देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौँ उपत्यकामा मात्र २० हजार सक्रिय कोरोना सङ्क्रमित

देशान्तर

काठमाडौँ । काठमाडौँ उपत्यकामा अहिलेसम्म ९० हजारमा कोरोना भाइरसको सङ्क्रमण मानिसमा देखिएको छ भने निको भएका सङ्ख्या घटाउँदा हाल २० हजार सक्रिय सङ्क्रमित देखिएका छन् ।

देशभर एक लाख ९७ हजार २४ सङ्क्रमित हुँदा उपत्यकामा ९० हजार १५५ सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । यसमा, काठमाडौँ जिल्लामा ७३ हजार २०३ जना, भक्तपुरमा छ हजार ५९८ जना र ललितपुरमा १० हजार ३५४ जना रहेका छन् । आज मात्र उपत्यकामा एक हजार ४२८ जना सङ्क्रमित भएका छन् । तीमध्ये ६३० महिला र ७९८ पुरुष रहेका छन् ।

देशभर ३६ हजार १७४ सक्रिय सङ्क्रमित हुँदा काठमाडौँ उपत्यकामा १९ हजार ३८४ जना रहेका छन् । काठमाडौँ जिल्लामा १५ हजार ९८२ जना, भक्तपुरमा एक हजार १४३ जना र ललितपुरमा दुई हजार २५९ जना सक्रिय सङक्रमित रहेका छन ।

देशभर निको हुने एक लाख ५९ हजार ७२४ जना भएकामा उपत्यकामा मात्र ७० हजार ३५६ जना रहेका छन् । तीमध्ये काठमाडौँ जिल्लामा ५६ हजार ९४६, भक्तपुरमा पाँच हजार ३८३ र ललितपुरमा आठ हजार २७ जना निको भई घर फर्किएका छन् । देशभर कूल निको हुने दर ८१ प्रतिशत रहेको छ ।

देशभर एक हजार १२६ जना सङ्क्रमणबाट निधन भएकोमा उपत्यकामात्र ४१५ जना रहेका छन । तीमध्ये काठमाडौँ जिल्लामा २७५ जना, भक्तपुरमा ७२ र ललितपुरमा ६८ जना रहेका छन् । अहिलेसम्म काठमाडौँ जिल्लामा ११ हजार ६५१ जना, भक्तपुरमा एक हजार ८१४ जना र ललितपुरमा एक हजार ८३१ जना आइसोलेसनमा रहेका छन् ।

अहिले देशभर ३६ हजार १७४ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये २९ हजार ८३६ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेका मध्ये ४११ जनाको सघन उपचार कक्ष (आईसीयू) र ८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभर ९ सय ६७ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म १५ लाख ५१ हजार २५४ जनाको पीसीआर भएको छ ।

देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ७१ जनामा कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार १७७ जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५१ महिला र १ हजार ५२० पुरुष गरी उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

थप १८ को मृत्यु
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार १२६ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।