देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देहरादूनमा पिटिएका मध्ये दुई विद्यार्थी भागेर स्वदेश

देशान्तर

टीकाको दुई/तीन दिनअघि १८ नेपाली विद्यार्थी दसैं मनाउन घर फिरे । त्यो देखेर अरूलाई पनि दसैंतिहारमा घर जाने रहर लाग्यो । त्यसपछि भारत उत्तराखण्डको देहरादूनस्थित शाक्य एकेडेमीमा अध्ययनरत ५३ विद्यार्थीले बिदा माग्दै सोमबार संयुक्त निवेदन दिए । एकैपटक ठूलो संख्यामा विद्यार्थीले बिदा माग्दा प्रिन्सिपल छिरिङ छोदेन, गुरुआमा धाग्मो सोनाम र गुरु ज्ञानबज्र रिम्पोछे रिसाए । सोनामले डिसेम्बरमा बिदा दिने भन्दै विद्यार्थीलाई सम्झाउन थालिन् । त्यसपछि विद्यार्थीले प्रिन्सिपल छोदेनसँग कुरा गरे । छलफल चलिरहेको थियो । छोदेनले सम्झाइरहेकी थिइन् । त्यतिकैमा रिम्पोछे लट्ठी बोकेर आए र एकाएक विद्यार्थीलाई कुट्न थाले । ‘गुरुले लट्ठी घुमाउन थालेपछि हाम्रो भागाभाग चल्यो, धेरै साथीलाई चोट लाग्यो,’ देहरादूनस्थित शाक्य एकेडेमीबाट भागेर बिहीबार कञ्चनपुरको गड्डाचौकी नाका आइपुगेका मकवानपुर मोरंगेका नवीन तामाङले भने ।

तामाङका अनुसार बिदा माग्नेमध्ये ४७ विद्यार्थीमाथि गुरुले कुटपिट गरेका हुन् । घर जान चाहेका ५३ जनामध्ये ६ जनाले निवेदन फिर्ता लिएको जानकारी प्रिन्सिपललाई गराएका थिए । धेरैलाई गुरुको लट्ठीले र कतिपयलाई भाग्दा चोट लागेको छ । ‘कसैका टाउकामा चोट छ, कसैको खुट्टामा,’ तामाङले भने, ‘ठूलो घाउचोट भने कसैलाई छैन ।’ उनका अनुसार कक्षा ७ मा अध्ययनरत काभ्रेका छ्याङ तामाङको टाउकामा अलि ठूलो घाउ छ । गुरु रिम्पोछेले हानेको लट्ठीले लागेर उनको निधारमा घाउ भएको छ । उनी अहिले एकेडेमीमै छन् ।
बिहीबारै गड्डाचौकी नाका आइपुगेका बाग्लुङको निशुखोला ५ का भूमिराज घर्तीमगरले एकेडेमीमा रहेका सबै विद्यार्थीको मोबाइल खोसेर घरपरिवारसँग पनि सम्पर्क गर्न नदिइएको बताए । घटनाको भोलिपल्ट गुरु र गुरुआमा दुवैले विद्यार्थीसँग माफी मागे पनि पहिले जसरी खुला भएर हिँड्न नदिइएको उनले सुनाए । ‘सबैलाई कडा निगरानीमा राखिएको छ,’ घर्तीमगरले भने, ‘घटनाबारे बाहिर नभन्न चेतावनी दिइएको छ ।’ उनका अनुसार गुरु र गुरुआमाले अन्जानमा गल्ती भयो भन्दै माफ मागेका थिए ।
घर्तीमगरका अनुसार सोमबार दिउँसो गुरु र गुरुआमा दुवैले विद्यार्थीसँगै खाना खाने योजना थियो तर एकैपटक ठूलो संख्यामा विद्यार्थीले बिदा मागेपछि उनीहरू आक्रोशमा आएका थिए । गुरु रिम्पोछे र गुरुआमा सोनाम श्रीमान् श्रीमती हुन् । सोनामकी आमा बिरामी भएर अस्पतालमा भर्ना छिन् । दुवै जना केही दिनदेखि त्यसकै तनावमा थिए । ‘आमा बिरामी भएको रिस हामीमाथि पोखियो,’ घर्तीमगरले भने । उत्तराखण्डको राजधानी देहरादूनको भवनपुरस्थित शाक्य एकेडेमी बुद्ध धर्मसम्बन्धी पढाइ हुने विद्यालय हो । नेपालका विभिन्न क्षेत्रबाट विद्यार्थी छनोट गरेर एकेडेमीमा लाने गरिएको छ । त्यहाँ १ सय ८० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । ४०/५० जना जति भारतीय विद्यार्थी छन् । कान्तिपुर दैनिकमा खबर छ ।