देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अकर्मण्य र असक्षम प्रतिपक्ष सावित हुँदै कांग्रेस

देशान्तर

महाधिवेशन कहिले गराउने भन्ने विवादको भँुमरीमा रुमल्लिरहेको कांग्रेस अकर्मण्य र असक्षम सावित हुँदै गइरहेको छ । महाधिवेशनको मिति तोक्नकै लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैंठक पटकपटक सार्दै लगिरहेको नेतृत्व अर्को पक्षले बुझाएको असहमतिको सामना गर्न पनि र उपेक्षा गर्न पनि नसक्ने अवस्थाका कारण पार्टी सभापति देउवा बैठक बोलाउन आँट गरिरहेका छैनन् । अर्कोतर्फ असहमत पक्षले आफ्ना मागहरू सम्बोधन नहुने हो भने बैठक नै बहिष्कार गर्ने अडान लिएका कारण कात्तिक १९ गते बोलाइएको बैठक २१ गते हुँदै २४ (भोलि सोमवार) गतेलाई सारिएको छ । बैठक अगावै असहमत पक्षको मागहरूमा सहमति गरी बैठकमा जाने तयारीको लागि दैनिकजसो देउवा निवास बूढानीलकण्ठमा पदाधिकारीहरूको अनौपचारिक बैठक चलिरहेको छ । यसरी महाधिवेशनको सन्दर्भमा आफैंभित्रको विवादमा अल्झिरहेको कांग्रेसले प्रतिपक्षको भूमिकामा त शून्य प्रतिशत काम पनि गर्न नसकिरहेको नेपाली जनता र आम लोकतन्त्रवादीहरूको ठम्याइँ छ । पार्टी प्रवक्ताको घरबाट विपक्षीको भूमिका निभाइरहेको कांग्रेस प्रवक्ता अमेरिकाको चुनाव निरीक्षणमा गएयता शून्य भूमिकामा देखिएको छ । यसको जिम्मेवारी पार्टीको नेतृत्व लिएका सभापति शेरबहादुर देउवाले लिनु नै पर्छ । यहाँसम्म आशंका गरिएको छ कि उनी प्रतिपक्ष नेता भएर सरकारसँग सत्ता सेयर गरेर गुपचुप बसेका छन् । उनको मौनता र भूमिकाविहीनताले आशंकालाई सत्य मान्न टेवा पु¥याइरहेको छ । समृद्धि र विकासको नारासहित नेपालको इतिहासमा झन्डै दुई तिहाइ मतसहित बनेको पहिलो कम्युनिस्ट सरकार भ्रष्टाचारका काण्डैकाण्ड र गम्भीर विवादमा परिरहँदासमेत जनताबाट संसद् र सडकमा पहरेदारी गर्ने जिम्मा पाएको नेपालको इतिहासकै सबैभन्दा पुरानो र ठूलो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको अहिलेको अकर्मण्य अवस्था हेर्दा वर्तमान नेतृत्व असक्षम र सत्तालोलुप मात्र हो भन्ने प्रमाणित भएको छ ।

कोभिड–१९ (कोराना) महामारीले विश्वसँगै नेपाल पनि आक्रान्त छ । यसैबीच सरकारले स्वास्थ्य सामग्री खरिद, आइसोलेसन निर्माण, क्यारेन्टाइन निर्माणमा अर्बौ भ्रष्टाचार गरेको सत्यतथ्यसहितका समाचारहरू सञ्चारमाध्यममा दैनिकजसो आइरहँदा पनि नेपाली कांग्रेसजस्तो प्रजातन्त्रको पहरेदार भनेर भनिने प्रतिपक्ष कुम्भकर्णजस्तो सुतिरहेको अवस्थाले जनतामा सरकारप्रति नैराश्यता त व्याप्त थियो नै प्रतिपक्षप्रतिको आस पनि हराएको महसुस भइरहेको छ ।

संसद् चल्दा नेपाली कांग्रेसका केही युवा र प्रखरवक्ता सांसदहरू गगन थापा, मीनेन्द्र रिजाल, दिव्यमणि राजभण्डारीलगायतका सांसदहरूले संसद्मा सरकारको गलत कदम र जनताको जनजीविकाको सवालमा आवाज उठाएको सुन्न र हेर्न पाइन्थ्यो । तर आफ्नै पार्टीका सभामुखलाई समेत जानकारी नदिई सरकारले संसद् अधिवेशन हठात्त्तरूपमा अन्त्य गरेपछि अहिले प्रतिपक्षीलाई न देख्न सकिन्छ न सुन्न पाइन्छ । यसमा नेपाली कांग्रेसको वर्तमान संस्थापन पक्ष र पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा नै सबभन्दा बढी जिम्मेवार छन् । कोरोना महामारीबीच भएका विभिन्न काण्डहरू, १ सय १३ रोपनी बालुवाटारको सरकारी जग्गा काण्ड, बूढीगण्डकीमा भएको भ्रष्टाचार काण्ड, संवैधानिक नियुक्तिमा ढिलाइ, बलात्कारजस्ता जघन्य अपराधका घटनाहरूमा सरकारको उदासीनता, महामारीबीच महँगी र दैनिक उपभोग वस्तुको अभाव, नेपालको सीमा मिचाइ र नक्सा काण्ड र हालसालै प्रधानमन्त्रीले खुलमखुल्ला भारतीय गुप्तचर संस्था रअका प्रमुखसँगको गरेको भेटवार्ता । यी र यस्ता अनेकौं राष्ट्रियता, जनजीविकाको सवाल र भ्रष्टाचार काण्डहरूमा आवाज बुलन्द गर्न नसक्नाले कांग्रेस कुम्भकर्ण, अकर्मण्यबाट विस्तारै असक्षम प्रतिपक्ष सावित हुँदै गइरहँदा नेपाली कांग्रेसको वर्तमान नेतृत्वबाट र सम्पूर्ण लोकतन्त्रवादी, बुद्धिजीवी, व्यवसायी, मानवअधिकारकर्मी, नागरिक समाजका अगुवासहित आम नेपालीजनमा नै निराशा छाएको छ ।