देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बेलायतमा फाइजरले बनाएको कोरोना खोप प्रयोग गर्न स्वीकृति

देशान्तर

काठमाडौं – बेलायतले अमेरिकी कम्पनी फाइजर र जर्मन बायोएनटेक कम्पनीले संयुक्तरुपमा बनाएको कोरोनाविरुद्धको खोप सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । योसँगै विश्वमा कोरोनाविरुद्धको खोप सर्वासाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गर्ने बेलायत पहिलो देश बनेको छ ।

बेलायतको नियामक निकाय ‘एमएचआरए’ले कोरोनाभाइरसको संक्रमण रोक्न ९५ प्रतिशत सफल भएको यो खोप अर्को हप्ताबाट सर्वसाधारणलाई लगाइने जनाएको छ । जोखिम समूहमा रहेका व्यक्तिहरुलाई पहिलो प्राथमितामा राखिएको छ । खोप कार्यक्रमका लागि लगभग ५० अस्पताल तयारी अवस्थामा राखिएको र अन्य खोप केन्द्रहरू तयार गर्न थालिएको छ ।

विज्ञहरूले खोप सुरु भएपछि पनि मानिसहरू सतर्क हुनुपर्ने र स्वास्थ्य सावधानीहरू अपनाउनुपर्ने बताएका छन् । बेलायतले यसअघि नै फाइजरको खोपको चार करोड ‘डोज’को ‘अर्डर’ गरिसकेको छ । यसबाट दुई करोड मानिसलाई खोप दिन सकिनेछ । तीन हप्ताको अन्तरालमा उक्त खोपको दुई मात्रा आवश्यक पर्दछ ।

अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको परीक्षणमा उक्त खोपको दोस्रो मात्रा दिइएको सात दिनपछि खोप दिइएकाहरूमध्ये ९० प्रतिशतलाई संक्रमणबाट सुरक्षा प्राप्त भएको देखिएको थियो । फाइजरले यस वर्षको अन्त्यसम्ममा पाँच करोड मात्रा खोप आपूर्ति गर्नसक्ने जनाएको छ । सन् २०२१ को अन्त्यसम्ममा एक अर्ब ३० करोड मात्रा आपूर्ति गर्नसक्ने कम्पनीको दाबी छ ।

खोपको इतिहासमा यो सबैभन्दा छिटो स्वीकृति पाउने खोप बनेको छ । महामारी सुरु भएको १० महिनाको अवधिमा यो खोप योजनाबाट अनुमतिसम्म आइपुगेको हो । कतिपय खोपका लागि एक दशकभन्दा लामो समय लागेको थियो ।