देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको आसन्न महाधिवेशन र कार्यकर्ताको सशक्तीकरण

देशान्तर

विगत दुई वर्षदेखि निरन्तर प्रमुख समाचारका पात्र बनिरहेका बहुचर्चित नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्षहरूबीचको सत्ता रडाको किनारा लाग्ने अवस्थामा पुगेको लख काट्न थालिएको छ । त्यसका साथै राजनैतिक समीकरणको फेरबदल तथा भावी बहुपक्षीय गठबन्धन सरकार गठनका विषयमा अड्कलबाजीहरू चल्न थालेका छन् । उक्त चर्चा परिचर्चाको केन्द्रबिन्दुमा स्वभावतः नेपाली कांग्रेस पर्ने नै भयो । जस्ले गर्दा केही कांग्रेस नेता तथा कार्यकर्ताहरूले बंगारा तिखार्न थालेको बुझिन्छ । अँधेरो टनेलको अन्त्यमा देखा परेको उज्यालो महसुस गरेका छन्, उनीहरूले । सत्तामा सहभागी हुने अवसरले आगामी दुई वर्षको अवधिमध्ये एकै वर्षका निमित्त नै किन नहोस् सरकारको नेतृत्व गर्ने ‘शुभ’ अवसर तथा गुटको ‘कोटा’मा मन्त्री पदहरू टप्काउन पाउने मौकाले केही नेताहरूलाई नतमस्तक तुल्याउन थालिसकेको छ । अनि उनीहरू आश्रित कार्यकर्ताहरूलाई ‘हाम्रो दिन आउने भयो’ भन्ने मनोविज्ञानले हर्षित तुल्याउँदै छ ।

विगतमा कम्युनिस्ट तथा पूर्वपञ्चहरूले नेतृत्व गरेको गठबन्धन सरकारहरूमा सामेल हँुदा अथवा नेपाली कांग्रेस पार्टीले नै नेतृत्व गरेको सरकारमा उनीहरूलाई सामेल गर्दा पार्टीले व्यहोरेको हानिनोक्सानी तथा लाभहरूको आन्तरिक सिंहावलोकन गर्नु पार्टीलाई आवश्यक भएन । मिलिजुली सरकारहरू गठन हुनुपूर्व पार्टीले गरेका सौदाबाझीहरू, जनसाधारणलाई बाँडेको आश्वासन, सरकारमा सामेल मन्त्रीहरूले प्रदर्शन गरेको आचरण, समग्रमा हासिल भएका उपलब्धिहरूले पार्टीको छविलाई के कस्ता प्रभाव वा असरहरू पा¥यो, त्यस्ता विषयहरूमा विमर्श, मन्थन तथा बहस गर्ने फुर्सद कांग्रेस पार्टीलाई हुँदै भएन । वडा हुँदै स्थानीय, प्रान्तीय तथा संघीय प्रतिनिधि चयन गर्दा पार्टीका नेता कार्यकर्ताहरूलाई पाखा लगाएर पूर्वपञ्च तथा कम्युनिस्ट उम्मेदवारहरूलाई समर्थन गर्ने निर्देशनहरूले कार्यकर्ताहरूमा परेको असरहरू त नेतृत्व पंक्तिका निमित्त गौण विषय हुने नै भए । वास्तवमा पार्टीको भविष्यलाई नकारात्मक असर पर्ने निर्णयहरू (सरकारको नेतृत्व गर्नेदेखि सरकारमा सहभागी हुने तथा आफ्नालाई पाखा लगाएर विरोधी पार्टीका उम्मेदवारहरूलाई समर्थन गर्ने कार्य आदि) प्रायः सबै निर्णयहरू एकल हुन् । निर्णयपश्चात मात्र ‘आफ्ना गुटका गृह र सोहीमा हाजिर बजाउने नेताहरू’ बाट अनुमोदन गरेर सार्वजनिक गरिएका हुन् । कार्यकर्ता मात्र होइन अग्रपंक्तिमा रहेका नेताहरूलाई समेत पार्टीलाई दूरगामी असर पर्ने त्यस्ता निर्णयहरूका विषय सञ्चार माध्यमहरूमा छताछुल्ल भएपछि मात्र थाहा हुने गर्दछ । अधिकांशले घोषणापश्चात मुर्मुरिएर मौन साँध्ने गर्दछन् । तिनले साँधेको मौनतालाई नेतृत्वले भने मौन सहमति ठहर गर्ने गर्दछ । नेताहरूका निमित्त त्यस्ता निर्णय ठीक वा बेठीक भनेर बहस गर्नुभन्दा नयाँ अवसरहरू साबित हुँदै जाने गरेको छ, आफ्नो गुटले प्राप्त गर्ने अवसर तथा आफूले चयन गर्ने गुट प्रतिनिधिको छनोटका निमित्त ।

पार्टी नेतृत्वले गरेका निर्णयहरू व्यक्तिगत तथा गुटगत स्वार्थ सिद्धिको चस्मा पहिरिएर गरिने भएको हुनाले त्यस्ता निणर्यहरू जतिसुकै महत्वपूर्ण भए पनि निर्णय लिनुका पछाडिका कारणहरूका विषयमा अधिकांश नेता तथा कार्यकर्ताहरू अनभिज्ञ हुने गर्दछन् । नीतिगत निर्णयहरू लिइँदा संस्थापन पक्षले आफ्नो गुटको तत्कालिक फाइदाका निमित्त पार्टीलाई बलि चढाउनसमेत तयार रहेको आभास हुँदाहँुदै पनि ‘इतरपक्ष’ तथा तेस्रो गुटले मौनता नै धारण गर्दछ । इतरपक्ष तथा तेस्रो गुटले पार्टीलाई हित विपरीतका निर्णयहरूको विरोध गरेर सच्याउन नेतृत्वलाई बाध्य तुल्याउनेतर्फभन्दा आफ्नो गुटले पाउने अवसरका निमित्त नेतृत्वसँग सौदाबाजी गर्न अग्रसर रहने परम्परा स्थापित भइसकेको छ । यदि त्यसो नहुँदो हो त अघिल्लो संघीय संसद्को चुनावमा अभूतपूर्व पराजय भोग्नुपर्ने निश्चित हुनासाथै हतारोमा पार्टी सभापतिले पूर्व सर्त तथा दलीय परामर्श बिनै कमरेड प्रचण्डलाई पाँच वर्षका निमित्त प्रधानमन्त्री पद सुम्पने प्रस्ताव उनका सामुन्ने सुनको थालमा लिएर उपस्थित हुने थिएनन् । त्यसैगरी किमार्थ तिनले प्रचण्डपथ प्रवर्तकलाई संघीय संसद् सदस्य तथा तिनको पुत्रीलाई ‘मेयर’ पदमा विजयी तुल्याउनका निमित्त कांग्रेसजनलाई भोट खसाल्ने आदेश दिने हिम्मत गर्ने थिएनन् ।

विगतमा नेपाली कांग्रेसभित्र अन्तरदलीय छलफल, वादविवाद तथा बहसहरू नहुनाका कारणहरू धेरै थिए । जसमध्ये ‘सामन्ती सोच’ अनुरूप अग्रज तथा सम्मानित व्यक्तित्वले गरेको कार्यलाई प्रश्न गर्न हुँदैन भन्ने सामाजिक मान्यताले अहम् भूमिका खेल्ने गथ्र्यो । अन्य कारणहरूमध्ये ‘सिनीयर नेताहरू’ जस्तै बीपी, सुवर्णशमशेर, गणेशमान सिंह तथा सूर्यप्रसाद उपाध्यायको ‘टल पर्सानिलिटी’ पनि एक हो । त्यस्ता व्यक्तित्वबाट पार्टी हितका अलावा अन्य निर्णयहरू हुन सक्दैन भन्ने विश्वास आम नेता तथा कार्यकर्ताहरूलाई थियो । कार्यकर्ता पंक्तिमा सामाजिक तथा पारिवारिक सम्बन्धजस्ता कारणहरूले कांग्रेस पार्टीको सदस्यता ग्रहण गर्नेहरूको बाक्लो उपस्थिति थियो । उनीहरूले अग्रजलाई प्रश्न गर्नु स्थापित सामाजिक मूल्य मान्यताविपरीत ठहर हुने संस्कार हाबी भएको कालखण्ड थियो । त्यसैगरी पार्टी कार्यकर्ताहरूबीच रहेका बौद्धिक व्यक्तित्वहरू पनि अग्रजहरूलाई प्रश्न गर्दा पार्टी अनुशासनमा खलल पुग्छ कि भनेर सचेत हुने गर्थे ।

पञ्चायतको तीन दशक लामो कालखण्डमा राजाहरूले नेपाली कांग्रेसमा रहेका बौद्धिक नेताहरूलाई छानीछानी आफ्नो पोल्टामा हाले– साम, दाम, दण्ड, भेद सबै हत्कण्डाहरूको प्रयोग गरेर । त्यस कालखण्डमा राजाको आदेश शिरोपर नगर्नु भनेको तिनको विपक्ष पंक्तिमा खडा हुनु सरह थियो । राजाको मनसाय शिरोपर नगर्नुको अर्थ जेल सजायको भागीदार, प्रवासतर्फ लखेटिनु तथा जीवन गुमाउनुपर्ने जोखिमको सामना गर्नु सरह थियो । बहुदलीय व्यवस्थाको पुनस्र्थापना लगत्तै पछिको कालखण्डमा गणेशमान सिंह हुँदै कृष्णप्रसाद भट्टराईजस्ता ‘टल पर्सानिलिटी’का नेताहरूलाई आफैंले निर्माण गरेको पार्टी त्याग गर्नुपर्ने अवस्था सिर्जना गरियो । बचेखुचेका विवेकशील नेताहरूलाई किनारा लगाइयो । यही कालखण्डमा गुटगत भागबन्डाको संस्कारले अत्यधिक बढी वजन पाउन थाल्यो, पार्टीले गर्ने निर्णयहरूमा । गिरिजाप्रसाद कोइरालाको देहावसानपछिको कालखण्डमा त कार्यकर्ताहरूको हित तथा दलीय स्वर्थलाई भन्दा नेतृत्व पंक्तिमा हाबी हुनेहरूको व्यक्तिगत स्वार्थ तथा उनीहरूले नेतृत्व गरेको गुटका प्रभावशाली नेताहरूको स्वर्थहितका निमित्त पार्टीलाई औजारको रूपमा प्रयोग गर्ने प्रवृत्ति हाबी भएको छ, बिना कुनै रोकतोक ।

वर्तमान कालखण्डमा कांग्रेस पार्टीभित्र विगतका जस्ता ‘टल पर्सनालिटी’ भएका नेताहरूको अभाव भयो भनेर अलाप–विलाप गर्नेहरूको संख्या सानो छैन । आजका दिनसम्म आइपुग्दा त्यस्तो सोचको सान्दर्भिकता भने हराइसकेको छ । विगत तीन दशक लामो अवधिमा नेपाली राजनैतिक परिदृश्यमा आमुल परिवर्तन आइसकेको छ । कांग्रेस पार्टीमा विभिन्न पिँढीका उदयमान नेताहरूको उपस्थिति बाक्लिँदै छ । वर्तमान परिवेश सुहाउँदो तथा एक्काईसौ शताब्दीका चुनौतीहरूको सामना गर्न सक्ने क्षमतावान् नेताहरूको अभाव यो पार्टीमा छैन । त्यसैगरी कांग्रेस कार्यकर्ता पंक्तिको स्वरूप तथा चेतनास्तर आदिमा पनि आमुल परिवर्तन आइसकेको छ । देशको भौगोगिक विविधता एवं विविध जातीय तथा पेसागत पृष्ठभूमि भएका कार्यकर्ताहरूको समायोजनले यस पार्टीलाई इन्द्रेणी रङको संगठन तुल्याइदिएको छ । यदि कुनै अभाव छ भने त्यो यस संगठनभित्र रहेका नेता तथा कार्यकर्ताहरूको सशक्तीकरण कै हो । विद्यमान स्थापित नेतृत्वपंक्तिले जुनसुकै पिँढीका नेतृत्वलाई उत्साही तुल्याउनुको बदलामा तिनलाई हतोत्साही तथा निषेध गर्दै आएका छन् । आफूभन्दा क्षमतावान् नेता देखा पर्न थाल्यो भने उसको चारित्रिक हत्या गर्ने संस्कार वडा तहदेखि केन्द्रसम्म हाबी भएको छ । माफिया शैलीमा निर्माण गरिएका तीन गुटमध्ये एकको छहारीमा सामेल हुनुपर्ने ‘बाध्यात्मक’ अवस्था छ, कुनै पनि नेता तथा कार्यकर्तालाई स्थापित हुनका निमित्त । जतिसुकै गुटगत राजनीतिको भत्र्सना गर्ने उदयमान नेता र कार्यकर्ताका लागि पनि तीनमध्ये एक गुटसँग आबद्ध भएन भने अस्तित्व जोगाउन नै कठिन हुने अवस्था छ ।

बीपीको देवत्वकरण गरेर आफ्नो स्वार्थपूर्र्ति गर्न पल्केका वर्तमान नेतृत्व पिँढीले बीपीको ‘पार्टीलाई माध्यम बनाएर राष्ट्र नवनिर्माणतर्फ अग्रसर हुने’ सदिक्षा तथा उक्तिलाई बिर्सिसके । निरीह नेतामुखी कार्यकर्ताहरूको झुन्डले बीपीको आशय पूरा गर्न सक्दैन । त्यसका निमित्त कार्यकर्ताहरूमा आत्मविश्वास तथा आत्मसम्मानको भाव प्रचुर हुनु नितान्त आवश्यक छ । धरातलमा हँुदै गरेको गतिविधिहरूलाई आत्मसात् गर्ने हो भने कार्यकर्तालाई कजाएर उनीहरूलाई नेता आश्रित तुल्याइँदै छ, विगत तीन दशकदेखि । कार्यकर्ताहरूको मनोबल उच्च राखेर उनीहरूमा भएको आत्मसम्मान तथा विश्वासलाई राष्ट्र निर्माणतर्फ अग्रसर तुल्याउने जस्ता कार्यहरूको ठीक विपरीत तीभावहरूको निर्मम हत्या गर्ने पञ्चायती शैलीको अनुकरण गर्दैछ कांग्रेस पार्टीले । अनुदान, विभिन्न किसिमका आर्थिक सहयोग तथा बिना काम तलब भत्ता पाइने (हाटा) जस्ता कार्यकर्ताहरूको मनोबल गिराउने संस्कारलाई कांग्रेस पार्टीले निरन्तरता दियो । अर्थतन्त्रको आकार वृद्धि गरेर विकासको प्रतिफल वितरण गर्ने नीति अख्तियार गर्नुको बदलामा बजार कब्जा गर्ने प्रवृत्तिलाई सहयोग हुने आर्थिक नीति अपनाइयो । अनि मुनाफाखोरहरूको कमाइबाट प्राप्त हुने ‘कुत’लाई वितरण गरेर ‘मनकारी नेता’को छवि निर्माणमा लालायित भए नेताहरू । रोजगारीका अवसरहरू सिर्जना गर्नुको बदलामा सरकारी निकायहरूलाई कार्यकर्ता भर्ती केन्द्रका रूपमा उपयोग गरियो । त्यसका साथै नेताबाट ‘दिने’ बेरोजगारलाई रोजगारी, रोजगारी पाएकाहरूलाई ‘प्रमोसन’ देखि आर्थिक सहयोग उपलब्ध गराउने प्रथालाई संस्थागत तुल्याइयो । जसले गर्दा कार्यकर्ता तथा नेताबीचको सम्बन्ध दिने र लिनेमा परिणत हुन पुगेको छ ।

नेताहरूको निवासमा उपस्थित हुने कार्यकर्ताहरूको झुन्ड तथा नेताहरूको भ्रमणका अवसरहरूमा हुने उनीहरूको उपस्थिति तथा स्वागत सत्कारलाई प्रोत्साहित गरिएको छ । यस्तो प्रवृत्ति मौलाउनुमा नेताको व्यक्तिगत लोकप्रियता एवं प्रभावशालीताको मापदण्ड निवासमा कार्यकर्ता संख्या गन्ती तथा भ्रमण चाहे त्यो ‘चुनाव क्षेत्र’कै किन नहोस् तिनमा गरिने स्वागत सत्कारका अश्लील तामझामबाट निर्धारण गर्न थालिएको छ । कार्यकर्ताहरूको मूल्यांकन नै नेताको सामीप्यता तथा ‘चाकडी’मा जनाउने उपस्थितिबाट गरिने परिपाटी संस्थागत भइसकेको अवस्था छ । विद्यमान परिप्रेक्ष्यमा कार्यकर्ता गुटगत नेताहरूको पछाडि लागे भनेर सिकायत गर्नुको औचित्य छैन । तर संस्थागत हुँदै गएको यो विकृत संस्कारले गर्दा नेपाली कांग्रेसले आफ्नो पहिचान तथा मौलिकता गुमाउँदै गएको छ ।

हाबी हुँदै गरेका विसंगति तथा विकृतिहरूलाई पन्छाउन नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक दलमा सहज भने अवश्य पनि छैन । बन्द ढोकालाई एकै पटक उघार्नुभन्दा त्यसलाई बिस्तारै खोल्दै आफै बन्द हुन नदिने कार्य सरह हो । आसन्न १४औं महाधिवेशनले कार्यकर्ताहरूलाई ‘हामी तिमीहरूको निगाहको पात्र होइनौं’ भन्ने अवसर दिलाउँदै छ । कार्यकर्ताहरूले हामीहरूले गर्दा नै नेताहरू वर्तमान अवस्थामा पुगेका हुन् भन्ने यथार्थलाई आत्मसात् गर्नुपर्ने खाँचो छ । नेताहरूलाई आफ्नो दलको नेतृत्व गर्नका निमित्त कार्यकर्ताहरूले छानेका हुन् । नेताहरू जसले कांग्रेस आचरण अनुरूपको चरित्र निर्माण गर्न सकेका छैनन् तिनलाई पन्छाउने अबसर पनि हो यो ।

२०७७ मंसिर ७ गते प्रकाशित देशान्तर साप्ताहिकबाट