काठमाडौं । लामो रस्साकस्सी र खिचातानी पछि अन्ततः सरकारपछि देशकै ठूलो सञ्जाल भएको संस्था नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पाएको छ । गत साता सम्पन्न महासंघको ५४ औं साधारणसभाले व्यक्ति लोकप्रिय भएपछि कुनै पनि षड्यन्त्र, गुटबन्दी र गठजोडले हराउन सक्दैन भन्ने सन्देश दिएको छ । यसपटक वरिष्ठ उपाध्यक्ष पदका लागि महासंघमा ठूलै राजनीति, षड्यन्त्र, गठजोड र खिचातानी देखियो । र, महासंघका वर्तमान अध्यक्षदेखि बहुमत पूर्वअध्यक्षहरू विपक्षी प्यानलको समर्थनमा खडा हुँदा पनि व्यक्तिगत लोकप्रियताको बलमा चन्द्रप्रसाद ढकाल वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित हुन सफल भए ।
ढकाललाई वरिष्ठ उपाध्यक्ष हुन नदिन वर्तमान अध्यक्ष शेखर गोल्छा र निवर्तमान अध्यक्ष भवानी राणा अनैतिक चलखेल गर्दै खुला रूपमा विपक्षमा उभिएका थिए । उनीहरूले किशोर प्रधानलाई वरिष्ठ उपाध्यक्षमा जिताउन निकै कसरत गरे । खुलेरै उनीहरूले ढकालको विरोध गरे प्रधानले नजिते महासंघ समाप्त हुनेसम्मको डर देखाए । यसरी स्वतः भावी अध्यक्ष हुने व्यक्ति र बहालवाला अध्यक्षले खुलेरै कुनै एक पक्षको समर्थन गर्नुलाई नैतिकहीन चलखेलको संज्ञा दिइएको छ । तर त्यसको समेत पर्वाह नगरी गोल्छा र राणाले प्रधानलाई सहयोग गरे । तर ढकालको लोकप्रियताको अगाडि उनीहरूको कुनै पनि चलखेल काम लागेन । एकथरीले विधानतः स्वतः अध्यक्ष बनेपछि गोल्छा यो निर्वाचनमा पराजित भएको विश्लेषण गरेका छन् । गोल्छाले प्रधानलाई काँधमै बोकेर हिँड्दा पनि जिताउन नसक्नु उनकै हार भएको धेरैको बुझाइ छ ।
गोल्छा र राणा मात्र हैन अघिकांश पूर्वअध्यक्षहरू प्रधानको पक्षमा खुलेरै लागेका थिए । पूर्वअध्यक्षहरू पशुपति मुरारका, कुशकुमार जोशी, विनोदबहादुर श्रेष्ठ, आनन्दराज मुल्मीलगायतका पूर्वअध्यक्षहरू प्रधानलाई जिताउन अनेक तिकडममा लागेका थिए । ढकालको पक्षमा केवल पूर्वअध्यक्षहरू चण्डी ढकाल र सुरज वैद्य मात्र खुलेका थिए । त्यसमा पनि ढकाल महासंघमा बदनाम पूर्वअध्यक्षको रूपमा परिचित छन् भने वैद्य साधारणसभाका बेला स्वदेशमै थिएनन् । यसरी हेर्दा ढकालले वैयक्तिक लोकप्रियताका आधारमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन सफल भएको पुष्टि हुन्छ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै अर्कोपटक स्वतः महासंघको अध्यक्ष चयन हुने गर्छ ।
गोल्छाले कार्यकालको सुरुवातमै एकल ढंगले चल्ने संकेत दिएका छन् । उनले कार्यसमितिलाई उपेक्षा गर्दै महासंघको विशिष्ट सदस्यमा पशुपति मुरारका र बरिष्ठ उपाध्यक्षका प्रत्याशी किशोर प्रधानलाई नियुक्त गरेका छन् । जबकी कुनैपनि सदस्यको नियुक्ती कार्यसमितिबाटै हुने विधानमा व्यवस्था छ ।
नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्वका लागि चैत २७ र २८ गते मिति तय भए पनि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउन र निषेधाज्ञाले पटकपटक साधारणसभा स्थगित हुँदै आएको थियो । स्थगित हुँदै आएको सात महिनापछि महासंघले गत साता नयाँ नेतृत्व पाएको छ ।
चुनावी नतिजाअनुसार जिल्ला नगरतर्फको निर्वाचनमा किशोरकुमार प्रधान प्यानलका ११ जनाले जित हासिल गरेका छन् भने चन्द्र ढकालका प्यानलका ७ जनाले जित हासिल गरेका छन् । यसरी जम्मा १८ वटा पदमा भएको जिल्ला नगरतर्फको निर्वाचनमा प्रधान प्यानलले केन्द्रीय सदस्यमा वर्चस्व कायम गरेको छ ।
कुल ६४ पदका लागि भएको निर्वाचनमा एक वरिष्ठ उपाध्यक्ष, ३ जना उपाध्यक्ष र ६० जना केन्द्रीय कार्यकारिणी सदस्यको निर्वाचन भएको थियो । मुख्य ४ पदमा ढकाल समूह र प्रधान समूहका २÷२ जना उम्मेदवार विजयी भएका छन् भने अन्य पदहरूमा भने मिश्रित नतिजा आएको छ । ढकालले ३० प्रतिशत मतभार रहेको एसोसिएटमा ५ सय २२ मत प्राप्त गर्दा प्रधानले ३ सय ७५ मत पाएका थिए । यस्तै २० प्रतिशत मत भार रहेको वस्तुगतमा ढकालले ५९ मत र प्रधानले ३९ मत प्राप्त गरेका छन् । त्यसैगरी ५० प्रतिशत मतभार रहेको जिल्ला र नगरतर्फ ढकालले ५२ मत र प्रधानले ५३ मत पाएका थिए ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा विजयी ढकालले समग्रमा ५४.२६ प्रतिशत मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी प्रधानले ४५.७४ प्रतिशत मत प्राप्त गरेको महासंघको निर्वाचन समितिले जनाएको छ । त्यसमा वस्तुगततर्फको उपाध्यक्षमा प्रधान समूहका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ दिनेश श्रेष्ठ विजयी भएका छन् भने एसोसिएट्सतर्फ ढकाल समूहका रामचन्द्र संघाई विजयी भएका छन् ।
किशोर प्रधान प्यानलबाट वस्तुगततर्फका उमेद्ववार अञ्जन श्रेष्ठले कुल १०१ मध्ये ६२ मत प्राप्त गर्दै जित हात पारे । उनका निकटतम प्रतिद्वन्द्वी चन्द्रप्रसाद ढकाल प्यानलका उमेद्ववार उमेशलाल श्रेष्ठ २५ मत अन्तरले पराजित भए । उमेशलालले ३७ मत ल्याएका थिए । यसमा पनि श्रेष्ठले प्यानलको बलमा भन्दा व्यक्तिगत लोकप्रियताको बलमा जित निकालेको देखिन्छ । किनभने वस्तुगत सदस्यतर्फ दुवै समूहको सदस्यमा मिश्रित परिमाण आएको छ । १४ कार्यकारी सदस्यमा ७ जना किशोरकुमार प्रधान र ७ जना चन्द्रप्रसाद ढकाल प्यानलका विजयी भएका छन् । जस अनुसार नरेशलाल श्रेष्ठले ७२, अरनिको राजभण्डारीले ६४, प्रकाशमान सिंह कार्कीले ५७, भक्तबहादुर हमालले ६२, मीनमान श्रेष्ठले ६७, मनीषलाल प्रधानले ६०, सुमित केडियाले ६६, आकाश अधिकारीले ४९, शकुन्तलाल हिराचनले ५५, गोविन्द ढुंगेलले ५०, विष्णु गैरेले ५१, सन्दीप अग्रवालले ५१, सुबोध गुप्ताले ५०, हेमराज ढकालले ५३ मत पाएर विजय भएका छन् । यीमध्ये आकाश अधिकारी, नरेशलाल श्रेष्ठ, प्रकाशसिंह कार्की, भक्तबहादुर हमाल, सुबोधकुमार गुप्ता, सुमितकुमार केडिया र हेमराज ढकाल चन्द्र ढकाल प्यानलका रहेका छन् । यस्तै अरनिको राजभण्डारी, गोविन्द ढुंगेल, मनीषलाल प्रधान, मीनमान श्रेष्ठ, विष्णुप्रसाद गैरे, शिवप्रसाद घिमिरे, सन्दीपकुमार अग्रवाल र सुकुन्तलाल हिराचन किशोर प्रधान प्यानलबाट विजय भएका छन् ।
त्यस्तै, जिल्ला नगरको उपाध्यक्षमा किशोर प्रधान प्यानलबाट दिनेश श्रेष्ठले कुल मत १०५ मत खसेकोमा उक्त मतमध्ये ५८ मत ल्याएर जित हात पारे भने गुणनिधि तिवारीले ४७ मत ल्याएका छन् । जिल्ला नगरका तर्फबाट महासंघको केन्द्रीय समितिमा १८ सदस्य निवार्चित भएका छन् । किशोर प्रधान समूहबाट १२ सदस्य र चन्द्रप्रसाद ढकाल समूहबाट ६ सदस्य निर्वाचित भएका हुन् । जसअनुसार राजन श्रेष्ठ ७३, तारानाथ घिमिरे ७२, शोभाकान्त पौडेल ७०, कमल श्रेष्ठ ६९, गजेन्द्र भगत ६८, चक्र अधिकारी ६७, अरुण सुमार्गी ६६, देवकुमार श्रेष्ठ ६५, रामेश्वर मानन्धर ६३, कमनबहादुर खड्का ६२, सुरकृष्ण वैद्य ६१, कुविरकुमार श्रेष्ठ ५८, डीबी बस्नेत ५८, उमेश डालमिया ५३, किशोरकुमार आचार्य ५२, महेन्द्रकुमार श्रेष्ठ ५४, अमृत भट्टचन ५१, गोपाल कौडिया ५५ ले मत पाएर विजयी भएका छन् ।
त्यस्तै, महासंघको निर्वाचनमा एसोसियटतर्फको उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल प्यानलका रामचन्द्र संघाईले किशोर प्रधान समूहका सौरभ ज्योतिलाई पराजित गर्दै एसोसियटको उपाध्यक्षमा निर्वाचित भएका छन् । व्यावसायिक घराना त्रिवेणी गु्रपका संघाईले नेपालको पुरानो व्यावसायिक घराना ज्योति गु्रपका सौरभ ज्योतिलाई पराजित गरेका हुन् । विजयी भएका संघाईले ४ सय ५५ मत ल्याए भने पराजित भएका सौरभ ज्योतिले ४ सय ३४ मत ल्याएका थिए ।
यसरी एसोसिएटतर्फको कार्यकारिणी सदस्यमा अम्बिकाप्रसाद पौडेलले सबैभन्दा बढी मत ल्याएर विजयी भएका छन् । पौडेलले ८ सय २ मत ल्याएर विजयी भएका छन् भने अविनाश बोहरा ४ सय ७६, आनन्द बगरिया ४ सय ९९ र कृष्णलाल महर्जन ४ सय ६२, गोपाल खनाल ७ सय ५१, ज्योत्स्ना श्रेष्ठ ७ सय ६७, देशबन्धु बस्नेत ४ सय ८३, प्रबलजंग पाण्डे ७ सय ४३, भरतराज आचार्य ७ सय ४६, रञ्जित आचार्य ४ सय ५९, राजेशकुमार अग्रवाल ५ सय ३०, विजयसिंह वैद्य ५ सय ४७, शक्तिकुमार बेगानी ५ सय ३०, साहिल अग्रवाल ७ सय ३०, शैलेन्द्र गुरागाईं ६ सय ३०, सुशील थापा ४ सय ३०, हेमन्त गोल्छा ५ सय ९ मत ल्याएर विजयी भएका छन् । मंगेशलाल श्रेष्ठ र विराट थापाको बराबर आएको छ । एसोसिएट सदस्यमा प्रधान प्यानलका ११ जना र ढकाल समूहका ७ जना रहेका छन् ।
त्यस्तै महासंघको प्रदेश १ बाट निर्वाचनभन्दा अगाडि नै राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका थिए । प्रदेश २ मा विजयकुमार शाह १२ मतले विजयी भएका छन् । त्यस्तै, बागमती प्रदेशमा सहनलाल प्रधान १२ मतले विजयी भएका छन् । त्यस्तै, कर्णाली प्रदेशबाट लालीमान बुढा र सुदूरपश्चिमबाट पुष्पराज कुमार विजयी भएका छन् । कर्णाली प्रदेशमा बुढाले ७ मत ल्याएर विजय भएका छन् । उनका निकटतम प्रतिस्पर्धी प्रकाश अधिकारीले ३ मत मात्रै पाएका छन् । यसैगरी सुदूरपश्चिमबाट पुष्पराज कुमारले ८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी देवबहादुर रोकायले २ मत मात्रै ल्याए । त्यस्तै, लुम्बिनी प्रदेशमा जमसेद मियाँ १२ मत ल्याएर विजयी भएका छन् । त्यस्तै द्विराष्ट्रिय समूहमा ढकाल प्यानलका सन्दीप अग्रवाल निर्विरोध भएका थिए । यसरी संस्थापक समूह दामु अधिकारी ७ मतले विजयी भएका छन् ।
प्रतिक्रिया