देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नयाँ पुस्ताको दायित्व

देशान्तर

हामी इतिहासको जटिल मोड र चुनौतीपूर्ण कालखण्डमा उभिएका छौं । जुन मुलुकमा, हुर्किएको पुस्ताले पुरानो र स्थापित पुस्तासँग आँखा जुँधाएर जरुरी विषयमा खुला बहस गर्न सक्दैन, त्यो मुलुक उभो त लाग्दैन नैं, त्यसलाई ओरालो लाग्नबाट पनि कसैले रोक्न सक्तैन । हुर्किएको भनिएको त्यस पुस्तालाई इतिहासले गणना पनि गर्दैन । पखेटा लागेका बचराहरू माउ रुँगेर सधैंभरि गुणमा नबसे जस्तै आफ्नो विषयमा पोख्त भएपछि कुनै पनि संस्थाका सदस्यहरूले आफ्ना माउसँग रचनात्मक संवाद सुरु गर्नु पर्दछ । बाबु आमाको समयका चुनौती र आफ्ना पालाका चुनौतीहरू उस्तै छैनन् । थपिएका छन्, घटेका छैनन्, भन्ने कुरा थाहा पाउनु पर्छ । उत्साही र आँटिला मानिसहरूले कठिन लक्ष्य तय गर्दछन् । बीपी कोइरालाले २००७ साल अघि नै पार्टी स्थापनाको ध्येय तय गर्नु भएको थियो । र सबैभन्दा ठूलो कुरा त तत्कालीन समाजले पत्याउनै गाह्रो पर्ने कठिन राजनीतिक लक्ष्य निर्धारण गर्नु भएको थियो । त्यतिबेला उहाँ भर्खरै उमेरले तीन दशक मात्र नाघ्नु भएको थियो ।

यस विषयमा एउटा प्रसंग प्रेरणादायी छ । स्थापनाको एक दशकभित्र विश्वका पछौटे, गरिब र विकासशील देशका विभिन्न स्थानमा १० हजार पुस्तकालय खोल्न सफल विख्यात अन्तर्राष्ट्रिय परोपकारी संस्था रुम टु रिडका संस्थापक अमेरिकी युवा जोन उडले माइक्रोसफ्ट कम्पनीको उच्च कमाइ हुने अन्तर्राष्ट्रिय व्यापार निर्देशकको जागिर छाडेर अन्तर्राष्ट्रिय साक्षरता अभियान सुरु गर्नुअघि आफ्ना बाबुआमालाई सँगै राखेर यसको सूचना दिएका थिए । यसको जवाफमा उनकी आमा त बोलेकी थिइनन् तर उनका बाबु उडीले यति मात्र भनेका थिए, ‘म अलि सन्काहा हुँला, तर तिमी त्यस्ता छैनौ । तिम्रा आफ्नैं पखेटा छन् जोन, त्यसैले उड ।’ नभन्दै उनी उडे र ‘पुस्तकालयका सन्त अभिभावक’ भनेर चिनिने एन्ड्र्यु कार्नेगीको २५ सय पुस्तकालय स्थापनाको विश्व रेकर्ड तोडेर यसरी बतासिए र अकासिए कि अब कसैले उनलाई आँक्नै नसक्ने र भेट्नै नसक्ने भयो ।

माथिको प्रसंग किन उद्धृत गरिएको हो भने नेपाली कांग्रेसको चौधौं महाधिवेशन जतिसुकै ढिलो भए पनि अबको एक वर्षभित्र हुनैपर्छ । यो संवैधानिक तथा कानुनी समय सीमा र बाध्यता दुवै हो । पार्टी विधानद्वारा निर्दिष्ट समय सीमा भने गत वर्ष नै समाप्त भई असाधारण परिस्थितिमा मात्र थप्न मिल्ने सुविधा प्रयोग गरी थपिएको एक वर्षभित्रसमेत महाधिवेशन सम्पन्न हुन नसक्ने स्थिति देखिएको छ । गत संसदीय निर्वाचनपश्चात पार्टीको आन्तरिक अव्यस्थापनलाई हटाएर संगठनात्मक सुदृढीकरणमा ध्यान केन्द्रित गर्न सकेको भए चार वर्षभित्रै महाधिवेशन सम्पन्न भई यतिबेला चौधौं महाधिवेशनले निर्वाचित गरेको कार्यसमितिले दुई वर्षपछि हुने स्थानीय तहको निर्वाचनको तयारी गरिरहेको हुन्थ्यो । यस्तो ऐतिहासिक र सुनौलो अवसरलाई पार्टीले सदुपयोग गर्न सकेको देखिएन ।

पार्टी नेतृत्वले आफ्नो अगाडि तेर्सिएका चुनौतीहरूलाई पहिचान गरेर समयमै पार्टीको सशक्तीकरण अभियान प्रारम्भ गरेको भए आजको हतारो, थप अव्यवस्था र बढ्दो अन्योल झेल्नुपर्ने नैं थिएन । खासगरी नेतृत्व पंक्तिमा रहेका नेताहरूमा समयबोध हुन नसक्नु, महाधिवेशनका प्रतिस्पर्धी समूहमा रहे पनि पार्टी र लोकतन्त्रमाथि आइपरेको संकटलाई साझा रूपमा ग्रहण गर्न नसक्नु, पार्टीको युवा पुस्ताको सूत्रबद्ध सुझावलाई नजरअन्दाज गर्नु र विपक्षीहरू बिग्रिने दिन गनेर बस्नु आजको दिन आउनुका प्रमुख कारण हुन् । त्यसैले आज समयमा महाधिवेशन कसरी सम्पन्न गर्ने भन्ने सकस बढ्दै गएको छ र विभिन्न थरीका बहसहरू प्रारम्भ भएका छन् । र यसको दूरगामी महत्व पनि छ ।

अब के गर्ने त ?

सबैका अघिल्तिर यक्ष प्रश्न खडा छ । कांग्रेसका लाखौं सदस्यहरू, शुभेच्छुक, समर्थक तथा मतदाताहरूको मनमा यतिबेला एउटै कुरा खेलिरहेको छ । पार्टीभित्रको अव्यवस्था, वरिपरिको चुनौतीपूर्ण परिस्थिति, आगामी चुनावमा थपिने नयाँ मतदाताहरूको मनोविज्ञान र वर्तमान सरकारले अख्तियार गर्ने रणनीति र थोपर्ने ज्यादतीको कसरी सामना गर्ने होला ? र नेपालमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको भविष्यलाई सुरक्षित राख्दै भावी पुस्तालाई सग्लो लोकतन्त्र, सुदृढ पार्टी र समुन्नत राष्ट्र हस्तान्तरण गर्ने अवस्था कसरी निर्माण गर्ने होला ? यो विषयमा आगामी महाधिवेशनमा सघन छलफल होला कि नहोला भन्ने चिन्तासमेत व्याप्त छ । पार्टीमा सम्पूर्ण जीवन अर्पण गरेका नेपालका सबै लोकतान्त्रिक आन्दोलनका संघर्षशील साक्षीहरू सबैभन्दा बढी दिक्क मानेर पनि झिनो आशा बोकेर महाधिवेशनपूर्वको गतिविधि नियालिरहेका छन् ।

यस विषयमा चर्चा गर्दा एउटा कुराको हेक्का राख्नैपर्छ । कस्तो परिस्थितिमा केका निम्ति नेपाली कांग्रेसको स्थापना भएको थियो, यसले इतिहासमा कहिले, कुन परिस्थितिमा कस्तो भूमिका निर्वाह ग¥यो र नेपाललाई डो¥याएर कहाँबाट कहाँ पु¥यायो । यो कुरा दिउँसोको घाम जत्तिकै छर्लंग छ । हिजोआज अरू राजनीतिक दलहरूले आफूलाई कांग्रेसको समकक्षमा उभ्याउने चेष्टा गरे पनि त्यसको कुनै तार्किक र वस्तुनिष्ठ आधार छैन । ऐतिहासिक योगदानको वजन र व्यक्तित्वमा समकक्षता पटक्कै छैन । तर दुर्भाग्यवश, गोयबल्सको प्रचारशैलीमा सत्यलाई बंग्याएर होचा पुड्का राजनीतिक दलहरूले आफूलाई कांग्रेसको हाराहारीमा उभ्याउने प्रयास गर्दै आएका छन् । यो कांग्रेस पार्टीको लागि निकै ठूलो दुर्भाग्यको बिषय हो । तर यसको कारण कांग्रेस आफैं हो । अरू माथि मात्र दोष थोपर्नु आफ्ना कमजोरीहरूको ढाकछोप गर्नु मात्र हो । इतिहासमा समय आएको छ, हिजो भएका कमजोरीहरू स्विकार गर्दै आफ्नो घोषित र निर्धारित बाटोमा हिँड्ने, जुन बाटो पार्टी स्थापनाकालमै तय भएको छ । मूलबाटो छोडेर गल्लीतिर बरालिँदा पाएको दुःखलाई महसुस गरी विगतका कमजोरीहरूलाई निःसंकोच स्विकार गर्दै सामयिक योजना तर्जुमा गरी जनताका बीचमा प्रस्तुत हुने र पुनः विश्वास प्राप्त गरी राष्ट्र निर्माणमा जुट्ने । योभन्दा अर्को बाटो छैन र विकल्प पनि । त्यसैले अहिलेका चुनौतीहरू थाहा पाएर विगतको सिंहावलोकन, वर्तमानको अवलोकन र भविष्यको आकलन आजको प्रमुख दायित्व हो ।

यस सन्दर्भमा हिजोआज बुद्धिजीवीहरूका बग्रेल्ती सुझावहरू छरपष्ट रूपमा आउन थालेका छन् । कतिपय बुद्धिजीवीहरू त लोकतन्त्रप्रति गहिरो निष्ठा भएका प्रतिष्ठित र सम्मानित व्यक्तिहरूसमेत पनि पर्दछन् । उनीहरूका सैद्धान्तिक सुझावहरू निःसन्देह राम्रा पनि छन् । तर दुर्भाग्यवश, प्रायोजन मिश्रित । यो अधिकार उहाँहरूलाई छैन । यस्तो सुझावलाई स्वतन्त्र सुझाव मान्न सकिँदैन । र बुद्धिजीवीको प्रायोजनको भरमा मात्र पार्टी सुधार्न र नेता बन्न सकिँदैन । पार्टीभित्रको आम स्वीकृति प्रमुख कुरा हो । प्रोपोगण्डा फरक कुरा हो । आजकलका नागरिकले यस्तो कुरा सजिलै बुझ्छन् । तसर्थ उहाँहरूले बारम्बार यस्तै कुरा गरिरहने हो भने मुख खोलेर र नामै किटेर ‘इनफ इज इनफ’ भन्नुपर्ने हुन सक्छ । जमाना बदलिएको छ । दुई चार अक्षर सबैले पढेका छन्, भाषामा पनि दक्षता छ र विश्व राजनीतिलाई हातमा बोकेर बसेका छन् । र परम्परागत बुद्धिजीवीसँग शास्त्रार्थ गर्ने सामथ्र्य राख्दछन् । सूचना र प्रविधिको उपयोगमा पोख्त छन् । पार्टीको स्थापनाकालदेखि आजसम्मका सैद्धान्तिक र राजनीतिक पहलुका बारे अद्योपान्त थाहा पाउँछन् । बीपीले गरेको विकसित समाज र पछौटे समाजको विवेचना पढेका छन् । र अब के गर्ने भन्ने बहसमा जुटेका छन् । यसलाई बुद्धिजीवीहरूले पोषण प्रदान गर्ने हो, माहोल बनाइदिने हो, भाँड्ने होइन । यस पंक्तिकारको पार्टीभित्रको भूमिका र आवश्यकता उसैको पुस्ताले तय गर्ने हो, निजी आकांक्षाको केही अर्थ छैन । पार्टी सुधारेर लोकतन्त्रको भविष्य सुरक्षित भयो भने वास्तविक युवालाई अविलम्ब पार्टी र देश जिम्मा लगाउने योजना पो आजको आवश्यकता हो त ! अहिले नेतृत्वको दाबा गर्न खोजेको तथाकथित युवा पुस्ताले ‘सेक्रिफाइस’ अर्थात् त्याग पो गर्न खोजेको छ कि ! स्थितिलाई सम्हालेर आफू पार्टी र राज्यको दुवै सत्तामा नजान पो खोजेको छ कि ! यो विषयलाई खोतलेर बुझ्न सक्नु पर्दछ । यो कुनै ‘सेन्टिमेन्टल’ कुरामात्र होइन । अनि मात्र सार्वजनिक प्रस्ताव राख्नु पर्दछ । औसत बुद्धिका मानिस या पार्टीभित्रका गुटका मानिस बोले जस्तोगरी बुद्धिजीवीहरू बोल्नु हुँदैन, कांग्रेसका युवाहरूको बीचमा खेल्न खोज्नु हुँदैन । यसले बन्दै गरेको सहकार्यको उत्साहपूर्ण र सकारात्मक वातावरणलाई बिथोल्ने काम गर्दछ ।

सन् १९९४ मा जोन स्मिथको हृदयाघातबाट मृत्यु भएपछि टोनी ब्लेयर लेबर पार्टीको नेता निर्वाचित हुँदा उनको पार्टीले बेलायतको संसदीय निर्वाचन हारेको चार पटक भइसकेको थियो । बेलायतका समाजवादीहरूमा चरम निराशा व्याप्त थियो । पार्टीको भविष्य अन्धकारमय देखिन्थ्यो । पार्टीका सदस्यहरू झोक्राएर बसेका थिए । कसैले पनि अगाडिको बाटो पहिल्याउन सकेका थिएनन् ।

प्रतिद्वन्द्वी कन्जरभेटिभ पार्टीको सर्वत्र दबदबा थियो । पुँजीवादले बजारमुखी अर्थतन्त्र र व्यक्तिवादको सर्वोपरितालाई अँगालेको थियो भने यसको दक्षिणपन्थी छलकपटबाट जनता आजित थिए । शीतयुद्धको समाप्ति पछि पूर्वी युरोपका विभिन्न मुलुकहरूमा साम्यवाद धराशायी भएर प्रजातन्त्र र स्वतन्त्रताको लहर सुरु भएको थियो । पूर्वी जर्मनी, रुमानिया, चेकोस्लाभाकिया, पोल्यान्ड, अल्बानियालगायतका मुलुकमा साम्यवादी सत्ताविरुद्ध जनता सडकमा उत्रिएका थिए । साम्यवादले थोपरेको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक विभेद तथा ज्यादतीविरुद्ध नवचेतना र पुनर्जागरणको आगो सल्किएको थियो । समग्रमा पुँजीवाद र साम्यवादले राष्ट्रहरूमा जमाएको चरम विभेदकारी प्रभुत्वका विरुद्ध जनताको विद्रोहले नयाँ विकल्प र कार्यक्रम खोजिरहेका थिए ।

विश्वका जनताको यही चाहनालाई मूर्तरूप दिने क्रममा टोनी ब्लेयरले नयाँ लेबर र नयाँ बेलायतको अवधारणा अघि सारेका थिए । यो अवधारणाका लागि ब्लेयरले जोन स्मिथलाई सम्झेका छन् । त्यसैले उनले कन्जरभेटिभ पार्टीमार्फत बेलायती समाजले भोगिरहेको पुँजीवादको त्रासदीपूर्ण प्रकोपबाट आफ्ना नागरिकलाई मुक्त गर्ने संकल्प लिए र यसका लागि आफ्नो पार्टीलाई सुधारिएका नीति र कार्यक्रममार्फत नवजीवन दिने अठोट गरे र अन्ततः सफलता हासिल गरेरै छाडे । उनले रुम टु रिडका जोन उडले जस्तै नयाँ उडान भरे । कन्जरभेटिभ पार्टीले यसको भेउ पाउनै सकेन । हामीलाई समेत यस्तै उडानको आवश्यकता छ । देशमा कायम हुन लागेको साम्यवादी प्रभुत्वको जरा उखेलेर लोकतान्त्रिक समाजवादी राज्य कायम गर्न ठोस र विश्वसनीय वैकल्पिक कार्य योजनाको आवश्यकता छ । यसका निम्ति कांग्रेसको युवा पुस्ता तयार छ । यसमा पार्टीको नेतृत्वले मार्ग प्रशस्त गर्नु पर्दछ । बुद्धिजीवीहरूले पनि यस कार्यमा टेवा पुर्‍याउनु श्रेयष्कर हुनेछ ।

अमेरिकी पूर्वराष्ट्रपति थोमस जेफर्सनले भनेका छन्, ‘देशमा एउटै संविधानबाट दुइथरी मानिस पैदा हुन्छन् । एकथरी, जसले जनतालाई भयभीत तुल्याउँछन् किनकि उनीहरू जनतालाई विश्वास गर्दैनन् । अर्कोथरी जनतालाई विश्वास गर्छन्, त्यसैले जनतासँग नजिक हुन्छन्, उनीहरूसँगै रमाउँछन् ।’ कम्युनिस्टहरू जनतालाई विश्वास गर्दैनन्, त्यसैले सधैंभरि भयभीत तुल्याएर शासन गर्छन् । तर कांग्रेस त विश्वास गर्छ । विश्वास गर्नेले सधैंभरि माया पनि त गर्नुपर्छ । अहिले कांग्रेस कमजोर हुनमा यही माया कारण छ । ३० वर्षमा जनतालाई कांग्रेसको स्नेह कम भयो, जसको कारणमध्ये अहिलेको पुस्ता पनि हो । यस विषयमा युवा पुस्ता पहिलो पुस्तासँग खुला बहस गर्न चाहन्छ ।