देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईपीएल : दिल्ली क्वालिफायरमा, पराजित बैंगलोर प्ले अफमा

देशान्तर

दिल्ली क्यापिटल्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।

आबुधाबीमा सोमबार राति भएको आफ्नो अन्तिम लिग खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा पुगेको हो ।शेख जायद स्टेडियममा बैंगलोरले दिएको १ सय ५३ रनको लक्ष्य दिल्लीले १९ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । दिल्लीको जितमा अजिन्का रहाणे र शिखर धवनले अर्धशतकीय इनिङ्स खेले । रहाणे ६० रन बनाएर आउट हुँदा धवनले ५४ रन बनाए ।

यस्तै कप्तान श्रेयस एयरले ७ रन जोड्दा पृथ्वी श ९ रनमा आउट भए । मार्कुस स्टोनिस १० र ऋषब पन्त ८ रनमा अविजित रहे । तर, सन्दीप भने प्लेइङ सेटमा परेनन् । सन्दीप लगातार १४ औं खेलमा बेन्चमा सिमित भएका हुन् ।

बैंगलोरका शाहबाज अहमेदले २ विकेट लिए । वासिङ्गटन सुन्दर र मोहमद सिराजले १/१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो । बैंगलोरका लागि देबदुत पडीकलले ५० रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४१ बलमा ४ चौका प्रहार गरे ।

एबी डी भिलियर्स ३५ रन जोड्दा कप्तान विराट कोहलीले २९ रन बनाए । यस्तै शिबम दुबेले १७ रन जोड्दा जोस फिलिपेले १२ रन जोडे ।

दिल्लीका एनरिच नोर्टजेले ३ विकेट लिए । कागिसो राबडाले २ तथा रविचन्द्र आश्विनले १ विकेट लिए । जितसँगै दिल्लीले १४ खेलमा १६ अंक जोडेको छ । र, दिल्ली दोस्रो स्थानमा रहदै क्वालिफायरमा पुगेको हो ।

दिल्लीले अब पहिलो क्वालिफायरमा शीर्ष स्थानमा रहदै प्ले अफ पुगेको मुम्बई इण्डियन्ससँग खेल्नेछ । पहिलो क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्नेछ ।

दिल्लीसँग पराजित बैंगलोर पनि प्ले अफमा पुगेको छ । चौंथो स्थानको कोलकाता नाइट राईडर्स भन्दा नेट रन रेटले अघि रहेपछि बेंगलोरले प्ले अफमा स्थान पक्का गरेको हो ।  बैंगलोरले १४ खेलमा १४ अंक जोडेको छ । बैंगलोर ४ वर्षपछि पहिलो पटक प्ले अफमा पुगेको हो ।

अब बैंगलोरले दोस्रो क्वालिफायरमा कोलकाता र सनराइजर्स हैदराबादमध्ये एक टिमसँग खेल्नेछ । क्वालिफायरमा पुग्ने अन्तिम टिमको टुंगो लिग चरणको अन्तिम खेलले तय हुनेछ ।

लिग चरणको अन्तिम खेलमा मुम्बई र हैदराबादबीच खेल हुनेछ । मुम्बईले जित निकालेमा कोलकाता प्ले अफ पुग्ने छ । हैदराबादले जित निकालेमा कोलकाता प्ले अफबाट बाहिरिनेछ ।