देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली जनसम्पर्क समिति विश्व सञ्जालका नवनियुक्त संरक्षक, सल्लाहकार र क्षेत्रीय कार्यसमिति सदस्यहरुलाई नेता केसीको स्वागत

देशान्तर

न्यूयोर्क (अमेरिका) । नेपाली जनसम्पर्क अन्तर्राष्ट्रिय समन्वय समिति विश्व संजालले आफ्ना नवनियुक्त संरक्षक तथा सल्लाहकार एवं हालसालै यूरोप र अफ्रिकाको भेलाबाट नवगठित क्षेत्रीय कार्यसमिति पदाधिकारी तथा सदस्यहरुलाई स्वागत गर्दै बधाई तथा शुभकामना आदान–प्रदान गरेको छ । यही नोभेम्बर ८ तारिखका दिन नेपाली कांग्रेसका पूर्व मन्त्री एवं केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको प्रमुख आतिथ्यतामा जुममार्फत स्वागत, बाधाई ज्ञापन एवं शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

विश्व सञ्जालका संयोजक विष्णु सुवेदीको सभापतित्वमा आयोजित कार्यक्रममा नेता केसीले विश्व सञ्जालका नवनियुक्त संरक्षक तथा सल्लाहकार एवं क्षेत्रीय संयोजकहरुलाई बधाई दिर्दै सफल कार्यकालको शुभकामना प्रदान गरे । उनले विश्व सञ्जाललाई अझ सशक्त र जीवन्त बनाउन आग्रह गर्दै विश्वभरी छरिएर रहेका लोकतन्त्रवादी नेपालीहरुलाई गोलबद्ध गरेर अगाडि बढ्नुपर्ने सुझाव दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै केसीले नेपाल यतिबेला कठिन मोडबाट गुज्रिरहेकोले बताए । उनले मुलुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय द्वन्द्वको भासमा फस्दै गएको र लोकतन्त्र मात्रै हैन राष्ट्रियता नै संकटमा परेको उल्लेख गर्दै यो चुनौतीको सामना र व्यवस्थापन गर्न नेपाली कांग्रेसले मात्रै सक्ने बताए । उनले कम्युनिष्टहरुको जालझेललाई प्रतिकार गर्न नेपाली कांग्रेसले स्वार्थविहीन संकल्प गर्दै पार्टीलाई नीति र विधानको आधारमा एक ढिक्का बनाउनुपर्ने आवश्यकता औल्याए । कांग्रेसको वर्तमान नेतृत्व स्वेच्छाचारी ढंगले अघि बढेका कारण नेपाली कांग्रेसको शक्ति क्षीण हुँदै गएकोले आगामी महाधिवेशनबाट पार्टीमा वैचारिक पुनर्जागरण ल्याउँदै सामुहिक नेतृत्वको अभ्यासमा जानुपर्ने आवश्यकता रहेको औल्याए ।

पार्टीभित्र देखिएको द्वन्द्वको अवस्थाबाट पार पाउन सहमतिको विकल्प नभएको पनि उनले बताए । ‘हाम्रो पार्टीभित्रको द्वन्द्वलाई चिर्न सहमतिको विकल्प छैन । तर जबसम्म विधान बमोजिम पार्टी नेतृत्व अघि बढ्दैन तबसम्म सहमति हुन पनि सक्दैन, देउवाजी र पौडेलजीले हात मिलाएर सहमति भयो भन्दैमा हुँदैन’, केसीले भने ।

केसीले नेपाली कांग्रेसप्रति आस्था राख्नेहरुले सत्तालाई नभएर सत्यलाई, नेतालाई नभएर नीतिलाई साथ दिनुपर्ने बताउँदै आफू यतिबेला यही अभियान बोकेर अघि बढीरहेको बताए । उनले जनसम्पर्क समिति भित्रका समस्या पनि विधान बमोजिम हल हुनुपर्नेमा जोड दिए ।

सञ्जालका महामन्त्री चिन्तामणि सापकोटाले संचालन गरेको कार्यक्रममा विश्व सञ्जालका उपसभापति नवराज शिवाकोटीले स्वागत मन्तव्य राखेका थिए । सञ्जालका संरक्षकहरु विश्व आदर्श पण्डित, दुर्गा आचार्य, पुष्प थापा, ध्रुव पौडेल, केपी सिटौला, धर्मराज अधिकारी, हरि पौडेल, युवा नेता हरिबोल भण्डारी, डा. केशव पौडेल लगायतका वक्ताहरुले देशलाई बचाउने हो भने कांग्रेसलाई बचाउनुपर्ने र कांग्रेसलाई बचाउनको निम्ती राष्ट्रको नेता बन्ने हैसियत भएकालाई नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिए । कार्यक्रमका वक्ताहरुले कांग्रेसलाई गुट उपगुटको भूमरीबाट बाहिर निकालेर विधानलाई सर्वोपरी मानेर पार्टी संचालन हुनुपर्ने बताए ।

कार्यक्रमका सभापति विष्णु सुवेदीले विश्व सञ्जाल नेपाली कांग्रेस र लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउने अभियानमा अघि बढीरहेको जनाउँदै विश्वभरी छरिएर रहेका लोकतन्त्रवादी नेपालीहरुलाई विश्व सञ्जालको छातामुनी गोलवद्ध हुन आह्वान गरे । कार्यक्रममा सुवेदीले नेपाली जनसम्पर्क समिति विश्व संजालमा नवनियुक्त संरक्षकहरू तथा सल्लाहकारहरूलाई स्वागत गर्दै यूरोप र अफ्रिकाको भेलाबाट नवगठित क्षेत्रीय कार्यसमितिलाई बधाइ तथा शुभकामना ज्ञापन गरेका थिए । उनले निकट भविष्यमै सञ्जालले अन्य महादेशस्तरीय शाखाहरु पनि गठन गर्दै अघि बढ्ने तयारी गरिरहेको जानकारी दिए ।

गत अक्टोबर १८ तारिखमा सम्पन्न सञ्जालको भर्चुअल भेलाले विश्व आदर्श पण्डित (बेलायत), डा. यादव पण्डित (अमेरिका), हरि पौडेल (नेदरल्याण्ड), किरण प्रधान (फ्रान्स), प्यूस दाहाल (अमेरिका), माधव आचार्य (स्वीरजरल्याण्ड), दुर्गा आचार्य (अस्ट्रेलिया), केपी सिटौला (कोरिया), धर्मराज अधिकारी (जापान), पुष्प थापा (जर्मनी), ध्रुव पौडेल (पोर्चुगल) र विश्व बराल (अमेरिका)लाई सञ्जालको संरक्षकमा मनोनित गरेको थियो ।

यसैगरी उक्त भेलाले सञ्जालको सल्लाहकारहरूमा इन्द्र क्षेत्री (बेल्जीयम), धनञ्जय ढकाल (अमेरिका), डा. सम्पूर्णानन्द ढुंगाना (बेलायत), विज्ञान प्रसाई (बेलायत), श्रीकृष्ण सुवेदी (इटाली), डा. गोविन्द कोइराला (अमेरिका), ठाकुरप्रसाद शर्मा (नेदरल्याण्ड), नविन पौडेल (डेनमार्क), तिलक गैरे (पोर्चुगल), डा. अग्नीराज कोइराला (कोरिया), सुवास लोहनी (जापान), दिनेश जोशी (अस्ट्रेलिया), हिक्मत थापा (नाइजेरिया), प्रकाश धमला (कोरिया), शुक्रराज न्यौपाने (आयरल्याण्ड), त्रिलोचन सापकोटा (डेनमार्क) र विजन भट्ट (बेलायत)लाई मनोनित गरिएको थियो ।

भेलाले विश्व सञ्जालको क्षेत्रीय संगठन गठन गर्दै क्षेत्रीय संयोजकहरु समेत तोकेको थियो । जसअनुरुप सञ्जालको युरोप महादेशीय शाखा संयोजकमा शेखर कडेल र अफ्रिका महादेशीय शाखा संयोजकमा कृष्णदत्त भट्टलाई चयन गरेको छ ।