देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देउवा उम्मेदवार नै बन्नुहुन्न भन्ने मेरो विश्वास छ

देशान्तर

के मा व्यस्त हुनुहुन्छ आज भोलि ?
पार्टीको विधि र विधानविपरीत सभापतिले काम गर्नुभयो भनेर हामीले १६ बुँदे ज्ञापनपत्र बुझाएका छौं । केन्द्रीय कार्यसमितिको बैठक अगाडि हामीले सभापतिलाई बुझाएको १६ बुँदे ज्ञापनपत्रमा उल्लेख भएका विषयहरू पार्टी विधिबाट चल्नुपर्छ, विधान विपरीत भएका विषयहरू सच्याउनुपर्छ भन्ने हाम्रो माग छ । अल्पमत र बहुमतका आधारमा केन्द्रीय समितिले विधि र विधानलाई मिच्न मिल्दैन भन्ने मूल आशयका साथ विभिन्न ठाउँको समायोजन, क्रियाशील सदस्यता नवीकरण, वितरण, विभागहरूको गठनजस्ता थुप्रै कुराहरू छन् यी सच्याउनु पर्छ भन्ने हाम्रो माग छ । यी विषयहरू सम्बोधन भएनन् भने महाधिवेशनको निष्पक्षतामाथि पनि प्रश्न उठ्छ । हामीले ज्ञापनपत्र बुझाएपछि सभापतिजीले यसलाई कसरी समाधान गर्ने भन्ने विषयमा परामर्श गर्न भनेर बैठक बोलाउनुभएको छ त्यो बैठकमा उहाँले सबैलाई मान्य हुने प्रस्ताव लिएर आउनुहुन्छ भन्ने विश्वास छ । हामी त्यसैको तयारीमा अहिले व्यस्त पनि छौं ।

तपाईंहरूले सुझाव त यसअघि पनि दिनुभएको थियो, तर कार्यान्वयन भएको छैन ?

अहिले पार्टीको महामन्त्री डा. शशांक कोइरालाले नै सभापतिले विधान विपरीत गर्नुभयो भनेर भनिसक्नु भएको छ । नेपाली कांग्रेसका सभापति र महामन्त्रीले नै चलाउनु भएकाले र अहिलेका महामन्त्री कोइराला साह्रै कम बोल्ने व्यक्ति, त्यसैगरी सभापतिसँगै चुनाव मात्रै लड्नु भएन, उहाँसँगै लामो समयदेखि प्रजातान्त्रिक आन्दोलनमा रहेका वरिष्ठ नेताले पनि हस्ताक्षर गरेर ज्ञापनपत्र बुझाउनुपर्ने अवस्था आउनु आफंैमा लाजमर्दो विषय हो । सभापतिले सुन्न छोड्नु भयो हामीले भन्न छोड्ने कुरा हुँदैन । हामीले भनिरहन्छौं । हाम्रो कुरा सभापतिले सुनेर अघि बढ्नु भयो भने पार्टीलाई राम्रो हुन्छ । सुन्नु भएन भने पार्टीलाई नै अप्ठ्यारोमा पु¥याउँछ ।

तपार्इंहरूले उठाएका माग सम्बोधन गर्न सभापतिले मान्नु भएको छैन ?
मान्नु भएको छैन र त हामीले पटकपटक भन्दै आएका छौं । सभापतिसँग सुझाव दिने बैठकमा जाँदै छौं । अहिले नै सभापतिले मान्नुहुन्न भन्ने धारणा बनाउन त मिलेन । यदि मनाउन सकिएन भन्ने कुरा त केन्द्रीय कार्यसमितिको बैठकमा सोच्ने कुरा आउँछ ।

विधिबाट कांग्रेस चल्छ भन्ने विश्वास छ ?

हामीले कोसिस गर्ने हो । सकिन्छ सकिँदैन त्यो त पछिको कुरा हो ।

१४औं महाधिवेशन पछिको कांग्रेस कस्तो हुन्छ ?

कांग्रेस कस्तो बनाउने जिम्मा भने कांग्रेसकै साथीहरूको हो । कस्तो कांग्रेस बनाउने भन्ने प्रस्ताव बोकेर म साथीहरूका बीचमा जान्छु ।

तपाईंको कांग्रेस बनाउने प्रस्ताव कस्तो छ ?

अहिलेको अवस्थामा ठूलठूला वाचा गरेर कम्युनिस्ट पार्टीको सरकार वन्यो । कम्युनिस्ट पार्टीलाई भोट हाल्दा जनताले जुन तारा नै खसाल्दिछन् भन्ने विश्वास गरेका थिए । संविधान बनाएपछि भारतसँग भएको कचपच र नाकाबन्दीमा अहिलेका प्रधानमन्त्री तथा तत्कालीन एमालेका नेता केपी शर्मा ओली बलियो रूपमा उभिनुभयो र दुईवटा पार्टी मिलाएर बलियो कम्युनिस्ट पार्टीको सरकार दिनुभयो र यसैका आधारमा जनताले भोट हाले । भोट हालेर सरकार गठन भएको तीन वर्षमा पनि सरकारले एउटा पनि गतिलो काम गर्न सकेको छैन । अहिले हरेक दिन प्रधानमन्त्रीका कुरा सुन्दा उहाँलाई म निर्वाचित प्रधानमन्त्री हुँ जे गरे पनि हुन्छ विधि र विधान संविधान मान्नु पर्दैन जसरी उभिनु भएको छ । त्यतिमात्रै होइन, प्रधानमन्त्री देशका प्रति, लोकका प्रति उत्तरदायी नै हुनु भएन । अहिले हामी कोरोना महामारीको कहरमा धकेलिएका छौं । विश्व स्वास्थ्य संगठनले नेपालमा १० देखि १५ हजारसम्म संक्रमित हुन्छन् भनेकोमा सरकारले समयमै बुद्धि नपु¥याउँदा अहिले संक्रमितको संख्या झन्डै दुई लाख पुगेको छ । अझै हाम्रा चाडपर्वहरू पनि यही समयमा आएका छन् । दसैं सकियो तिहार आउँदै छ । जुन किसिमका हाम्रा रहनसहन र रीतिरिवाजहरू छन् यसको आधारमा नेपालमा कोरोना संक्रमितको संख्या १० लाख पुग्न धेरैबेर लाग्दैन ।

अहिले संक्रमितको संख्या बढिरहेको बेला यसलाई नियन्त्रण गर्नका लागि सरकारले ध्यान नै दिएको छैन । सरकारको नेतृत्व गरेको नेकपा अहिले आफ्नै आन्तरिक कलहमा अलमलिएको छ । सत्ताको विषयमा उहाँहरू लाजमर्दो नाटक मञ्चनमा व्यस्त हुनुहुन्छ ।

पछिल्ला घटनाक्रमलाई कांग्रेसले क्यास गर्न सकेको छैन ?

यो क्यास गर्ने कुरा होइन । अहिले मानिसको जीवन जोखिममा भएकाले पहिला मानिसको जीवन जोगाउने कुरामा ध्यान दिनुपर्छ । अहिले पनि यो सरकार नै कार्यकारी हो । यसलाई दबाब दिएर ठीक बाटोमा हिँडाएर लैजानु पर्छ । तर सत्तारूढ दलको विवादमा जनता पिल्सिएका छन् । हुँदाहुँदा त देशकै अभिभावक भएर बस्नु पर्ने राष्ट्रपति पनि पार्टीगत विवादमा तानिनु भयो । उहाँ देशको अभिभावक नभई पार्टी, पार्टीको पनि नभई एउटा गुटको अभिभावको रूपमा प्रस्तुत हुनुभयो । यसभन्दा अगाडि यो सरकार गठन हुँदा पनि उहाँ त्यसैगरी प्रस्तुत हुनुभएको थियो । संसद्को शपथग्रहण नगर्दै केपी ओलीलाई प्रधानमन्त्रीको शपथ दिलाउनु भएको थियो । त्यो बेला पनि हामीले राष्ट्रपतिले मर्यादाअनुसार काम गर्नु भएन भनेर भनेका थियौं । अहिले त गर्दा गर्दा एउटा गुटको स्वार्थलाई रक्षा गर्नका लागि अघि बढेर राष्ट्रपति अघि सर्नुभएको छ । उहाँले भन्नुभयो भनेर नेकपाका नेता नै भन्नुहुन्छ ‘संविधान र लोकतन्त्र जोगाउनलाई पार्टी एकता जोगाउनु पर्‍यो ।’

यसमा म के भन्छु भने संविधान र लोकतन्त्र जोगाउनका लागि राष्ट्रपतिले पदीय मर्यादाअनुसार काम गर्नु प¥यो । राष्ट्रपतिको पदमा बसेर सक्रिय नेताका रूपमा काम गरेर लोकतन्त्र जोगिँदैन । हिजो पञ्चायतमा श्री ५ को नेतृत्व जसरी अहिले राष्ट्रपतिले पार्टीको सक्रिय नेतृत्व गर्नुभयो भने लोकतन्त्र र जनताका लागि झनै दुःखको दिन आउँछ । अहिलेको अवस्थामा राष्ट्रपतिले कि संवैधानिक मान्यता अनुसार त्यो पदमा रहेर निष्पक्ष काम गर्ने होइन भने पार्टीमा सल्लाह गरेर राष्ट्रपति पदबाट राजीनामा दिने र पार्टीको नेतृत्वमा आउने । उहाँहरूकै बहुमत भएकाले अर्को कुनै व्यक्तिलाई राष्ट्रपति बनाउँदा हुन्छ ।

नेकपा प्रकरणमा तलमाथि हु“दा कांग्रेसको भूमिका के हुन्छ ?

नेकपामा तलमाथि हुन्छ भन्ने विषयमा त मैले कल्पना नै गरेको छैन । नेकपामा राष्ट्रपति नै क्रियाशील नबनेर एकता नहुने हो भने उहाँले राष्ट्रपति पदबाट राजीनामा दिएर पार्टीको नेतृत्व लिए भयो । कांग्रेस अहिले कम्युनिस्टको कुनै एउटा समूहसँग मिलेर सरकार चलाउनु पर्छ भन्नेमा म छैन । कांग्रेस नेकपाको झगडामा संलग्न हुँदैनौं । तर, केपी ओली प्रचण्ड कसैले पनि संविधानविपरीत काम गर्नुभयो भने कांग्रेस बोल्दैन भन्ने होइन । हामी निरन्तर खबरदारी गरिरहन्छौं ।

सरकार गलत बाटोबाट हिँड्यो भन्दै आन्दोलन गर्ने तयारी गर्नुभएको थियो कस्तो खालको आन्दोलन हो ?

अहिले कोरोना भाइरसको महामारीका कारण जनतालाई आन्दोलनमा ल्याएर कोरोनको जोखिम बढाउन हुँदैन । अहिलेको अवस्थामा जोखिमलाई हेरेर काम गर्नुपर्ने बेला छ । हामीले सरकारलाई संसद्का प्रति उत्तरदायी बनाउने हो, न्यायालयकाप्रति उत्तरदाीय बनाउने हो । कोरोनाका विषयमा न्यायालयले गरेका निर्णयहरू छन् त्यसका प्रति सरकारलाई उत्तरदायी बनाउने हो । सरकारले नियम मान्नुपर्छ जे मनलाग्यो त्यही गर्ने होइन ।

अब आसन्न महाधिवेशनमा तपाईंको स्थान कहाँ हो ?

यदि कांग्रेसको पुनर्उत्थान आवश्यक छ । यदि कम्युनिस्ट पार्टीलाई संविधान र लोकतन्त्रको बाटोमा हिँडाउनका लागि कांग्रेस बलियो हुनुपर्छ । हिजो बीपी गणेशमानको पालाको कांग्रेस हुन पर्‍यो आजको जस्तो कांग्रेसबाट हुँदैन । आसन्न महाधिवेशनले कांग्रेसको पुनर्उत्थान गर्नका लागि मेरो क्रियाशीलता रहनेछ ।

त्यो भनेको के हो, पदाधिकारी वा केन्द्रीय सदस्य ?

मलाई आजको दिनमा सभापतिको रूपमा साथीहरूले पत्याउनुहुन्छ भन्ने लाग्दैन । सभापति पदमा मेरो उम्मेदवारी हुँदैन । सभापतिबाहेक अरू कुनै पदमा मलाई साथीहरूले पत्याउनु हुन्छ भन्ने मलाई लागेको छ । साथीहरूले पत्याउनु भयो भने महामन्त्रीको रूपमा काम गर्छु होइन उहाँहरूले पत्याउनु भएन भने ज्येष्ठ राजनीतिक सभामा बसेर पार्टीलाई योगदान गर्छु ।

महाधिवेशन आउँदै गर्दा तपाईंले सभापतिमा कसलाई समर्थन गर्ने भन्ने कुरामा आफू कसरी हाबी भइन्छ त्यसैगरी लाग्नु भएको छ भन्ने आरोप पनि छ ?

म कसैमाथि हाबी हुने गरी लागेको छैन । हावी हुन लागेको भए मसँग धेरै विकल्पहरू हुने थिए । म अहिले पनि देउवालाई जसरी पनि हटाउनु प¥यो भन्ने भाषा बोल्दिनँ । यसकारण देउवालाई महाधिवेशन गर्नुस् तपाईंलाई हटाउने हो भन्ने भाषा प्रयोग गर्नु राम्रो हुँदैन । अहिलेको अवस्थामा नयाँ विकल्प प्रस्तुत गर्नुपर्छ । तर अहिले नै यो नेता हो भनेर हिँड्न थाल्ने हो भने विकल्प प्रस्तुत गर्नुभन्दा पनि आफूलाई मन परेको मान्छे कसरी नेता बनाउने भनेर लाग्यो भन्ने हुन्छ । अहिलेको अवस्थामा नेपाली कांग्रेसलाई नेतृत्व दिन सक्ने र सभापति देउवाले पनि यो भयो भने राम्रो भन्ने परिस्थति बनोस् भन्ने चाहन्छु ।

तपाईं अहिले पौडेल पक्षको मान्छे, देउवाका गलत क्रियाकलापको पनि खुलेर विरोध गर्नुहुन्न किन ?

मेरो सभापति शेरबहादुर देउवासँग कुनै रिसराग छैन । उहाँलाई सीमाभन्दा बाहिर गएर गाली गर्नुपर्ने केही पनि कारण छैन । पाँच–छ वर्षअघि लामो राजनीतिक जीवनमा म शेरबहादुर देउवासँग नजिक रहेर काम गरेँ । म शेरबहादुरसँग रहँदा पनि गिरिजाप्रसाद कोइरालालाई गालीगलौजमा कहिले पनि उत्रिनँ । गिरिजाबाबुसँग लामो समय मेरो सहमति रहेन । २०३७ सालमा आममाफी पाएपछि फर्कनुभयो । २०३७ सालको उत्तर्राद्धमा उहाँसँग सम्बन्ध मेरो राम्रो रहेन । तै पनि उहाँसँग म गालीगलौजमा उत्रिनँ । त्यही भएर उहाँको अन्तिम समयमा म मन्त्री भएर गिरिजाबाबुसँग एकदमै नजिक भएर काम गरें । उहाँले धेरै पत्याउनु पनि भयो । त्यही पत्याएकै कारणले सुजाताजीले मलाई गिरिजाबाबुको क्षेत्र मोरङ २ मा गिरिजाबाबुको उत्तराधिकारी भनेर मत पनि माग्नु भयो । त्यसैले मेरो स्वभाव कसैको उछितो काड्ने छैन । शेरबहादुर देउवासँग अहिले मेरो कुनै रिसराग छैन । महाधिवेशन सकिएको भोलिपल्ट उहाँ पूर्वसभापति हुँदा पनि उहाँलाई इज्जत सम्मान गर्ने हो ।

फेरि सभापतिमा देउवा दोहोरिनु भयो भने ?

अहिलेसम्म मेरो विश्वास भनेको सभापति शेरबहादुर देउवा फेरि हुनुहुन्न । उहाँ उम्मेदवार नै हुनुहुन्न भन्ने मलाई लाग्छ । मेरो पहिलो प्रयत्न उहाँलाई उम्मेदवार नहुनुस् भन्ने हो । यदि उहाँ उम्मेदवार हुनुभयो भने उहाँको विकल्पमा हुने उम्मेदवारले जितोस् भन्ने पक्षमा म हुन्छु । म जुन काममा क्रियाशील हुन्छु त्यसको विपरीत परिणाम आउँछ भन्ने दुविधा बोकेर म हिँड्दिनँ ।

तपाईं बेलाबेलामा गुट परिवर्तन गर्नुहुन्छ किन, क्षमता हो अथवा अवसर लिनलाई हो ?

म शेरबहादुरसँग केही कुराले सँगै रहन सकिनँ । सुशील कोइरालासँग यो पद दिनुस् भनेर आएको पनि होइन । त्यतिबेला माओवादीभन्दा सानो संख्यामा कांग्रेस थियो । सभापतिमा सुशील कोइराला हुँदा सभापतिलाई बलियो बनाउनुपर्छ भनेर म यता आएको हुँ । आज मैले शेरबहादुरको धेरै आलोचना गर्दैन भन्दा जस्तै हिजो सुशील कोइरालाको कम आलोचना गर्न थाल्दा केही साथीहरूलाई राम्रो लागेन होला । त्यतिबेला सुशील कोइरालाको उछितो काँडेर विरोध गर्दा मात्रै पार्टी बलियो हुन्छ भन्ने सोच्नु भएको थियो उहाँहरूले त्यसैले म त्यहाँ रहिनँ । जहाँसम्म म रहे त्यहाँ आस्था र विश्वासले काम गरेको छु । मैले विगतमा एउटा समूहमा रहँदा अर्को समूहसँग बसेर काम गरिनँ । यसलाई आगामी दिनमा सबैले मूल्यांकन गर्नुहुन्छ भन्ने मेरो विश्वास छ ।