देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महासंघलाई गतिशील बनाउँदै नयाँ उचाइमा पुर्‍याउन हाम्रो टिम सक्षम छ

देशान्तर

चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्षका प्रत्याशी, नेपाल उद्योग वाणिज्य महासंघ

उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षको प्रत्याशी हुनुहुन्छ, चुनावको सन्दर्भमा कसरी अगाडि बढ्नु भएको छ ?

अब साधारणसभाको लागि एक हप्तामात्र बाँकी छ । कोभिडका कारणले खुल्ला कार्यक्रमहरू कम नै भएका छन् । अर्को कुरा म चुनाव वा कुनै विशेष समय परिस्थितिमा मात्र महासंघका कार्यक्रमहरू र देश दौडाहामा लाग्ने व्यक्ति होइन । हाम्रो व्यावसायिक नेटवर्क हरेक जिल्ला, नगर तथा टोलसम्म छ । मेरो यही व्यावसायिक नेटवर्ककै माध्यमबाट सबै जिल्ला तथा नगर, एसोसियट तथा वस्तुगतका सबै क्षेत्रका साथीहरूसँग निकै राम्रो सम्बन्ध बनेको छ । यस प्रकारको सम्बन्ध मेरो चुनावी तयारीको बलियो आधार हो । म उपाध्यक्ष भएदेखि नै महासंघका कार्यक्रमहरूमा नेपालभर निरन्तर पुगेको छु । यिनै कुराहरूलाई निरन्तरता दिँदै अहिले पनि म देशैभरिका व्यवसायी साथीहरूलाई भेटघाट गर्न सक्रिय छु । प्रदेश, जिल्ला/नगर तथा वस्तुगत संघका साथीहरूले मलाई नै विशेष आग्रह गरेर बोलाउने गर्नुभएको छ । उहाँहरूका आग्रहलाई सम्मान गर्दै म यथाशक्य स्थानहरूमा पुग्ने गरेको छु । त्यस प्रकारका जमघट तथा भेलाहरूमा व्यवसायी साथीहरूसँग अन्तर्किया गर्ने, उहाँहरूका गुनासा तथा अपेक्षाहरू सुन्ने गरेको छु । उहाँहरूको विश्वास जित्न सफल भएको छु । सबै क्षेत्रका साथीहरूले आफ्नो साझा उम्मेदवारका रूपमा मलाई हेर्नुभएको छ ।

पटकपटक साधारणसभाको मिति तोकिँदै स्थगित हुँदै आएको छ, यसपटक साधारणसभा सम्पन्न हुने कत्तिको सुनिश्चितता छ ?

अहिले परिस्थिति अनुकूल नै भएकोले साधारणसभा हुन्छ नै । नेपाल सरकारले पनि आवश्यक अनुमति प्रदान गरेको छ । यसका साथसाथै कोभिडका कारणले गर्दा हामीले साधारणसभालाई भर्चुअल गर्ने भनेका छौं भने निर्वाचनका लागि फरकफरक ठाउँहरूको व्यवस्था गरिएको छ । नेपाल सरकारले जारी गरेका सबै स्वास्थ्यसम्बन्धी प्रोटोकलहरू पूरा गरेर गरिने हुनाले त्यसमा कुनै समस्या छैन ।

वरिष्ठ उपाध्यक्षको प्रत्याशीलाई स्वतः अर्कोपटक महासंघको नेतृत्व गर्ने अवसर प्राप्त हुने व्यवस्था छ । यस सन्दर्भमा आम उद्योगी/व्यवसायीमाझ के सन्देश लिएर पुग्नुभएको छ ?

अहिलेको अवस्थामा मुख्य एजेन्डा भनेकै कोभिडबाट सिर्जित समस्यालाई सम्बोधन गर्ने र अर्थतन्त्रलाई कसरी लयमा फर्काउने भन्ने हो । कोभिडका कारण साना, मझौला तथा ठूला सबै खाले उद्योग समस्यमा परेका छन् । रोजगारी सिर्जना गर्नु छ र अर्थतन्त्रलाई चलायमान बनाउनु छ । यसका लागि राज्यसँग मिलेर अगाडि बढ्नुको विकल्प छैन । यतिमात्र नभई हाम्रो समूहले के गर्ने भन्ने विषय यसअघि नै सार्वजनिक गरिसकेका छौं । हामीले मूलतः एफएनसीसीआई भिजन २०२५ अन्तर्गत रहेर काम गर्नेछौं । नेपाल उद्योग वाणिज्य महासंघको पुनर्संरचनादेखि महासंघलाई निजी क्षेत्रको थिंक ट्यांकमा रूपान्तरण गर्ने र वास्तविक संघीय नेतृत्वदायी संगठन (एपेक्स बडी) निर्माण गर्ने योजना हाम्रो प्राथमिकतामा छन् । यस्तै, जिल्ला, नगर र प्रदेश महासंघको सबलीकरण, बलियो राज्य–निजी क्षेत्र साझेदारी, एमएसएमईका लागि संरचनागत व्यवस्था हाम्रा योजना र एजेन्डा हुन् ।

यतिमात्र हैन, हामी संकटमा परेका उद्योग–व्यवसायका लागि उद्धारको पहल गर्नेछौं भने लगानी आकर्षण, प्रोत्साहन र सहजीकरण तथा स्वच्छ व्यवसायको प्रवद्र्धन र सेवामा आधारित ज्ञान अर्थतन्त्रको प्रवद्र्धनमा पनि जोड दिनेछौं । औद्योगिक शान्ति र रोजगारदाता–श्रमिक सम्बन्धको सुढृदीकरण, निर्यात प्रबद्र्धनका लागि विदेशी समकक्षीहरूसँग साझेदारी, आर्थिक कूटनीति विस्तार, गैरभन्सार अवरोध हटाउने, आर्थिक गणना र एकीकृत तथ्यांकमा केन्द्रित हुने, परियोजना धितोमा लगानीको नीतिगत व्यवस्थामा जोड दिने, कर विवादको निरूपणलगायत महासंघले गर्नुपर्ने धेरै काम हामी नेतृत्वमा पुगेपछि गर्नेछौं ।

यसपटक सहमतिबाटै वरिष्ठ उपाध्यक्ष चयन गरिने चर्चा पनि चलेको थियो । तर तपाईंसँगै किशोर प्रधान पनि वरिष्ठ उपाध्यक्षको प्रत्याशी हुनुहुन्छ । सहमतिको सम्भावना छ कि छैन ?

सहमतिको सम्भावना अन्तिमसम्मै रहिनै रहन्छ । म सधैं सहमतिकै पक्षपाती हो । मेरो विगतलाई हेर्‍यो भने पनि त्यो स्पष्ट हुन्छ । महासंघको यात्रामा जहिले पनि म कि त सर्वसम्मत भएर आएको छु कि भने सबैभन्दा धेरै मतले विजयी भएर । तर, अहिलेसम्मको परिवेशलाई विश्लेषण गर्दा हाम्रो प्यानलले सबै पदाधिकारीसहित बहुमत केन्द्रीय सदस्यमा विजयी हासिल गर्ने सुनिश्चित भइसकेको छ । हालैमात्र पनि हामीले पश्चिमको धनगढीदेखि पूर्वको भेडेटारसम्म विभिन्न कार्यक्रमहरू गर्दै फर्केका छौं । मैले हाम्रो पक्षमा निकै राम्रो माहोल बनेको पाएँ । यसैबीच केही पूर्वअध्यक्षज्यूहरूले सहमतिका लागि पहल गरेको भन्ने सुनेको छु ।

आगामी अध्यक्ष र केही पूर्वअध्यक्षहरूको समर्थन खुलेरै किशोर प्रधानलाई गएको छ, यसले तपाईंलाई कत्तिको दबाबको अनुभूति भएको छ ?

निर्वाचन भनेको एउटा प्रजातान्तिक प्रक्रिया हो । यसमा आफूलाई मन परेको व्यक्तिलाई नेतृत्वमा पुर्‍याउने अधिकार सबै भोटर्सलाई हुन्छ । अनि निर्वाचनमा दुई पक्ष सहभागी भएपछि सबैले स्वतन्त्रतापूर्वक समर्थन गर्न पाउनुपर्छ र यो लोकतान्त्रिक संस्कारको म सदैव सम्मान पनि गर्दछु । महासंघलाई आजको स्थितिसम्म ल्याइपुर्‍याउन र हामीजस्ता लाखौं व्यवसायीको आस्थाको धरोहर बनाइरहन निश्चय पनि हाम्रा पूर्वअध्यक्षहरूको योगदान छ । त्यसकारण उहाँहरूप्रति मेरो सम्मान छ र भोलिका दिनमा पनि नेपालको चेम्बर आन्दोलनका अग्रजका रूपमा उहाँहरूप्रति हाम्रो सम्मान नै रहेनछ । मलाई लाग्छ महासंघका सबै पूर्वअध्यक्षहरूलाई विगतको जस्तो पक्ष विपक्षमा नलागी एउटै धागोले जोड्नु हामी सबैको कर्तव्य हो र म त्यसमा निश्चय पनि सफल हुनेछु । उहाँहरूले खोजेजस्तै महासंघलाई निजी क्षेत्रको आवाज मुखरित गर्ने सर्वोच्च संस्थाका रूपमा स्थापित गर्न र आर्थिक विकासमा राज्यका निमित्त थिंक ट्यांकका रूपमा महासंघलाई निर्विकल्प संस्था बनाउने मेरो ध्येय र उहाँहरूको विचारबीच भिन्नता छैन ।

तपाईंलाई सबैभन्दा बढी सहयोग र सपोर्ट कुनकुन ठाउँबाट आएको छ ?

वास्तवमा म पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्मका सबै व्यवसायी साथीहरूको आग्रहमा नै म उम्मेदवार बनेको हो । इतिहासका पाना पल्टाएर हेर्नुभयो भने म आफैं महासंघ कार्यकारिणी समितिमा एक कार्यकाल निर्विरोध सदस्यका रूपमा प्रवेश गरेर अर्को कार्यकाल सबैभन्दा बढी मत ल्याएर निर्वाचित सदस्य तथा त्यसपछिको निर्वाचनमा निर्विरोध निर्वाचित उपाध्यक्षका रूपमा रहेको छु । गत निर्वाचनमा शेखर गोल्छाजी र किशोर प्रधानजी वरिष्ठ उपाध्यक्षका रूपमा प्रतिस्पर्धा गरिरहनु हुँदा दुवैको रोजाइमा म नै थिएँ र स्वाभाविक रूपमा निर्विरोध निर्वाचित भएँ । महासंघमा रहेर मैले यसको प्रतिष्ठा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बढाउन भूमिका खेलेको आम सदस्य साथीहरूलाई थाहा छ भने वस्तुगत र एसोसिएट क्षेत्रमा म आफैं प्रत्यक्ष संलग्न रहेकाले त्यहाँ मेरो र हाम्रो समूहको बलियो उपस्थिति रहेको प्रष्ट छ । जिल्ला, नगर उद्योग वाणिज्य संघका साथीहरूले वर्षौंपछि हामीले खोजेजस्तै नेतृत्व पाउने भयौं भनिरहनुभएको छ । यी सबै मेरो र हाम्रो समूहको विजयका आधार हुन् ।

अन्त्यमा, आफ्नो जितप्रति कत्तिको विश्वस्त हुनुहुन्छ ?

आसन्न नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा म र हाम्रो टिम विजयी हुने तीन वटा प्रमुख आधारहरू छन्; पहिलो आधार भनेको, वरिष्ठ उपाध्यक्षमा दिइएको मेरो उम्मेदवारीमा सानादेखि ठूला उद्योगी, व्यवसायी एवम् पेसागत लगानीकर्ताहरूले अपनत्व महसुस गर्नुभएको छ र उत्साहित हुनुहुन्छ । म सधै व्यावसायिक हक, हित र अधिकारका पक्षमा लाग्ने हुनाले सबै व्यवसायी साथीहरूले मलाई नेतृत्वमा आउन आग्रह गर्नुभएको हो । मैले महासंघको नेतृत्व तहमा रहेर विगतमा खेलेको भूमिका तथा मेरो व्यक्तिगत व्यवहारका कारण उहाँहरूले यस्तो अपेक्षा गर्नुभएको मैले बुझेको छु । उहाँहरूले मलाई साझा उम्मेदवारका रूपमा हेर्नु भएको छ । यसलाई म चुनाव जित्ने बलियो आधारको रूपमा लिएको छु ।

त्यस्तै, हाम्रो व्यावसायिक नेटवर्क ७७ जिल्ला, नगर तथा टोलसम्म पुगेको छ । रेमिट्यान्स, बैंक, इन्सुरेन्स, मोटर्सलगायत धेरै क्षेत्रमार्फत जिल्लाका व्यवसायी साथीहरूसँग हामी जोडिएका छौं। मेरो यही व्यावसायिक नेटवर्ककै माध्यमबाट अहिले मेरो सबै जिल्ला तथा नगर, एसोसियट तथा वस्तुगतका सबै क्षेत्रमा निकै राम्रो अवस्था छ । यसले मेरो जितलाई सुनिश्चित गरिसकेको छ । यो मेरो दोस्रो बलियो आधार हो ।

तेस्रो महत्वपूर्ण आधार भनेको हाम्रो टिम हो, जसले गाउँ जिल्ला, नगरदेखि अन्तर्राष्ट्रियस्तरसम्म र नीतिगत तहसम्म पहुँच पुर्‍याउन सक्ने हैसियत राख्दछ । यसले साना तथा ठूला व्यवसायीका समस्याहरूको समाधानमा सक्रिय भूमिका निभाउन सक्छ । समाधान खोज्न सक्छ । महासंघको संस्थागत क्षमता अभिवृद्धिसँगै यसलाई गतिशील बनाउँदं नयाँ उचाइमा पुर्‍याउन हाम्रो टिम सक्षम अनि प्रतिबद्ध छ ।