काठमाडौं । कोरोनाको कहर बढ्दै जाँदा देशकै पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको महाधिवेशन निर्धारित समयमै हुने सम्भावना टर्दै गएको छ । यद्यपि पार्टीको विधान र मुलुकको संविधानको सीमाले कांग्रेस महाधिवेशन धेरै पर धकेलिने अवस्था पनि छैन ।
क्रियाशील सदस्यता वितरणकै काम नसकिएका कारण महाधिवेशनका कामहरू पर्याप्त बाँकी देखिन्छन् तर नेतृत्वले इच्छाशक्ति देखाएमा यी कामहरू फत्ते भइहाल्न सक्छन् । पार्टी महाधिवेशनको प्राविधिकभन्दा राजनीतिक पाटोमा धेरैको चासो छ । कांग्रेसका नेता कार्यकर्ता मात्रै नभएर राजनीतिमा चासो राख्ने जो कोहीले कांग्रेसको महाधिवेशनमा चासो देखाइरहेका छन् ।
नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन धेरै कारणले चासोको विषय बनेको छ । पहिलो पुस्ताका नेताहरू शेरबहादुर देउवा र रामचन्द्र पौडेलमात्रै होइन दोस्रो पुस्ताका विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, डा. शेखर कोइराला, डा. रामशरण महत, अर्जुननरसिंह केसीलगायतको पुस्ताको राजनीतिक भविष्य पनि आसन्न महाधिवेशनबाट छिनोफानो हुँदैछ । पार्टीभित्र नेतृत्व हस्तान्तरणको रस्साकस्सी जति पेचिलो बन्दैछ, उत्ति नै प्रतिस्पर्धाको भावना पनि बढ्दैछ । सभापतिमा दोहोरिने देउवाको इच्छा, एकपटक पार्टी हाँक्ने पौडेलको चाहना होस् वा अहिले नभए कहिले ? भन्ने सोचिरहेका निधि, सिंह, सिटौला र कोइरालाहरूका लागि पनि यो महाधिवेशन ‘फलामे ढोका’ हो भन्दा अन्यथा नहोला ।
कांग्रेस महाधिवेशनका केही विशेष चरित्रहरू हुन्छन् । पार्टीको भावी नेतृत्व छानिने कुरा कार्यकर्ताको प्रत्यक्ष मत वा जनतामा निहित लोकप्रियतासँग कम जोडिएको हुन्छ । पार्टीमा लामो समयदेखि नेतृत्व पंक्तिमा रहेका नेताहरूको एकता वा विचलन कांग्रेस नेतृत्व चयनका लागि निर्णायक बन्ने गर्दछ । जस्तोकि २०७२ फागुनमा सम्पन्न १३औं महाधिवेशनमा कोषाध्यक्ष र महामन्त्रीमा आफ्नै प्यानलका उम्मेदवार जित्दा पनि रामचन्द्र पौडेल सभापतिमा पराजित रहे ।
यसको मुख्य कारण तेस्रो धारका रूपमा तत्कालीन महामन्त्री कृष्णप्रसाद सिटौलाको उम्मेदवारी नै थियो । पौडेल हराउन र देउवा जित्न सिटौलाको विचलन निर्णायक बन्न पुग्यो । यतिबेला कांग्रेसको नेतृत्व लिन आधा दर्जनभन्दा बढी नेताले इच्छा देखाएका छन् । महाधिवेशन जति नजिकिन्छ ती दाबेदारमध्ये कसको सहकार्य सम्भावना बढ्छ र कसका बीच विचलन हुन्छ भन्ने कुरा निर्णायक हुन्छ । पार्टीभन्दा गुट, गुटभन्दा उपगुट र उपगुटभन्दा व्यक्ति प्रधान कार्यकर्ताहरू बढी भएकाले नेतृत्व चयनको रेस कस्ताकस्ता नेताबीच सहकार्य हुन्छ भन्नेमा भर पर्छ । नेतृत्वको दाबी गरिरहेका सबै नेताहरू स्वाभाविक देखिए पनि चर्चाका दृष्टिले कोइराला परिवार कांग्रेसको केन्द्रमा छ । पार्टी स्थापनाकालदेखि नै कांग्रेसमा कोइरालाहरू बलियो शक्तिका रूपमा रहेका छन् । बीपी कोइरालाले कार्यवाहक सुम्पिएर कृष्णप्रसाद भट्टराई पार्टी सभापति रहँदा पनि संगठनमा तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालाको पकड बलियै थियो । अघिल्लो महाधिवेशनदेखि मात्रै हो कांग्रेसभित्र कोइराला परिवारको पकडबारे कमजोर आकलन हुन थालेको छ । पार्टीका संरचनाहरूमा सभापति देउवाको प्रष्ट बहुमत हुनु मात्रै नभएर कोइराला परिवारभित्रकै तिक्तताले पनि कोइराला परिवारको भूमिका घटेको हो कि भन्ने अधिकांश कांग्रेस कार्यकर्ताहरूको बुझाइ छ । त्यस्तो तिक्तता महाधिवेशन आसन्न भइसक्दा अझ बढ्दो क्रममा रहेको देखिन्छ ।
कोइराला परिवारबाट को ?
कांग्रेसमा नेतृत्व चयनको प्रक्रियामा कोइराला परिवार कुन कित्तामा उभिन्छ भन्ने कुराले धेरै फरक पर्छ । यतिबेला कोइराला कित्तामै विभाजन हुने सम्भावना पनि उत्तिकै छ । महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइराला मात्रै नभएर सभापतिको रेसमा सुजाता कोइराला पनि उपस्थित भइसकेकी छिन् । सक्रिय राजनीतिमा रहेका यी तीनै जनाले नेतृत्वको दाबी गरिरहँदा कोइराला परिवारभित्र एकता रुचाउनेहरू हैरान भइरहेका छन् भन्ने इतर समूहलाई यसले राहत दिने अपेक्षा छ ।
पार्टीको महामन्त्री भइसकेका कारण नेतृत्वमा डा.शशांकको दाबी स्वाभाविक छ । तर पार्टीलाई नयाँ सन्दर्भमा नेतृत्व दिन आफ्नो नेतृत्व आवश्यक देख्ने डा. शेखरको दाबी पनि कम सान्दर्भिक होइन । उता पार्टी एकताका लागि आफ्ना पिता गिरिजाप्रसाद कोइरालाको भूमिका स्मरण गर्दै मैदानमा उभिने सुजाताको तयारी पनि चानचुने होइन । यी तीनै जनाले कांग्रेस नेतृत्वमा दाबी गर्नु स्वाभाविक भए पनि अधिकांश कार्यकर्ताको चासो शशांक र शेखर मिल्छन् कि मिल्दैनन् भन्नेमा छ । यी दुवै नेताकहाँ पुग्ने नियमित कार्यकर्ताहरूको अनुहार एकै छ । दुवै नेतालाई मिलेर जान कार्यकर्ताहरूको सुझाव र दबाब पनि छ । वैयक्तिक चाहनाबाट सिर्जित बाध्यतालाई पन्छाउने हो भने शशांक र शेखरका बीच एकले अर्कालाई निषेध नै गर्नुपर्ने परिस्थिति बनेको छैन ।
कोइरालाहरूबीचको एकता नेतृत्व चयनका लागि निर्णायक हुँदै हो तर सहकार्यबाहेकका सबै सम्भावनामा कोइरालाहरूको पराजय निश्चित छ । कांग्रेसको राजनीति नजिकबाट बुझ्नेहरूमा अझै पनि दुईमध्ये एक कोइराला सभापतिको उम्मेदवार बन्दा जित्न सहज हुने बताउँछन् । दुवै मैदानमा उत्रनु भनेको दुवैले आफ्नो पतन आफैं रोज्नु सरह हुन्छ । कोइराला परिवारका तीनै दाबेदारबीच अन्तिमसम्म सहमति बन्ने बुझाइ कांग्रेसवृत्तमा बलियो छ तर त्यसका लागि भरपर्दो सूत्र कसैले फेला पार्न सकिरहेको छैन ।
भाइ फुटे, गवार लुटे
शशांक र शेखर दुवैका स्वभाव अलग छन् । शशांक कम बोल्छन्, सकभर प्रतिक्रिया जनाउँदैनन् । शेखरमा वाकपटुता छ र तीव्र प्रतिक्रिया जनाउँछन् । शशांकको क्रियाशीलता कम देखिन्छ शेखरको दौडाइ धेरै छ । शशांक देशभरको जनमतमा कम रुचाइएलान् तर आफ्नो निर्वाचन क्षेत्रमा बलिया छन् । शेखर आफ्नै क्षेत्रमा कमजोर रहँलान् तर देशैभरि उनको छवि सकारात्मक छन् । अध्ययन वा राजनीतिप्रतिको सुझबुझ दुवै नेतामा उस्तै छ तर प्रस्तुतिमा कमवेशी रहेको कार्यकर्ताले महसुस गर्छन् । एक अर्कामा भएका यति धेरै भिन्नता नै यी दुई दाजुभाइको शक्ति हो । तर कांग्रेसवृत्तमा यिनै विषयलाई दाजुभाइबीच भिडन्त गराउने अस्त्रका रूपमा प्रयोग गरिँदैछ । बिहानै शेखरकहाँ पुगेर तपाईंको विकल्प छैन भन्नेहरू नै साँझ शशांककहाँ पुगेर तपाईंले छाड्न हुँदैन भन्छन् । यो जमातबारे कोइराला दाजुभाइ जानकार भए उनीहरूले कुरा बुझेकै होलान्, अन्यथा यत्ति पनि नबुझ्ने भाइ वा दाइ जो पनि राजनीतिक रूपमा सुरक्षित छैनन् । नेपाली समाजमा चर्चित भाइ फुटे गवार लुटे भन्ने उक्तिका बारे शशांक र शेखर दुवै जानकार हुनुपर्छ । राजनीतिमा आफ्ना तर्क र दाबी गर्ने छुट दुवैलाई छ तर एकले अर्कालाई कमजोर सावित गराउने दौडमा लागे भने दुवै समस्यामा पर्नेछन् । कांग्रेसको आन्तरिक संरचनामा कोइराला परिवारको नाममा सयौं कार्यकर्ताहरू एकताबद्ध हुने आधार बन्न सक्छ । तर यत्तिमात्रै आसन्न महाधिवेशनबाट निर्वाचित हुन पर्याप्त हुँदैन । पार्टीभित्र लामो योगदान गरेका अग्रज र समकक्षी नेताहरूलाई सँगै लैजानुपर्ने चुनौती दुवैमा छ । कांग्रेसको स्थापनाकालदेखि नै बीपी कोइराला र मातृकाप्रसाद कोइरालाका बीचमा गम्भीर मतभेदहरू थिए । त्यस्ता मतभेदका आफ्नै सैद्धान्तिक धरातल पनि थिए । यसकारण बीपी र मातृकाबीचको टकराव स्वाभाविक थियो । तर लामो समय पेसागत अनुभव बटुलेर राजनीतिमा होमिएका शेखर र शशांकबीचको टकरावमा कुनै सैद्धान्तिक धरातल भेटिने छैन । एकले अर्काका कमजोरी देखाएर आफू सक्षम छु भन्नु नांगाहरूले एक अर्कालाई कुरीकुरी भन्नु सरह हो । त्यसैले कोइराला दाजुभाइले आफ्ना कमजोरीको प्रचार गराएर होइन बलिया पक्षहरूको प्रवद्र्धन गराएर अघि बढ्नुको विकल्प छैन । कांग्रेसमा नेतृत्व चयनको निष्कर्ष कोइरालाहरूको मेलबाट मात्रै निकाल्न सकिँदैन तर यिनीहरूबीचको बेमेलले कांग्रेस र कोइराला कसैलाई पनि फाइदा हुने छैन । चेतना भया !
प्रतिक्रिया