक्य, अशोक राई र खुमबहादुर खड्काको निजी सहायकको जिम्मेदारी कुशलतासाथ निभाए । त्यस्तो जटिल र अपजसे कामबाट उम्किने प्रयत्न गरे, तर उक्त कर्मको लागि उनीभन्दा उपयुक्त पात्र सो मन्त्रालयमा कोही नभेटिएपछि उनी यो चुनौती स्वीकार्न तयार भए । उनको इमानदारी र विनयशीलताले कांग्रेस–कम्युनिस्ट सबै प्रभावित भए । निर्माण यातायात मन्त्रालयमा ठेकेदारहरूको पहिलेदेखि नै रजाई चलेपनि बहुदलीय व्यवस्थाका मन्त्रीसित सम्बन्ध गास्न उनीहरुले नसकिरहेको बेला कतिपय बेरोजगार राजनीतिक कार्यकर्ताहरु ठेकेदारहरुको दलाल बनेर जिविका चलाउने क्रम तीव्र भएकोबेलामा कार्यकर्ताहरु ठेकेदारको काम मिलाइदिन मन्त्रालय आई मन्त्रीलाई भ्रममा पारी फाइल सदर गराउन खोज्दा जगतमर्दन मन्त्रीलाई उक्त फाइलको वास्तविकता बताएर मन्त्रीलाई बदनाम हुनबाट जोगाउने कोशिश गर्दथे । तर यसो गर्दा एमाले मन्त्री राईको कार्यकालमा ‘जगेडा’मा फालिएको अप्रिय घटना चाहिँ उनले बिर्सेका छैनन् । तर लगत्तै खुमबहादुर खड्काले उद्धार गरिदिए । अन्यथा ‘जगेडामा परेर अवकाश पाएको’ भन्ने वात लागेर अपमानपूर्वक घर फर्किनु पथ्र्यो । आफू कांग्रेसी नभए पनि खड्काले गरेको न्यायपूर्ण र सहृदयी व्यवहारको उनले आत्मकथामा समेत वर्णन गरेका छन् । लामो सरकारी जागिरे जीवन कुनै दाग र बात नलागी गुजार्न सक्नु कुनै पनि कर्मचारीको लागि महत्वपूर्ण उपलब्धि हो । थापाले नैतिकता र कर्तव्यप्रतिको निष्ठा, निस्वार्थता तथा सबैप्रति विनम्र व्यवहारले गर्दा सहजै यो उपलब्धि हासिल गरे ।



जागिरे जीवनबाट विधिवत् अवकाश पाउनासाथ जगतमर्दन केही शिथिल भएको कला साधनाको तार कस्नेतिर लागे । आफ्ना अधुरा आकांक्षाहरू निर्धक्क भएर पूरा गर्न गीत–संगीतका अनुरागी छोरा मोहितमर्दन थापाले बढाएको हौसला र निर्माण गरिदिएको सुविधाजनक वातावरणले गर्दा उनी झन् जोसिए । परिवारका अन्य सदस्यहरूले पनि उनको संकल्पको दियोमा तेल थपिरहे । अनि उनी निर्धक्कसँग औपचारिक रूपमा रंगमञ्चमा पलेँटी कसेंर बसे । आराम गर्नुपर्ने यो वृद्ध वयमा थकाई नमारी लगातार आधा दर्जनसम्म गीतसंगीत प्रस्तुत गरेर वाहवाही पाए । आफ्नो गायनमा उनले नवोदित कलाकारहरूदेखि उषा मंगेशकरसम्मलाई समेटेका छन् । गायन यात्राको क्रममा उनले रत्नशमशेर थापा, सहदेव ढुंगाना, यादव खरेल, शम्भुजित बाँस्कोटा, शक्तिवल्लभ, राजु सिंह, प्रभुराज ढकाल, मदन सिंह, सुनील सिंह, शिखर सन्तोष, लोचन भट्टराई, शर्मिला बर्देवाजस्ता गीतकार, संगीतकार र गायकहरूलाई पनि समेटेका छन् । यो क्रम जारी छ । दर्जनौं गीतका अतिरिक्त जगतमर्दनले थुप्रै कथा र कविता पनि लेखेका छन् । उनको ‘पलासको फूल’ नामक कथा संग्रह धेरै पहिले प्रकाशित भइसकेको छ । पञ्चायतकालमा कविताहरूको संग्रह प्रकाशित गर्न लाग्दा, त्यसबेला कुनै पनि पुस्तक प्रकाशित गर्नु अघि लेखकले अञ्चलाधीश कार्यालयबाट सेन्सर पास गराउनु अनिवार्य भएकाले उक्त पुस्तकको प्रतिलिपि पास गराउन जाँदा राजाको प्रशंसामा एउटा पनि कविता नभएको भनी कर्मचारीले पास नगरिदिएपछि राजा महेन्द्रले पूर्व–पश्चिम राजमार्ग बनाएकोमा गुणगान गरेर एउटा कविता लेख्दै “यो कवितालाई पहिलो नम्बरमा राख्नु” भन्ने आदेशलाई शिरोपर गरेपश्चात् पुस्तक प्रकाशित गर्न पाएको यो रोचक घटना उनी सुनाउँछन् । उनले आत्मकथा ‘कर्मशील जीवन–यात्रा’ पनि प्रकाशित गरिसकेका छन् ।

एक दशकभन्दा बढी समयदेखि जगतमर्दन विधुर जीवन काटिरहेका छन् । तर आफ्नै लयमा जिउने कला र साधनाले गर्दा कहिल्यै एक्लोपन महसुस गर्नु नपरेको तथा सांगीतिक यात्राले गर्दा आफूमा झन् ऊर्जा थपिँदै गएको उनी बताउँछन् । व्यवसायी सुपुत्र मोहितमर्दन–दम्पती उनका हरेक चाहना पूरा गर्न कटिबद्ध छन् भने छोरीहरू– कविता शाह, पुष्पाञ्जली विष्ट तथा कविता जीसी अनन्त शुभेच्छाको थाली लिएर उनको पृष्ठभूमिमा उभिएका छन् ।

२०७७ साल असार ७ गते प्रकाशित देशान्तर साप्ताहिकबाट


  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares