देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कृति शब्दमा सिनेमा

देशान्तर

डा. ध्रुवचन्द्र गौतम
यस्ता पुस्तक कम छन्, जुन मैले दोहोर्‍याएर पढेको छु । गिरीश गिरीको ‘वीरगन्ज– मेरो सहरको कथा’ त्यस्तै कम किताबमध्ये पर्दछ । पुस्तक अत्यन्त राम्रो छ । रोचक छ । दुई पटक पढ्दा मैले रुचिसाथ पढेँ । यसमा केही प्रतिशत श्रेय वीरगन्ज सहरलाई पनि जान्छ, जुन मेरो पनि आफ्नो भूमि हो ।

गिरीशले अत्यन्त सूक्ष्मतापूर्वक वीरगन्जलाई उभ्याएका छन् । यसको थालनीको प्रसंगदेखि विकाससम्म । थालनीमा एउटा सानो बस्तीका रूपमा रहेको वीरगन्ज आज प्रत्येक दृष्टिले एक विशाल र महत्वपूर्ण सहर बनेको छ । यो औद्योगिक राजधानीको कथा गिरीशले रोचक र दायित्वपूर्ण किसिमको पस्केका छन् । त्यसका लागि उनले गरेको अनुसन्धान र परिश्रम सराहनीय छ । उनी यसका लागि धन्यवादका पात्र छन् । ध.च. गोतामेपछि वीरगन्जलाई यति जीवन्तताले उनले प्रस्तुत गरेका छन् कि लाग्दछ शब्दमा सिनेमा हेरिरहेको छु । ‘सिटी बायोग्राफी’ एउटा तेजीसाथ आइरहेको विधा हो । उनी त्यसमा सफल बनेका छन् । मैले त वीरगन्जका आफ्नै अघिल्तिर घटित कतिपय घटनाको वास्तविकता यस पुस्तकका माध्यमले जानेको छु । जस्तो मधेसी आन्दोलन । यो पुस्तक पढेपछि मधेसी आन्दोलनको वास्तविकता बुझ्न मद्दत हुन्छ । मधेसी आन्दोलन उनीहरूमाथि भएको उहिल्यैदेखिको हेपाहा व्यवहारको प्रतिरोधी अभिव्यक्तिको स्वर हो । यो त्यसै लहडमा चलेको हावा होइन । यस पुस्तकले मधेसी आन्दोलन बुझ्न सघाउ पुर्‍याउँछ, सहानुभूतिपूर्ण सघाउ । यी गिरीश गिरीको सफलता हो ।

वीरगन्ज धेरै पुरानो नगर हो । यसले आफ्नो समयमा धेरै उत्तरचढाव देखेको छ । यसलाई धेरै पात्रहरूले आफ्नो योगदानले सिंगारेका छन् । पात्रहरू धेरै किसिमका छन्, त्यागका प्रतिमूर्ति पनि छन्, मधेसी आन्दोलनमा आफ्नो अडिगता देखाएर बसेका छन्, वीरगन्जको विस्तार र विकासमा योग दिने पनि छन्, सबको यथोचित चर्चामात्र छैन, तिनका व्यक्तित्वलाई अझै स्पष्ट पार्ने खालको पनि छ । वीरगन्जको इतिहासलाई वीरगन्जको विकासका सन्दर्भमा राम्ररी बयान गरिरहेको छ । यति प्रमुखताका साथ वीरगन्जलाई केलाइएको कम छ । यो पुस्तकले त्यो अभावको एक ठोस आपूर्ति गरेको छ । भोलि अन्य यस्ता अनुसन्धाता र लेख्नेका लागि यो पुस्तकको संसर्ग अनिवार्य हुने देखिन्छ ।

यसका कति पात्र त हामीले देखेजानेका नै छन्, हामी अर्थात् वीरगन्जवासीले । ती पात्रहरूको महत्व पनि हामी यस पुस्तकबाट अझै राम्ररी थाहा पाउँछौ । मेरो यस्तो विश्वास छ । प्रत्येक पुस्तकमा अझ यो वा त्यो भए हुन्थ्यो भन्ने त भइहाल्छ । मैले देख्दा यो पुस्तक आफूमा पूर्ण छ । उनको परिश्रम खेर गएको छैन । पढ्नेले रुचाएकै छन् ।

भाषाशैली तान्ने खालको छ । कतै पनि पट्यार लाग्न दिँदैन । पशुपति द्योप, आत्माराम ओझा, गोपाल गोतामे, भाग्यनाथ गुप्ता आदि केही हस्तीहरूलाई ‘ट्रिब्युट’ दिइएको छ, जुन पुस्तकको सकारात्मक पक्ष हो ।

वीरगन्जको रीतिरिवाज, खानपान, रहनसहन, विश्वास–अन्धविश्वास आदि सबैलाई गम्भीरताले केलाइएको छ ।

‘वीरगन्ज– मेरो सहरको.कथा’लाई एक सार्थक प्रयासको कृति मान्ने पक्षमा म छु । यस्ता पुस्तकको स्वागत गर्दछु ।

 

]]>