देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर्णाली क्षेत्रमा आँखा सेवा प्रभावकारी बनाउन साझेदारी

देशान्तर

काठमाडौं । कर्णाली प्रदेशमा गुणस्तरीय र पहुँच योग्य आँखा सेवा विस्तार गर्न नेपाल नेत्रज्योती संघ र नेपाल रेडक्रस सोसाइटी (नेरेसो) साझेदारीमा कार्य गर्ने भएका छन् । सो को लागि आज नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा एक कार्यक्रम बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल नेत्रज्योति संघका तर्फबाट महासचिव भरतबहादुर चन्द र नेरेसोको तर्फबाट महामन्त्री पिताम्बर अर्यालले आगामी ५ वर्ष सहकार्य गर्ने गरी सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो । नेपाल रेडक्रसले कर्णाली प्रदेशमा स्थापना गरेको सुर्खेत आँखा अस्पतालको क्षमता अभिबृद्धि गरी एकिकृत कर्णाली आँखा कार्यक्रम विस्तार गरी रिफरल अस्पताल बनाउन दुवैपक्ष सहमत भएका हुन् ।
कार्यक्रममा नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले नेपाल रेडक्रसले आँखा सेवालाई प्राथमिकता दिँदै आएको र स्वीस रेडक्रस लगायत संस्थाहरुकोे सहयोगमा आँखा सेवाका साथै पोषण, स्वास्थ्य र सरसफाई जस्ता गतिविधिहरु एकिकृत गरी समुदायमा सेवा पुर्याएको जानकारीे दिनुभयो । नेपाल नेत्रज्योती संघका अध्यक्ष चेतराज पन्तले भन्नुभयो- ‘कर्णाली प्रदेशका जनताले अन्धोपन र बहिरोपन निवारण सम्बन्धी सेवा र प्रतिफल पाऊन भन्ने उद्धेश्यले यो सम्झौता गरिएको हो ।’

सम्झौतामा हस्ताक्षर गर्दै नेरेसो महामन्त्री पिताम्बर अर्यालले भन्नुभयो- ‘रेडक्रसको स्वयंसेवकको सञ्जाल र नेत्रज्योति संघको आँखा सेवामा प्राविधिक क्षमताको सवल पक्षहरुलाई मिलाएर कर्णालीका समुदायलाई सेवा गर्ने समझदारीलाई सफल बनाउन स्थानीय स्तरको सहकार्यलाई सुदृढ बनाइने छ ।’ सोही अवसरमा नेपाल नेत्रज्योती संघका महासचिव भरत बहादुर चन्दले कर्णाली प्रदेशलाई लक्षित गरी दुवैसँस्था संगै काम गर्ने सन्देश आफैमा सुखद रहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल नेत्रज्योती संघका कार्यकारी निर्देशक, कर्णाली कार्यक्रम संयोजक, रेडक्रसका स्वास्थ्य सेवा विभागका निर्देशक पवन गुप्ता, सञ्चार विभाग निर्देशक दिव्यराज पौडेल लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो । सुर्खेत आँखा अस्पतालको क्षमता अभिबृद्धिगरी समुदायमा आँखा सेवालाई प्रभावकारी बनाउन र यसमा प्रदेश र स्थानीय सरकार, स्वीस रेडक्रस, सिविएम इन्टरनेशनलका साथै अरु सरोकारवालासँग पनि सहकार्य बढाउन दुवै सँस्था सहमत भएका छन् ।