देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गजलको अपमान किन प्रज्ञा प्रतिष्ठान ?

देशान्तर

घनेन्द्र ओझा

नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र संवद्र्धनका लागि तत्कालीन राजा महेन्द्रले स्थापना गरेका हुन् तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, हाल नेपाल प्रज्ञाप्रतिष्ठान ।

केही चलाख र क्षमतावान् सर्जक, कलाकार, संस्कृतिकर्मीलाई दरबारको वरिपरि राखेर स्तुतिगान गवाउने नियत महेन्द्रको भए पनि प्रज्ञाप्रतिष्ठानले यसबीचमा धेरै राम्रा काम पनि गरेको छ ।

स्थापनाकालदेखि नै सत्ता निकटहरूले नै आशीर्वाद पाएर प्रतिष्ठानको नेतृत्व गर्दै आएका तथ्य पनि घामजतिकै छर्लंग नै छ ।

यहाँ त्यसबारे होइन, प्रज्ञाप्रतिष्ठानले भर्खरै प्रकाशन गरेको ‘प्रज्ञा आधुनिक नेपाली गजल’ पुस्तकबारे चर्चा गर्न खोजिएको छ ।

प्रज्ञाप्रतिष्ठान देशमा गणतन्त्र आएसँगै तीन टुक्रामा बाँडिएसँगै अहिले यसले विशेषगरी भाषा र साहित्यको काम मात्र गर्दै आएको छ । विभिन्न विभागहरूमार्फत अध्ययन—अनुसन्धान—गोष्ठी—महोत्सव र प्रकाशनका काम गर्दै आएको छ यसले ।

यही क्रममा गत वर्ष अर्थात २०७६ सालमा प्रज्ञाप्रतिष्ठानबाट प्रकाशन भएको पुस्तक हो– प्रज्ञा आधुनिक नेपाली गजल ।

१८० जना सर्जकका दुईवटाका दरले ३६० वटा ‘गजल’ नामका रचना समावेश गरिएको यस पुस्तकको सम्पादन गजलमा विद्यावारिधि गर्ने पहिलो नेपाली डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ र नेपाली र भोजपुरी भाषा—साहित्यमा लामो योगदान गरेका गोपाल अश्कले गरेका छन । अश्क आफैँ गजलबारे राम्रो ज्ञान भएका व्यक्तित्व पनि हुन ।

पुस्तक निकै मोटो छ । ४०० पृष्ठको पुस्तकमा कुलपति, उपकुलपति, विभागीय प्रमुखको मन्तव्यका साथै सम्पादकीय र गजलका बारे गन्थन पनि छ ।

पुस्तकमा संकलित रचनालाई ‘गजल नामका सिर्जना’ भनिएको प्रति पाठकलाई जिज्ञासा हुन सक्छ । हो, यही विषयबारे चर्चा गर्नु नै यस लेखको अभीष्ट पनि हो ।

सन्दर्भमा छिरौँ–

गजल अरबी माटोको उत्पादन हो, जुन उर्दू, हिन्दीमा आएर निकै मौलायो । त्यही उर्दू, हिन्दीको प्रभावबाट युवाकवि मोतीराम भट्टले नेपाली साहित्यमा भित्र्याएका हुन गजल ।

गजल विशुद्ध शास्त्रीय विधा हो साहित्यको । यसका आफ्नै विधि, विधान र संरचनागत मान्यता छन । तिनको यथोचित पालना हुनै पर्ने सर्त छ गजलका लागि ।

जस्तो कि– गजल काव्यको लघुआयाम भएको विधा हो तर यो न विशुद्ध कविता हो वा न त गीत नै अथवा मुक्तक पनि होइन गजल । भावले कवितासँग, लयले गीतसँग र शिल्पले मुक्तकसँग नजिक भए पनि गजल यी तीनवटै विधाभन्दा भिन्न हो गजल ।

उच्च प्रस्तुति शिल्प, तीव्र र प्रभावकारी अनि चामत्कारिक भाव सम्प्रेषण, सुललित शास्त्रीय लय, कोमलता र हार्दिकताजस्ता कुरा गजलमा अपेक्षित छन । यीमध्ये कुनै कुराको कमीले गजललाई कि गीत, कि कविता वा कि त मुक्तकमा परिणत गरिदिन्छन् ।

चर्चा गरिएको पुस्तक ‘प्रज्ञा आधुनिक नेपाली गजल’मा संकलित ‘गजल’ नामका लगभग सबैजसो (केही अपवाद गजल जस्ता मात्र छन्) रचनाले गजलको माथि भनिएको अनुशासन, मर्म र मान्यताको खिल्ली उडाएका छन् । प्रज्ञाप्रतिष्ठान आफैँमा भाषा—साहित्यको आधिकारिक निकाय मानिन्छ । प्रतिष्ठानले प्रकाशन गर्ने पुस्तकलाई ‘आधिकारिक’ नै मान्नुपर्ने हुन्छ ।

तर, प्रतिष्ठानले प्रकाशन गरेकै पुस्तक गजलको शास्त्रीय मान्यताको छेउसम्म पनि छैन भने त्यो लगानीप्रति प्रतिष्ठानको लापर्बाही त प्रस्ट हुन्छ नै, जुन आमजनको करबाट गरिएको लगानी हो, त्यससँगै एउटा ठूलो प्राज्ञिक वर्गमा प्रज्ञाप्रतिष्ठानकै कारण गलत कुरा जानु प्रतिष्ठानको प्राज्ञिक बेइमानी पनि हो भन्न अप्ठ्यारो मान्नु पर्दैन ।

यससँगै पुस्तकको रचना संकलन र सम्पादनको जिम्मेवारी पाएका दुई व्यक्तित्व आफैँमा गजलका ‘विज्ञ’ भएका ‘भ्रम’समेत यो पुस्तकले तोडिदिएको छ । जुन रचना गजल नै होइनन्, जुन रचनामा गजलीय गुणको छेउसम्म छैन, त्यस्ता रचनालाई समेत ‘गजल’ भनेर छान्ने अनि छाप्न सिफारिस गर्ने सम्पादकद्वयको ‘ज्ञान’ र ‘क्षमता’मा आजको गजल लेख्ने र अध्ययन गर्ने पुस्ताले सहजै प्रश्न उठाउन सक्छ यो पुस्तकलाई पढेर ।

यस पुस्तकमा संकलित अधिकांश रचनामा कि गीतको मात्रा बढी छ वा कि कविता वा मुक्तकको । रदिफ र काफिया मात्र मिलाएर गजलको अनिवार्य तत्व बहर वा शास्त्रीय लयको बेवास्ता गरिएका रचना धेरै छन् । यसरी नै केही रचना शास्त्रीय लय वा छन्द र बहरमा भए पनि ती गजल नभएर शास्त्रीय कविताको स्तरका मात्र छन ।

अन्त्यमा, गलत ज्ञान बाँड्नुभन्दा चुप बस्नु उचित भनिन्छ । ‘गुरु’ बनिसकेका र त्यही विषयको ‘विज्ञता’ हासिल गरेकाहरूबाटै यो हदको जिम्मेवारीबोधमा कमी हुन्छ र प्रज्ञाप्रतिष्ठान जस्तो राज्यको निकाय, जसप्रतिको आमविश्वास र भरोसा हुनुपर्छ र हुन्छ, त्यसले नै यस्ता अशास्त्रीय, अप्राज्ञिक पुस्तकमा ठूलो लगानी गर्छ र भ्रम छर्छ भने त्यसप्रतिको खेद जनाउनु जरुरी छ ।

उसो त प्रज्ञाप्रतिष्ठानमा परिषद् र सभामा पनि गजलबारे ‘जानेबुझेका’ प्रशस्त व्यक्तित्व छन । उनीहरूले समेत यस्ता रचनालाई गजल भनेर प्रकाशन गर्न सहमति दिनु भनेको उनीहरू स्वयं पनि गजलबारे अनभिज्ञ हुनु हो भन्ने प्रस्ट बुझ्न सकिन्छ ।

यति ठूलो समूह गजल लेखन, अध्ययन र अनुसन्धानमा सक्रिय छ अहिले । गजलबारे पढ्न, बुझ्न र खोज्न यति धेरै सामग्री छन् तर हाम्रा प्राज्ञ र अनुसन्धाताहरूको त्यता ध्यान नगएका कारण पनि यस्ता ‘अफवाहयुक्त’, ‘अशास्त्रीय’ र गलत सामग्री आइरहनेछन् ।