देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर्मचारीको समायोजन चलाउने तयारी

देशान्तर

संघ, प्रदेश र स्थानीय तहमा समायोजन भइसकेका कर्मचारीले चाहेमा आफ्नो समायोजन संशोधन गराउन पाउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यसका लागि अनलाइन निवेदन माग गर्ने तयारी गरेको छ ।

सरकारले समायोजन संशोधन गर्न सकिने नीतिगत निर्णय लिएपछि कर्मचारी चलाउन पाउने अधिकार मन्त्रालयले पाएको छ । समायोजन भइसकेका कर्मचारीलाई पुनः संघ सरकारले चलाउन पाउने विषय संविधान र संघीयताको मर्मविपरीत रहेको भन्दै विरोध चुलिएपछि केही समय उक्त निर्णयलाई कार्यान्वयनमा लगिएको थिएन ।

गत भदौ २ गतेको मन्त्रिपरिषद् बैठकबाटै गरिएको समायोजन संशोधन गर्न सकिने विषयको नीतिगत निर्णय मन्त्रालयमा दुई महिनापछि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त भएको छ । प्रदेश २ सरकारले कर्मचारी समायोजन चलाउन पाउने केन्द्र सरकारको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिसकेको छ । तर सर्वोच्चबाट कुनै प्रकारको आदेश नआउँदै मन्त्रालयले संशोधनको सुरसार गरेको हो । संशोधनका लागि कर्मचारीबाटै मन्त्रालयमाथि दबाब छ ।

सरकारले गरेको नीतिगत निर्णयअनुसार एउटा प्रदेशमा समायोजन भएका कर्मचारी अर्को प्रदेशमा वा एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा समायोजन संशोधन भएर जान पाउनेछन् । मन्त्रालयकै प्रस्तावमा दुई महिनाअगाडि मन्त्रिपरिषद् बैठकले उक्त निर्णय लिएको थियो । ‘दुई महिना अगाडिको निर्णय दसैं बिदा प्रारम्भ हुनु अघिल्लो दिन मात्रै मन्त्रालयमा प्राप्त भएको हो,’ मन्त्रालय स्रोतले भन्यो, ‘बाहिर विरोध भएपछि निर्णय नै आउँदैन कि जस्तो भएको थियो । तर आइपुगेछ ।’

समायोजन संशोधनको माग गर्दै मन्त्रालयमा चार सयभन्दा बढी कर्मचारीले निवेदन दिएका छन् । पुनः निवेदन आह्वान गर्ने तयारी छ । अनलाइनबाट मात्रै निवेदन संकलन गर्ने गरी काम भइरहेको छ । कर्मचारी समायोजन टुंगिएको डेढ वर्षपछि प्रदेश र स्थानीय तहका कर्मचारीलाई चलाउन पाउने गरी मन्त्रालयले मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गराएको हो ।

प्रदेशमा समायोजन भएर गएका कर्मचारीलाई एकबाट अर्को प्रदेशमा तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई जुनसुकै स्थानीय तहमा समायोजन संशोधन गर्न सकिने नीतिगत निर्णय लिइएको छ । तर त्यसका लागि पठाउने र लिने प्रदेश वा स्थानीय तहको सहमति चाहिने भनिएको छ । संशोधनको अधिकार संघीय मामिला मन्त्रालयसँग रहनेछ ।

समायोजन भएर प्रदेश र स्थानीय तहमा गइसकेका कर्मचारीलाई चलाउन पाउने कानुनी अधिकार संघ सरकारसँग छैन । कर्मचारी समायोजन ऐन २०७५ अनुसार संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी सम्बन्धित निकायकै कर्मचारी मानिएका छन् ।

सोही ऐनले प्रदेशमा समायोजन भएर गएका कर्मचारीको सरुवाको प्रदेशभित्र प्रदेश कानुनअनुसार गर्न सकिने भनेको छ । संविधानको धारा २२७ ले गाउँपालिकाको कर्मचारी र कार्यालयसम्बन्धी व्यवस्था प्रदेश कानुनबमोजिम हुने भनेको छ । तिनै विषय उल्लेख गर्दै प्रदेश २ का मुख्यमन्त्री
लालबाबु राउतले सरकारको नीतिगत निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।