November 29, 2020, Sunday
२०७७ मंसिर १५
ताजा अपडेट
ताजा अपडेट ×

मेरो घरमा राजा त्रिभुवनको चासो

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

मेरा पर्सनल सेक्रेटरी चूडानन्द र साथी इन्द्रभक्त श्रेष्ठलाई बहादुरशमशेरसँग घरको कुरा छिन्न पठाएँ । मैले उनीहरूलाई यति हिदायतचाहिँ अवश्य दिएको थिएँ कि म सित्तैमा घर लिन्नँ, लागेको मोल तिरेर मात्र लिन्छु । मनासिव माफिकको मोल राख्न लगाउनु, जसबाट लिने र दिने दुवैथरीलाई मर्का नपरोस् ।

उनीहरूले ज—जसलाई भेट गर्नुपर्ने हो भेट र कुराकानी गरिसकेपछि आएर खबर ल्याए— १२ रोपनी जग्गा भएको कम्पाउन्डसहितको बंगलाको मूल्य ४५ हजारमा कुरा छिनियो । प्रचलित बजार भाउअनुसार त्यो मूल्य सस्तै हो, महँगो होइन भन्ने उनीहरूको निष्कर्ष थियो । त्यसपछि समस्या खडा भयो, त्यत्रो रकम जुटाउने कसरी ? मैले ऋण लिनुपर्ने भयो । ऋण लिन सजिलो थिएन ।

Advertisement

नेताहरूलाई ऋण दिनु र कुकुरलाई मासु पैंचो दिनु एकै हो भन्ठान्थे मानिसहरू । त्यसैले अरूलाई गुहार्नुभन्दा आफ्नै आमा, बज्यै र मंगलादेवीको गहना बेच्नु उत्तम विकल्प हो भन्ने निष्कर्ष निक्लियो । त्यत्ति गरिसकेपछि पनि रकम पुगेन भने जति पुग्दैन, त्यत्तिचाहिँ तेजारथ अड्डाबाट सापटी लिएर काम चलाउने सल्लाह भयो । त्यसअनुसार पहिले गहना जम्मा गर्ने काम भयो । मेरी बज्यै, जो हिँडडुल गर्न नसक्ने भइसक्नु भएको थियो, उहाँले आमालाई आफ्ना एक एक तोलाका आधा दर्जन सुनका चुरा दिन भन्नु भएको रहेछ, आमाले पनि आधा दर्जन चुराका अतिरिक्त असली हीराको टप एक सेट र मंगलादेवीलाई जेठाबाजे बडाकाजी रत्नमानले बिहामा दिनु भएको पाँच तोलाको सिक्रीसहितका गहना सुक्रिबिक्री गर्दा पनि १०।१२ हजारभन्दा बढी भएन । पैसा नपुगेर फत्राक्फत्राक् परेको कुरा आमाले थाहा पाएपछि मलाई अर्को सल्लाह दिनुभयो, जुन साह्रै उपयोगी सावित भयो । त्यो थियो, किलागलको हामी बसिरहेको घरको छिँडीको तला बहालमा लिन खोज्नेलाई पूरै घर निश्चित अवधिका लागि दिने । पित्तलका भाँडाको पसल राख्न पाटनका साहुले आमासँग घर मागेका रहेछन् । कुरा चल्दाचल्दै त्यो घर मन्त्री निवासमा परिणत भएपछि उनले माग्न बन्द गरेका रहेछन् । नयाँ घर किनेर मन्त्रीका परिवार नै सर्ने भएका छन् भन्ने सुनेपछि फेरि आएर उनले आमालाई पसलका कवल अरूलाई नदिनु होला, लागेको मोल तिर्छु भनेका रहेछन् । उनी एकमुष्ठ १० हजार दिन्छन् भने १० वर्षका लागि उनको पैसाको ब्याज छैन, हाम्रो घरको भाडा छैन भन्ने सर्तमा दिए कसो होला भनेर सोध्नुभयो ।

आमाको व्यावहारिक सुझाव, छोराका निम्ति आशीर्वाद थियो, मेरो मनको ठूलो बोझ हट्यो । मैले तेजारथ अड्डामा बुझ्न लगाएँ । ४० हजारसम्म सापटी लिन पाउने भएँ । मलाई त्यत्ति पनि नचाहिने भएकाले घर किन्ने कुरा, अब पक्कापक्की हुन पुगेको थियो ।

त्यसैबीच एक दिन राजदरवारबाट फोन आयो, सरकारबाट भेट्न चाहिबक्सेको छ, मन्त्रीज्यूको अनुकूल समयमा भेट मिलाउन हुकुम भएको छ, साँझको समय कस्तो होला ? राजाले भेट्न खोजेपछि नभेट्ने कुरै थिएन, दरबारका सचिवलाई भनेंं– कति बजे सरकारलाई सुविधा हुन्छ, त्यही समय मिलाएर खबर गरे हुन्छ । साँढे सात बजेको समय आयो । ठीक समयमा म पुगें । माघको महिना बाहिर चिसो थियो तर राजाको सानो बैठक कोठामा चारैतिर हिटर भएकाले चिसो स्याँठ पस्न सक्ने कुरै भएन । म गएर सोफामा बस्न नपाउँदै मलाई कुराउन नपरोस् भनेर राजाको पनि सवारी भयो । जुरुक्क उठेर दुवै हात उठाएर नमस्कार गरें ।

राजाले सोधे– मन्त्रीजी, अपरेसन गराएर आउनुभयो, अहिले स्वास्थ्य कस्तो छ ?

मैले अदवसाथ जवाफ दिएँ– ठीक छ सरकार, सामान्य अपरेसन थियो । घाउ भरिन मात्र बाँकी छ, अरू सबै ठीक छ ।

– एन्टिबायोटिक खान सिद्धियो कि खाँदै हुनुहुन्छ ?

– एक साताको कोर्स थियो । उहिलै सकियो ।

राजाले हाँसेर भने– ल राम्रो भयो, आज तपाईंसँग बसेर पिउन पाइने भयो । मैले साँझ भेटुँ भनेको कारण तपाईंसँग बसेर पिउन हो ।

राजाले मानिस बोलाए र ल्याउन अह्राए । तुरुन्तै दुईजना आए र ब्हिस्की, सोडा र पानी राखिदिएर गए । तेस्रो व्यक्तिले आएर काजु, चिनियाँ बदाम, किसमिस आदि कफी टेबुलमा राखेर व्हिस्की तयार पार्न थाल्यो । राजा मसँग नेवारी भाषामा जिस्किन थाले ।

राजा त्रिभुवन, नेवारभन्दा राम्रो नेवारी बोल्थे । मसँग जहिले पनि भेट हुँदा नेवारीमा कुरा गर्न रुचाउने भएकाले म पनि एकान्त पर्नासाथ उनीसँग उनलाई मनपर्ने भाषामै कुरा गर्थें । उनी दंग पर्थे । तर त्यस दिन मैले होइन, उनैले नेवारीमा संवाद सुरु गरेका थिए ।

हामीले लगभग दुई पेग ब्हिस्की पिइसकेका थियौ । त्यसै बेला राजाले अकस्मात सोधे– होइन, मन्त्रीजी ! तपाईंलाई घरको सारै समस्या रहेछ, मैले अरूबाट पनि सुनें, नयाँ घर किन्न लाग्नु भएको हो ?

मैले उत्तर दिएँ– हो सरकार ! घर त पहिले नै साँघुरो थियो । मंगलादेवी सुत्केरी भएपछि झन् ठाउँ नपुग्ने भयो । त्यसैले साथीहरूलाई एउटा घर खोज्न लगाएको थिएँ । क्षेत्रपाटी र ठमेलको बीचमा बहादुरशमशेरको एउटा बंगला रहेछ, त्यही लिने विचार गर्दैछु ।

उनले भने– साह्रै राम्रो गर्नु भयो । एउटा गतिलो घर त चाहिन्छ नि । तपार्इं मन्त्री मात्र होइन, यति ठूलो नेता पनि हो ।

मैले भनें– सरकार, म त आफ्नो घर बनाउन होइन, सबै नेपालीको घर बनोस् भनेर राजनीतिमा लागेको मानिस, पहिले आफ्नै घर जोड्नु पर्दा असाध्य अप्ठ्यारो लागेको छ । तर मेरो मात्र कुरा भएन, परिवारको समस्या पनि हेर्नुप¥यो । पार्टीको सिफारिसमा सरकारबाट मलाई मन्त्री बनाइबक्स्यो, त्यो पदको मर्यादा पनि कायम राख्नै प¥यो । त्यसैले घर लिनु मेरो बाध्यता बन्यो ।

राजाले बडो प्रसन्नता व्यक्त गर्दै भने– ठीक भन्नुभयो । तपाईंलाई घर चाहिन्छ । एक क्षण अडिएर फेरि भने, यसो गर्नोस् म तपार्इंलाई दुई लाख रुपियाँ पठाइदिन्छु । त्यसले तपाईंको समस्या टरिहाल्छ । मैले किन त्यसो भनेको भने देश र प्रजातन्त्रका लागि तपाईंको त्याग र तपस्या त्यत्ति ठूलो छ । विगतमा तपाईंले कति दुःख र कष्ट सहनुभयो, त्यो सबैलाई थाहा छ । तैपनि तपार्इं अहिले मन्त्री हुनुहुन्छ र प्रजातन्त्र तपार्इं हामीले नै ल्याएको हौं । भोलि तपाईंले घर कसरी किन्नुभयो भन्ने प्रश्न यिनैले उठाउने छन् । तपाईंमाथि कसैले औंला उठाउनु भनेको कांग्रेस र प्रजातन्त्रमाथि आक्षेप लगाउनु हो । तर कतिजनाले त्यो कुरा बुझ्छन् ? त्यसैले मैले तपाईंलाई त्यो रकम पठाउन लागेको हुँ । त्यसको प्रचार मेरातर्फबाट हुँदैन । आवश्यक प¥यो भने तपाईंले सार्वजनिक गर्नु भए पनि मैले चित्त दुखाउने छैन ।

सुनेर मैले मनमनै सोचें, लौ, यो ठकुरीले मलाई किन्न खोज्यो बा ! तर प्रकटमा चाहिँ यति मात्र भनें– सरकारबाट मेराप्रति यत्रो सदाशयता प्रकट भयो, त्यसका निम्ति म अनुगृहित छु । तर पैसा पठाउने कष्ट गरिबक्सनु पर्दैन, किनभने मैले घर लिन चाहिने बन्दोवस्त गरिसकेको छु । बज्यै, आमा र मंगलादेवीका गहनाका अतिरिक्त पुरानो घर १० वर्षका लागि बहालमा दिएर प्राप्त हुने रकमले पनि जति पुग्दैन त्यति तेजारथ अड्डाबाट सापटी लिने व्यवस्था भइसकेको छ । त्यसमा चिन्ता लिइबक्सनु पर्दैन । जहाँसम्म कुरा काट्ने र विरोधको सवाल छ, त्यो त हुने नै छ । हामीले नै त्यो अधिकार सबैलाई दिलाएकाले उनीहरूले त्यसको प्रयोग गर्छन् भनेर डराउन पर्दैन । न बिराउनु न डराउनु भन्ने उखानै छ, म जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छु ।

अप्रत्याशित जवाफ सुनेर राजा त्रिभुवनको उज्यालो अनुहार एकाएक रातो भयो । तैपनि हाँस्ने प्रयास गर्दै भने— तपाईंले माइन्ड गर्नु भयोजस्तो छ । तपाईं कति स्वाभिमान हुनुहुन्छ, त्यो मलाई थाहा छ । तपाईंको त्यही स्वाभिमानले यो देश र हामी सबैमाथि ठूलो ऋण लगाउनु भएको छ । त्यो ऋण तिरेर तिर्न सकिने होइन । मैले त त्यसको अलिकता भार मात्र हल्का गर्न खोजेको हो । अन्यथा नलिनुस् गणेशमानजी ! हाम्रो सम्बन्ध रकमकलमको होइन । तपाईंको छवि खराब नहोस् भन्ने चिन्ताले मैले सानो सहयोग गर्न खोजेको हो, त्यो नचाहिने भएछ, राम्रै भयो । तपाईंजस्ता मन्त्रीको राजा हुन पाएकोमा मलाई गर्व छ । उनको उन्मुक्त हाँसोले बताउँथ्यो, तनावमुक्त भइसकेका छन् ।
मैले हाँसेर धन्यवाद भनें र बिदा मागेर आफ्नो बाटो लागें ।

त्यो घटनाको एक सातापछि रजिस्ट्रेसन पास भयो । त्यसरी म पहिलोपल्ट ऋण लिएर भए पनि घरधनी बन्न पुगेको थिएँ ।

(लौह पुरुष गणेशमान सिंहको १०६औं जन्मजयन्तीका अवसरमा मेरो कथाका पानाहरूको तेस्रो खण्डबाट साभार)


  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares