चार पंक्तिमा रचना गरिने काव्यको लघुत्तम रूप हो मुक्तक ।
संस्कृतको चतुष्पदीको परिवर्तित रूपका रूपमा पनि मुक्तकलाई लिने गरिएको छ भने फारसीको रुवाइको अर्को रूपका रूपमा पनि मुक्तकलाई लिने गरिएको छ । तथापि, यसका जानकारहरू यी तीनै विषय अलगअलग भएको बताउँदै आएका छन् । यो बहसको जिम्मा उनै विशेषज्ञ र खोजकर्तालाई छाडिदिऊँ ।
विक्रमको २०३० को दशकबाट निकै राम्ररी फस्टाएको हो मुक्तक । बीचमा पनि मुक्तक लेखनले निरन्तरता पाइरह्यो । आजसम्म यो निरन्तरता कायम छ र देश, विदेशमा रहेका धेरै नेपाली स्रष्टाले मुक्तक लेखिरहेका छन् ।
लोकजीवनमै जन्मे, हुर्केर लोकभाकामै बाँचेका स्रष्टा हुन्, देवेन्द्र केसी ‘देवु’ । सौन्दर्यकी रानी पोखराका स्रष्टा देवुमा त्यस परिवेशको लोकजीवन र लोकभाका खर्लप्पै सरेको छ । उनका गीत, कविता वा मुक्तकमा समेत यसको प्रतिच्छाया देखिन्छ ।
लोकजीवन, लोकसंस्कृति, लोकसाहित्य र लोकसङ्गीत हाम्रा अमूल्य निधि पनि हुन् । आयातीत संस्कृति र सङ्गीतले गाँजिरहेको यस समयमा हाम्रै लोकगाथा, लोक सभ्यता र लोक मान्यताहरूको उत्थानमा साहित्यमार्फत सक्रिय स्रष्टा हुन् देवु ।
उनी विशेषगरी गीत, कविता र मुक्तकमा कलम चलाउँछन् । देवु पछिल्लो समय काव्यका लघु विधाहरू गीत र मुक्तकमा बढी सक्रिय देखिन्छन् । यसै क्रममा उनको एउटा गीति एल्बम ‘यो जुनीमा यस्तै भयो’ र चौथो साहित्यिक कृति मुक्तकसङ्ग्रह ‘इमानको पहाड’ साथसाथ बजारमा आएका छन् ।
सिर्जना गर्नु साधना हो । साधकले सधैँ केही नयाँ कुरा दिन चाहन्छ भने नयाँ कुराको खोजी पनि गरिरहन्छ । साधकले पुरानै कुरालाई नयाँ रूपले पनि दिन सक्छ । अहिले मौलिक भन्ने चिज पाउन गाह्रो भइसकेको अवस्था छ तर यसो भन्दैमा मौलिकता गुमेको मान्नु हुँदैन ।
पूर्वनिर्मित, पूर्वरचित विषय, वस्तु र चिजलाई पनि नयाँ तथा फरक ढङ्गले प्रस्तुत गर्न सक्नुमा पनि मौलिकता हुन सक्छ । देवुका रचनामा पनि विषयहरू पुरानै होलान्, सन्दर्भ पुरानै ढङ्गका होलान् तर शब्दप्रयोग, प्रस्तुति शिल्प र भाव सम्प्रेषणका हिसाबले नौला पनि लाग्छन् ।
देवुका मुक्तकका केही बान्की हेरौँ :
कसैले इमानदारीको गुणगान गाए
कसैले सत्य र न्यायको बखान सुनाए
इमान, सत्य र न्याय पर्दा पछाडि रोए
बेइमान, भ्रष्ट र घातीले धन–मान कमाए ।
दुष्ट मति पसिसकेपछि केही लाग्दो रहेनछ
कुलतमा फसिसकेपछि केही लाग्दो रहेनछ
माटोको माया नै नलागेपछि बाँकी के नै रह्यो र ?
इमानबाटै खसिसकेपछि केही लाग्दो रहेनछ ।
भो चाहिँदैन बरु सहानुभूति इमान बाँचे पुग्छ
तिम्रो खुट्टा पनि देखियो रत्यौली ननाचे पुग्छ
सतीले सरापेको भन्ने चरितार्थ नै भइसकेपछि
घर त हाँसेकै छ लाजले अब जग नहाँसे पुग्छ ।
वास्तवमा देवुले आफ्ना अधिकांश रचनाका विषय प्रकृति र इमानलाई बनाएका छन् । उनका रचनामा कि त प्राकृतिक सौन्दर्यको वर्णन र त्यसको जीवनसँगको साइनो हुन्छ भने कि मान्छे हुनुको आधार अर्थात् इमान हुन्छ । इमानलाई बाँच्नुको सार मान्ने देवुले लामो समय सरकारी सेवामा व्यतीत गरेका छन् ।
यही क्रममा देवुले आफूले देशदेशावर घुम्दा, डुल्दा देखेका, भोगेका, अनुभव गरेका विषय सन्दर्भलाई पनि आफ्ना सिर्जनाका विषय बनाएका छन् । मुलुकको जर्जर राजनीतिक, आर्थिक अवस्था, असामाजिक मानवीय हर्कत, मान्छेभित्रको दुष्टता, बेमेल, महँगी, अत्याचार, अन्याय, शोषणजस्ता विषय सन्दर्भ देवुका रचनाका विषय र स्रोत देखिन्छन् ।
प्राकृतिक सौन्दर्यप्रतिको मोह, प्रकृति र मानवबीचका अन्तरसम्बन्धहरू, शाश्वत र हार्दिक प्रेम पनि देवुका मुक्तकका विषय हुन् ।
प्रतिक्रिया